श्यामलाल पोखरेल । बुटवल ।
देश विकासको आधार पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि तिनै तहका सरकार र सरोकारवाला निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । रूपन्देहीको बुटवलमा भएको पर्यटन गोष्ठीमा बोल्ने वक्ताहरूले पर्यटन र पर्यटकको सम्भावित क्षेत्र बुटवल भएकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्न सकिने बताएका थिए ।
उनीहरूले लुम्बिनीसँग जोडिएको बुटवल क्षेत्रमा रामापिथेकश र जीतगढी किल्ला लगायत अन्य थुप्रै पर्यटकीय स्थलहरू भएकाले पर्यटकका लागि पर्यटन क्षेत्र रहेको बताएका हुन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले बुटवलमा आयोजना गरेको खाना महोत्सव तथा माघी मेलाको अवसरमा आयोजित पर्यटन गोष्ठीमा बोल्नेहरूले पर्यटन क्षेत्रको विकास लागि दिर्घकालिन योजना बनाउन आवश्यक रहेको सुझाव समेत दिए ।
बुटवलमा भारतीय पर्यटक ल्याउन सकिने भएकाले बुटवलदेखि भारतको दिल्लीसम्म पर्यटकीय बस सेवा सञ्चालन गरेर भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पु¥याएर बुटवलमा बास बसाल्न सकिने भएकाले पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्न सकिने उनीहरूको धारणा रहेको थियो ।
आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले पर्यटन व्यवसायको अवसर, अवरोध र निकास विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि आ–आफ्ना धारण राख्दै पर्यटन तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले पर्यटनको विकासमा थोरै चुनौती धेरै अवसर भएको बताएका थिए ।
उनीहरूले बुटवल तथा समग्र रूपन्देही पर्यटनमा सम्भावना रहेको बताउँदै पछिल्लो समय अवरोधका रुपमा वित्तिय चुनौतीहरू रहेकाले यस विषयमा तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गरे । पर्यटन रुट तयार गर्ने, बेलहिया नाकालाई आगन्तुकमैत्री बनाउने, नुवाकोट सांस्कृतिक डबली र जितगढी किल्लामा विशेष प्याकेज स्थानीयसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको उनीहरूको भनाई छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पर्यटनको विकासबाट बुटवलको आर्थिक विकास हुन सक्ने बताउँदै पर्यटन व्यवसायका समस्याप्रति स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाइन् । परापूर्वकालको झल्को स्मरण गराउने गरी बुटवललाई पर्यटकीयस्थल बनाउन सकिने बताउँदै उनले जीतगढी किल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र तिलोत्तमा नदी किनारमा आरती केन्द्र बनाउने योजना रहेको सुनाइन् ।
पर्यटन विकास परिषद् लुम्बिनीका निर्देशक रामु जोशीले लुम्बिनी पर्यटनको लागि प्राकृतिक रूपमा नै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै बुटवल र समग्र रूपन्देहीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै युवराज कंडेलले नीजि क्षेत्र र सरकारबाट एकीकृत विकासको प्रष्ट योजना नहुँदा पर्यटन क्षेत्रको विकासले सोचेजस्तो गति लिन नसकेको तर्क गरे ।
बुटवलसँगै समग्र रूपन्देही ऐतिहासिक रूपले पर्यटनको सम्भावित क्षेत्र रहेको उल्लेख गर्दै पर्यटन क्षेको सवल विकासका लागि मिडियाको तर्फबाट प्रचारप्रसार आवश्यक रहेको सुझाव दिए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देही अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसायीका समस्या र पर्यटन क्षेत्रको विकासमा संघ संस्थागत रूपमा लागि परेको बताए ।
पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डेले बुटवलको पर्यटनले ठूलो महत्व राख्न भएकाले सुस्ताएको बुटवललाई पर्यटनको माध्यमबाट चलायमान बनाउन सकिने बताएका थिए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्वअध्यक्ष माधव नेपाल, अध्यक्ष हिराध्वज शाह, लुम्बिनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकार समुन्द्र जीसी, कुलचन्द्र पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्