‘आँगन छोडेपछि’ मा समेटिएको आफ्नो कीर्ति ‘अमेरिका आगमन’ मा इञ्जिनियर प्रमोद अमात्यले अमेरिकी संस्कृतिप्रति छेडछाड गर्दै लेखेका छन्,– ‘मलाई मैले जागिर खाने जलस्रोत विभागले तिम्रो पत्नीको नाम के हो भनेर तीन-तीन वर्षमा रिपोर्ट मागिरहँदा कहिलेकाँही रिस उठ्छ र भन्ने गर्छु –‘बाजा बजाएर, आफन्तहरूलाई साक्षी राखेर एकजूनीलाई मात्र नभइ सात जुनीलाई भनेर ल्याएको पत्नीको नाम तीन-तीन वर्षमा किन अपडेट गर्नु पर्ने ?
जीतबहादुर शाह
जन्म थलो रूकुम भएर हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका इञ्जिनियर डा. केशव शर्माले सप्रेम उपहार भनेर पठाइदिएको पुस्तक ‘आँगन छोडेपछि’ हात परेदेखि नै पढ्न मन लागिरहेको थियो । समय भने मिलिरहेको थिएन । अहिले भने समय नमिले पनि समय मिलाएर पढे । पढिसकेपछि केही नलेखेर त्यत्तिकै बस्न दिएन मलाई मेरै मनले । त्यसकारण पनि लेख्न बसेको छुँ ।
यो कुनै साहित्यिक समीक्षा र समालोचना पनि होइन । पुस्तक पढ्दै गर्दा नेपालीहरू आफ्नै देशमा बस्ने रहर हुँदाहुँदै पनि किन बिदेसिन्छन् भन्ने केही दृष्टान्तहरूले मन भक्कानियो । यसकारण पनि मनभित्रै गुम्स्याएर मुटु रोगी हुनु भन्दा सबैलाई भनिदिँदा मन हल्का भइ निरोगी हुने सोचका साथ लेख्दैछु । यसको अध्ययनबाट पाठकलाई पनि केही फाइदा भइहाल्यो भने यसलाई मैले सुनमा सुगन्ध भएको अनुभूत गर्नेछु ।
आफ्नो थात्थलो अर्थात् आफू जन्मेको मुलुक छोडेर बाहिरिएका नागरिकहरूलाई आप्रवासी भन्छौँ हामी । तिनीहरूलाई अंग्रेजीमा डायस्पोरा भन्ने गरिन्छ । उनीहरूको तन विदेश भएपनि मन आफ्नै देशतिर घुमिरहेको हुन्छ । ‘आँगन छोेडेपछि’ कीर्ति त्यस्तै डायस्पोराहरूले सिर्जना गरेको साहित्य हो । अर्थात डायस्पोरिक साहित्य भने मैले । आप्रवासी नेपाली इञ्जिनियरहरूको संघर्ष र सपनाको कथा भनेर पनि लेखिएको छ पुस्तकको अग्रभागमा ।
जम्मा १९० पेजको संस्मरण सङ्ग्रह भनिएको यस पुस्तकमा सत्र वटा इञ्जिनियरहरूले सत्र थान संस्मरणहरू प्रकाशन गरेका छन् । वि.सं. २०७८ पुसमा प्रकाशित यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ भने सम्पादकको भूमिका कृष्ण कुशुम र केशवराज ज्ञवालीले निर्वाह गरेका छन् जो आफैँ पनि आप्रवासी इञ्जिनियरहरू हुन् र जो आफैँले पनि यस किर्तिमा आफ्ना संस्मरणहरू प्रकाशन गरेका छन् ।
