बैजनाथले बनायो आफ्नै पालिका गान र लोगो



बाँकेका एक उपमहानगर, एक नगरसहित ६ गाउँपालिकामध्ये आफ्नै पालिका गान र लोगो प्रयोगमा ल्याउने बैजनाथ पहिलो गाउँपालिका हो । अब बैजनाथका हरेक कार्यक्रम, सभा, समारोह, विद्यालयजस्ता सार्वजनिक स्थलमा राष्ट्रिय गानपछि पालिका गान गाइनेछ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको बैजनाथ गाउँपालिकाले पहिलोपटक पालिका गान र लोगो प्रचलनमा ल्याएको छ । सोमबार यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक बनावट समावेश गरिएको पालिका गान र लोगो सार्वजनिक गरिएको हो । गत साउन ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिका गान र लोगो बनाउने निर्णय गरेको थियो । पालिकाको निर्णयलगत्तै पालिका गान र लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो ।

गाउँपालिकाले गरेको आह्वानमा पालिका गानका लागि ९ जना र लोगोका लागि चार जनाले प्रस्ताव पेस गरेका थिए । तीमध्येबाट सबैभन्दा उत्कृष्ट गान र लोगो छनोट गरिएको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । पालिका गानका लागि आएका ९ वटा प्रस्तावमध्ये गाउँपालिकाले आचार्य दामोदर उपाध्यायद्वारा लिखित पालिका गान छनोट गरेको थियो ।

बैजनाथ गाउँपालिकामा अध्यापनरत उपाध्याय कोहलपुुर निवासी हुन् । यस्तै, पालिकाको लोगोका लागि प्रस्ताव गरिएकामध्ये महेश अधिकारीद्वारा निर्मित लोगो छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले मिसन टुडेलाई जानकारी दिए । अधिकारी बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ निवासी हुन् । अधिकारी, हाल बैजनाथमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

पालिका गान र लोगो सोमबार बसेको गाउँपालिका बैठकले स्वीकृत गरेको थियो । लगत्तै बसेको गाउँपालिकाको नियमित ‐हिउँदे) गाउँ सभा १७औँ अधिवेशनमा औपचारिक रूपमा सार्वजनिक गरिएको हो । पालिका गानमा गायक प्रताप दास र सपना शाहीले स्वर दिएका छन् । यसमा आचार्य दामोदर उपाध्यायका शब्द र लय विनोद विश्वकर्माको रहेको छ ।

यससँगै अब बैजनाथ गाउँपालिकाभरि पालिका गान लागू गरिनेछ । बाँकेका जिल्लाका आठ स्थानीय तहमध्ये बैजनाथ गाउँपालिका पालिका गान र लोगो प्रचलनमा ल्याउने पहिलो पालिका बनेको छ ।

लिका गान र लोगोले बैजनाथको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक बनावटको पहिचान झल्किने गरी छनोट गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुुर शाहीले बताए । पालिका गान र लोगोका लागि खुला प्रतिस्पर्धात्मक विधि अवलम्बन गरिएको उनले जानकारी दिए । उनका अनुसार लोगो डिजाइनकर्ता र पालिका गान रचनाकारलाई १७औँ अधिवेशनमा सम्मान गरिएको थियो ।

उनले भने, ‘अहिले प्रयोग हुँदै आएको पालिकाको लेटरहेडमा नेपाल सरकारको लोगो मात्र छ, अब एकातिर नेपाल सरकार र अर्कोतिर स्थानीय सरकारको लोगो रहनेछ ।’ पालिका गान बनेपछि हरेक कार्यक्रम, सभा, समारोह, विद्यालयजस्ता सार्वजनिक स्थलमा राष्ट्रिय गानपछि पालिका गान गाइनेछ ।

पालिका गान र लोगोमा गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किन्छ । गाउँपालिकाले १७औँ अधिवेशनमा अवसरमा पालिका गानका रचनाकार आचार्य दामोदर उपाध्याय, पालिका गानकी गायिका सपना शाही र लोगो डिजाइनकर्ता महेश अधिकारीलाई प्रमाणपत्र दोसल्ला र नगदसहित सम्मान गरेको थियो ।

यस्तो छ बैजनाथको पालिका गान
सुुगन्ध भई फैलिएको पेडारीको माटो
देखाउनलाई हामीलाई उन्नतिको बाटो ।

मानखोला हो मेरुदण्ड चिसापानी शिर
अति राम्रो नौबस्ता र गाभर भ्यालीतिर ।

थरीथरी जाति, धर्म एकतामा फुुल्छन्
हाँसी खुसी रमाउन पर्यटक डुल्छन् ।

समृद्धिले सजाएर झुुकाउँछौँ माथ
हाम्रो प्यारो गाउँपालिका जय बैजनाथ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार