खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिका– ३ स्थित रहेको सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले उद्घाटन गरेका थिए । सो अवसरमा उनले सहकारीलाई नियमन गर्न पालिका सरकार प्रतिबद्ध रहेको बताए ।
उनले साना सहकारीहरूलाई मर्ज गर्न अपिल गर्दै सहकारी संस्थाहरूलाई अगाडि बढाउन पालिका सरकारबाट सहकार्य गरिने दाबी गरे । साना साना लगानीबाट ठूलो उद्यम गर्ने कार्यक्रम बनाउन आह्वान गर्दै अध्यक्ष विकले राम्रोसँग चल्न नसकेका सहकारी मर्ज गरेर व्यवस्थापन सुधार गर्न सुझाव दिए ।
सो अवसरमा ७५ वर्ष उमेर पूरा भएका जेष्ठ शेयर सदस्यहरूलाई नगदसहित सम्मान गरिएको थियो । सहकारीका असल ऋणी, असल बचतकर्ता र स्थायी निक्षपकर्तालाई पनि सम्मान गरिएको थियो ।
२०२३ सालमा साझा संस्थाका नामबाट स्थापना भएको खजुरा सहकारी संस्थाको ३१औँ साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार गत आवमा १४ लाख बढी खुद मुनाफा गरेको उल्लेख गरिएको छ । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निर्मल खनालले आव २०८०/०८१ मा संस्थाले गरेको ७ करोड ३८ लाखको कारोबारबाट १४ लाख बढी खुद नाफा गर्न सफल भएको बताए ।
साधारण सभाले संस्थाको सञ्चालक समिति र लेखा समितिको निर्वाचनको लागि निर्वाचन समिति गठन गरेको थियो । संस्थाको निर्वाचन साधारण सभाले तोकेको समितिले नै कार्य तालिका प्रकाशन गरी सम्पन्न गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्