इञ्जिनियर डा.केशव शर्मासँग मेरो भौतिक किसिमबाट परिचय भइनसक्दै मलाई अष्ट्रेलियाबाट ‘आँगन छोडेपछि’ पुस्तकको एक प्रति मैले पाउने गरी पठाइदिनु भएको थियो । उनले मेरै नाममा त्यत्ति टाढाबाट मलाई उक्त पुस्तक पठाइदिएपछि मैले पनि न्याय गर्नुपर्छ भनेर उनकै संस्मरण सुरुमा पढे । पढेपछि भने राम्रोसँग चिने केशव शर्मालाई ।
नेपालमा बस्ने रहर भएर पटकपटक विदेशमा अध्ययनका लागि गएर पनि नेपालमा फर्केको, आफ्नो कक्षामा कहिल्यै सेकेण्ड हुन नजानेको व्यक्तिलाई नेपालमा आएर जागिरका लागि भौतारिदँै हिड्नु परेको र स्थायी हुँदा पनि सिभिल इञ्जिनियरिङको निर्माणतर्फ अध्ययन गरेर खानेपानीतिर स्थायी हुनु परेको पिडा रहेछ उनीसँग ।
त्यत्तिले पनि नपुगेर बढुवामा कनिष्ठ बनाउनका लागि अध्ययन बिदामध्येको एक वर्षलाई बेतलवी बनाइदिएको पिडा बज्रिएपछि भने उनलाई नेपाल बस्न रूची हुँदैन र स्थायी जागिर छोडेर उनी केही वर्ष हङ्कङमा काम गर्छन र तत्पश्चात् अहिले अष्ट्रेलियाको नागरिक भएर अष्ट्रेलियामै बसोबास गर्दै आइरहेका छन् ।
इञ्जिनियर गोबिन्द गौतमले पनि आँगन छोडेपछि कीर्तिमा ‘सपनाका पर्खालहरू’ शीर्षक दिएर आफ्नो संस्मरणमा केशव शर्माकै जस्तो देश छोड्नुको पीडा समेटेका छन् । उनी छात्रवृत्तिमा इञ्जिनियरिङ अध्ययन गर्न सोभियत संघ अर्थात रूसमा जान्छन् र नेपाल फर्केपछि जागिर खोज्नका लागि मुख्य सचिवसम्म पुग्छन् । मुख्य सचिवले समेत ‘लागे हुन्छ विदेशतिर, जागिर पाइँदैन नेपालमा’ जस्ता कुरा गरेपछि भने उनी निराश हुन्छन् आफ्नै माटोप्रति र पुनः थप अध्ययनका लागि फर्किन्छन् रूसतिरै ।
हाइड्रोपावर इञ्जिनियरले नेपालमा काम नपाएपछि अहिले उनी रूसमा इलेक्ट्रोनिक व्यवसायी भएर जीवन बिताइरहेका छन् । इञ्जिनियर ऋषिराम पराजुलीको पिडा पनि त्यस्तै छ । जापानबाट इञ्जिनियरिङ अध्ययन पूरा गरी नेपालमा फर्किएर दुई वर्ष हल्लिदा पनि जागिर नपाएपछि उनी बेलायततिर बरालिएको कुरा उनको संस्मरण ‘विदेश यात्रा’ मा लेखेका छन् ।
इञ्जिनियर सन्तोष न्यौपानेले लेखेको ‘जुम्लादेखि भर्जिनियासम्म’ मा नेपालमा भ्रष्टाचारमा तलदेखि माथिसम्म जो पनि चुर्लुम्म भएको कुरा उल्लेख गरेका छन् । विद्यालय भवन निर्माणको निरीक्षण गर्न जाँदा प्रअले ‘सर हजूरको त जुत्ता च्यात्तिएको रहेछ’ भनेर घुस खुवाउन खोजेको, दुर्गममा राम्रो काम गरेर शिक्षा विभागमा जाँदा विभागको सिनियर इञ्जिनियरले ‘स्टिल ट्रस प्रयोग नगरेर किन काठको ट्रस राखेको’ भनेर उल्टै हप्काएको जस्ता दृष्टान्त दिएर नेपालमा हुने भ्रष्टाचारलाई उदाङ्गो बनाएका छन् ।
केही काम गर्न खोज्दा आफू एक्लो परिने परिवेशबाट आत्तिएर बाध्यताबस विदेशिएको कुरा उनको संस्मरणमा भेटिन्छ । परिवेश यस्तै भएर होला, पुल्चोक क्याम्पसमा स्थायी रूपमा प्राध्यापन गरिरहेका इञ्जिनियर विजयराज भट्टराई डिभी परेपछि अमेरिकातिर हानिन्छन् । ‘आँगन छोडेपछि’ मा उनको संस्मरण ‘फ्ल्यासब्याक’ छ । उक्त संस्मरणमा अमेरिका गएपछि उनले पाएको दुःख पढ्दा भने कहाली लाग्छ ।
उनी अमेरिका पुगेकोे केही महिनामै कार दुर्घटनामा पर्छन् । कार क्षतविक्षत हुन्छ, आफू बल्लतल्ल बाँच्छन् । महिनौँ ओछ्यानमा थला पर्छन् । अस्पतालको बील २३ हजार डलर पुग्छ । यत्तिले पनि नपुगेर उनी अलि तङ्ग्रिएपछि पुनः कार दुर्घटनामा पर्छन् । दोस्रोपटक आफूलाई त्यत्ति चोटपटक नलागे पनि कार भने नराम्ररी बिग्रन्छ । यसले गर्दा उनको आर्थिक अवस्था भने जर्जर हुन्छ ।
चिनेजानेका र सहयोग गर्ने जति सबैबाट सहयोग लिँदा पनि उनको आर्थिक अवस्था सुध्रिदैन । पछि उनलाई कतैबाट अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्ने संघसंस्थाहरू पनि हुन्छन् भन्ने बोध भएपछि अस्पतालमै भएको एउटा च्यारिटी संस्थासँग उनको सम्पर्क हुन्छ र उसैलाई सबैकुरा बताएपछि अस्पतालको बीलमध्ये २० हजार डलरको बील उसैले तिरिदिन्छ । त्यसले उनलाई केही राहत हुन्छ । त्यसपछि भने उनी काममा जान्छन् । उनको म्याडम सविता पनि काममा लाग्छिन् । म्याडम र उनले काम गर्ने फरक–फरक ठाउँमा हुन्छ । दूरी पनि धेरै टाढा । हप्तादिनमा मात्रै भेट हुन्छ ।
यस्तैमा इञ्जिनियर भट्टराईले आफ्नो विश्वविद्यालयमा अध्ययन गर्न थाल्छन् । उनको अध्ययनको रुटिन र छोराको अध्ययनको रुटिन नमिल्दा उनलाई समस्या हुन्छ । कतिपटक त उनले ५-६ वर्षको छोरालाई आफू पढ्ने कक्षाको पछिल्तिर बसाल्छन् र इयरफोन कानमा लगाइदिएर ल्यापटप हातमा थमाइदिन्छन् । यो कार्यमा प्राध्यापकले अब्जेक्सन गरेपछि भने उनले कक्षाकोठा बाहिरै छोरालाई भिडियो ग्याम खेल्न दिएर आफू कक्षामा जाने गर्दछन् । त्यस्तैमा कसैले वेवारिसे र अभिभावकको माया नपाएको बच्चा भेटियो भनेर प्रहरीलाई रिपोर्ट गरिदिन्छ ।
प्रहरी आएर उनलाई भेट्छ र भन्छ, – ‘तपाईले यसरी बच्चालाई हेलचेक्र्याईँ गरेर एक्लै छोड्नु गैरकानूनी कार्य हो । तपाईको बच्चा अबदेखि अठार वर्ष पुग्दासम्म हामीसँग हुन्छ ।’ त्यत्तिबेला उनलाई साँच्चिकै पिडाबोध हुन्छ र प्रहरीसँग अब यस्तो कहिल्यै गर्ने छैन भनी कागज गर्छन् र बच्चालाई आफूसँग राख्न सफल हुन्छन् ।
इञ्जिनियर केशवराज ज्ञवाली पनि अमेरिकामा गएर काम गर्ने क्रममा लडेर दुर्घटनामा पर्दा आफूले महसुस गरेका पिडा लगायतका कुराहरू यसै कीर्तिको ‘दोबाटो’मा लेखेका छन् । अमेरिका बसेको पन्ध्र वर्ष भइसक्दा पनि ‘म यही बस्ने हो वा नेपाल जाने हो ? मैले ठीक गरे वा बेठीक गरे ?’ आदि कुरामा अहिले पनि अल्झिरहेका छन् ।
‘आँगन छोडेपछि’ मा समेटिएको आफ्नो कीर्ति ‘अमेरिका आगमन’ मा इञ्जिनियर प्रमोद अमात्यले अमेरिकी संस्कृतिप्रति छेडछाड गर्दै लेखेका छन्,– ‘मलाई मैले जागिर खाने जलस्रोत विभागले तिम्रो पत्नीको नाम के हो भनेर तीन÷तीन वर्षमा रिपोर्ट मागिरहँदा कहिलेकाँही रिस उठ्छ र भन्ने गर्छु –‘बाजा बजाएर, आफन्तहरूलाई साक्षी राखेर एकजूनीलाई मात्र नभइ सात जुनीलाई भनेर ल्याएको पत्नीको नाम तीन-तीन वर्षमा किन अपडेट गर्नु पर्ने ?’ यसको मतलब स्पष्ट छ कि अमेरिकातिर एउटा व्यक्तिको जीवनमा पुनःविवाह र सम्बन्ध विच्छेद निरन्तर दोहोरिरहने भएको कारण उनीहरू तीन÷तीन वर्षमा यसलाई अपडेट गर्ने गर्दछन् ।
‘आँगन छोेडेपछि’ कि एकमात्र महिला स्रष्टा इञ्जिनियर शर्मिला अधिकारीले आफ्नो ‘क्यानडामा एक दशक’ संस्मरणमा आफूले विदेशमै सानो नेपाल स्थापना गरेको कुरा लेख्दै विदेशमै सासु, ससुरा, देवर–देवरानी, नानीहरू समेत गरेर आठजना सँगै भएको कुरा लेखेकी छन् । सुरुमा अङ्ग्रेजी भाषा सिक्नका लागि भाषा स्कूलमा जाँदा विभिन्न देशका मानिसहरूसँग घुलमिल हुन्छ उनको ।
आखिर जुन देशको भए पनि मान्छे भनेको मान्छेकै निम्ति हुँदोरहेछ भन्ने भावना पलाउछ उनीमा र लेखेकी छन् –‘कहिले अङ्ग्रेजी, कहिले हिन्दी त कहिले नेपाली शब्दहरू मिसाउँदै एउटै भाषामा कुरा गथ्र्यौं हामी– मनको भाषा । जहाँ अक्षर शुद्ध भएन कि भन्ने भय पनि हुँदैन, बोल्दा वाक्य बिग्रेला कि भन्ने चिन्ता पनि हुदैन ।’
यस्तै यस्तै भावनाहरू साहित्यकार इञ्जिनियरहरू सुशील ताम्राकार, डा. मधु माधुर्य, मनोज कार्की, कृष्ण कुशुम, राजन महर्जन र सतिश त्रिपाठीका पनि रहेका छन् । कुशुम ज्ञवालीले सुरुमा क्यानडामा आउदा आफू इञ्जिनियर भएर पनि सुरुमा होटेलमा भाडा माझेको र तीन महिनाको नानीसहित परिवारलाई साथमा लिएर कारमा पैतीस सय किलोमिटरको चार दिनको यात्रा गरेको घटना पढ्दै गर्दा पनि मन त्यसै त्यसै कहालिन्छ ।
सबै लेखकहरूले एउटै कुरा उल्लेख गरेका छन् कि उनीहरू विदेशमा बिरामी हुँदा किन यो दुःखद खबर सुनाएर दुःखी बनाउने, भेट्न आउन पनि सम्भव छैन भनेर नेपालका आफन्तहरूलाई सञ्चो भएपछि मात्रै बिरामी भएको खबर सुनाउने गर्दछन् । नेपालमा इञ्जिनियरिङ पेशा घुस र भ्रष्टाचारसँग जोडिएको पेशा भएकोमा दुःख व्यक्त गर्दै विदेशमा त्यसो नहुने कुरा अभिव्यक्त गरेका छन् । नेपालमा प्रतिभा र क्षमता भएर पनि जागिर नपाउने बरु चाकरीको भरमा झाङ्गिएकाहरूले बढुवामा, लोकसेवा आयोगले गर्ने सीट निर्धारणमा र विज्ञापन अघिपछि सार्ने सम्बन्धमा समेत हालिमुहाली गरेर क्षमतावानलाई हैरानी दिएको लेखेका छन् ।
ऋषिराम पराजुलीले नेपालका प्राध्यापकहरूको बस्ने कुर्चीसम्म पनि नभएको अवस्थामा जापानमा हरेक प्राध्यापकहरूको विश्वविद्यालयमै अनुसन्धानमा आधारित ल्याब भएको र विद्यार्थीहरूले परिचयको क्रममा आफ्नो नाम र ल्याब समेत भन्नु पर्ने प्रावधानले यो पङ्क्तिकारलाई पनि मज्जैसँग लोभ्यायो । उच्च शिक्षा दिने हाम्रा विश्वविद्यालयहरूमा त्यस्तो व्यवस्था कहिले हुनेहोला भन्ने जिज्ञासा र परिकल्पनाले आफैँलाई घोतिरह्यो र घोचिरहेको छ ।
म स्वयम् पनि एसएलसी पास गरेपछि पुल्चोक इन्जिनियरिङ कलेजमा पहिलो लिष्टमै नाम निस्केर आर्थिक अभावका कारण पढ्न नगएको मान्छे हुँ । जागिरको धेरै कालखण्डसम्म इञ्जियिनरहरूप्रति छुट्टै सम्मानभाव पनि थियो मभित्र । पछि इञ्जिनियरहरूसँग सँगै काम गर्दा भने उनीहरूप्रति मभित्र भएको सम्मानको त्यो उचाइ जस्ताको तस्तै रहन सकेन । ‘आँगन छोडेपछि’ मा लेखिएका आलेखहरूमा जस्तै हाम्रो इञ्जिनियरिङ पेशा पनि हाम्रो मुलुकमा जति पवित्र र देश निर्माणमा समर्पित हुनु पथ्र्यो त्यत्ति नभएकै हो कि झै सर्वत्र महसुस गरिएको छ ।
‘आँगन छोडेपछि’ का लेखहरूले नेपालमा समाज र सरकारका हर क्षेत्रमा दलालहरूको हालीमुहाली भएको भोगाइ उल्लेख गर्दै विदेशतिर विश्वविद्यालयहरूमा करियर सेन्टरको व्यवस्था भएको र त्यस्ता सेन्टरहरूले अध्ययन र जागिरको सिलसिलामा उचित सल्लाह दिने गरेको कुरा हामीले पनि सिक्नुपर्ने हो झै लाग्यो ।
संस्मरणहरूमा नियम होइन कि नियत ठीक नभएको कारण हामी र हाम्रो मुलुक क्रमशः टाटपल्टिने दिशातिर लागेको छ भन्ने भावका डायस्पोरिक विचारहरूले ह्याकुलाको पत्रपत्रमा छोएको अनुभूति भयो । ‘आँगन छोडेपछि’ पढेपछि प्रतिभावानहरूलाई विदेशतिर लेखेटेर उनीहरूले पठाएको रेमिट्यान्समा वरिपरि धुपौरेर माझमा आफू बसी मस्ती गर्ने नेपालका हिजोदेखि आजसम्मका शासकहरूको सोचहरूप्रति अझ बढी घृणा जागेर आयो । बाँकी जो हजूरको मर्जी ।
प्रतिक्रिया दिनुहोस्