घरबारविहीन मुक्त कमैयाको परिवार



सरकारले वि.स.२०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि हरिलालको परिवार छाप्रोमा बस्दै आएको थियो । देवहरियामा उनले मजदुरी गरेर सानो आवास बसेका थिए । जिन्दगीभर दुःखै दुःख झेलेका उनलाई स्थानीय सरकारले उठिबास नै गराइदिएको छ । धनगढी उपमहानगरले घर भत्काइदिएपछि चौधरीको परिवार घरबारविहीन भएको छ ।
शेरबहादुर ऐर । कैलाली ।

हजुरबाले जीवनभर अरूको घरमा कमैयाका रूपमा काम गरे । उनका बुवालेसमेत कमैया भएर जीवन कटाए । धनगढी उपमहानगरपालिका–७ देवहरियाका हरिलाल चौधरीले पनि उस्तै नियति भोग्नुप¥यो ।

उनले हजुरबाबा र बुवाको पुख्यौली पेसालाई अंगाले । सरकारले वि.स.२०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि हरिलालको परिवार छाप्रोमा बस्दै आएको थियो । देवहरियामा उनले मजदुरी गरेर सानो आवास बसेका थिए । जिन्दगीभर दुःखै दुःख झेलेका उनलाई स्थानीय सरकारले उठिबास नै गराइदिएको छ । धनगढी उपमहानगरले घर भत्काइदिएपछि चौधरीको परिवार घरबारविहीन भएको छ ।

डोजरले घर भत्काइदिएपछि उनको परिवारमा भूकम्प नै गएको छ । घरका संरचना क्षतविक्षत छन्, उनको मनपनि क्षतविक्षत भएको छ । परिवारको हालत हेर्दा उनलाई न दिनमा सुख छ । न त राती निन्द्रा नै । अहिलेपनि उनका घरका काठ सडक छेउमा राखिएका छन् । गोरू, डल्लप छिमेकीको घरमा राख्छन् । काठ दाउरा चोरी हुने डर उत्तिकै छ । छिमेकीलाई हारगुहार गरेर माटोको घर बनाएका छन्, जसोतसो बस्नको लागि । हरेक रात छानोमुनि बित्छ, चौधरी परिवारको ।

उमेरले पाँच दशक कटेका हरिलाल भन्छन्– ‘एक्कासी धनगढी उपमहानगरले घरमै डोजर लगायो । नागरिकको बैकल्पिक व्यवस्था नै नगरी यस्तो किन गरियो । न हामीलाई जग्गा जमिन उपलब्ध गराएको छ । न त बसोबासको व्यवस्था छ ।’ उनले आफूहरू तीन पुस्तादेखि नै यहीँ क्षेत्रमा बसोबास गर्दै आएको बताए । अहिले मजदुरी गरेर परिवार पालेका छौँ । सरकारले यस्तो किन गरेको हो भन्ने बुझ्नै नसकेको चौधरीको भनाइ छ ।

कमैया मुक्ति भएको २४ वर्ष पुग्नै लाग्दासमेत सरकारले आफूहरूको उचित व्यवस्थापन नगरेको उनले गुुनासो गरे । अहिले गाउँ नजिकैको सरकारले समेत खुला आकाशमा बस्न बाध्य बनाएको चौधरीको दुःखेसो छ । ‘वर्षाको समयपनि यहीँ छानोमा बितायौँ कठ्याङ्ग्रिदो चिसोमापनि यहीँ छानोमा बित्छ होला । स्थानीय सरकारले हामी जस्ता बेघरबारहरूको लागि आवास निर्माण गरिदिनुपर्छ,’ उनले मिसन टुडेसँग भने ।

हरिलालकी जेठी छोरी रिना चौधरी सामाजिक सञ्जालमा धनगढीका विषयमा खुब चर्चा गरेको सुुन्छिन् । उनका अनुसार मिडियाहरूमा धनगढीका एकतर्फी कुुरा मात्रै आएका छन् । तर यहाँका नागरिकका वास्तविक पीडाका विषयमा कसैलेपनि ध्यान दिएको छ । स्थानीय सरकारले समेत गरिब तथा सीमान्तकृतहरूलाई झन समस्यामा पार्ने काम गरेको रिनाको भनाइ छ ।

रिना भन्छिन्– ‘भाई बुहारी स्वास्थ्य केन्द्रको भवनमा बसोबास गरिरहेका छन् । बुवा यहाँ रहेका काठ दाउरा चोरी हुन नदिन रेखदेखका लागि राती खुला छानोमुनि सुत्छन् । बस्ने ठाउँ छैन कहाँ सुत्ने हो ? वर्षौदेखि झुपडी घर बनाएर बस्दै आएका थिए । तर, एक्कासी धनगढीले घर भत्कायो । बसोबासको व्यवस्थापन गरेन् ।’

धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने भन्दै २०८१ साल जेठमा तालको पुनःभरणका नाममा हरिलाल बस्दै आएको घर भत्काएको थियो । उनी भन्छन्– ‘धनगढीले ताल भनेर डोजर चलाएको जमिन कुनै समय ताल थिएन् । ताल अहिले खेती भएको जमिनमा थियो । इट्टाभट्टा बनाउन डाँडो खनिएपछि डाँडो तालका रूपमा परिणत भयो । त्यहीँ तालले अहिले पुस्तौ बस्दै आएको घर भत्कायो ।’

धनगढीले हरिलालसहित सो क्षेत्रका सातवटा घर भत्काएको थियो । उनीहरूलाई तीन महिनाको घरभाडा दिने र जग्गा उपलब्ध गराई बसोबासको व्यवस्था गरिने भनिएको थियो । ‘घर भत्काएको सात महिना बितिसकेको छ । धनगढीले न त जग्गा दिएको छ न त घर भाडा नै तिरेको छ ,’ उनी सुनाउँछिन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोती रानाले तत्कालीन समयमा सातवटा घर ताल पुनःभरण गर्ने भनेर सात वटा घर भत्काएको बताए । उनले भने– ‘अरू घरपरिवारहरू घर भाडामा बस्दै आएका छन् । मजदुरी गरेर घरभाडा तिरिरहेका छन् । धनगढीले तीन महिनाको घर भाडा दिने भनेको थियो । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीलाई भन्दा कुनै सुनुवाई भएको छैन । ’

उनले हरिलाल रानालाई बसोबासको व्यवस्थापन गर्न नसक्दा समस्या भोगिरहेको बताए । ‘हरिलाललाई त्यहाँबाट वडा नम्बर १५ मा एक जनाको जग्गामा बसोबासको व्यवस्थापन गर्ने तयारी गरेका थियौँ । तर, उहाँले देवहरियामै बसोबास गर्छु भन्नुभयो । सो वडामा जग्गा नहुनु र सुकुम्बासी आयोगले पनि समयमै जग्गा उपलब्ध नगराउनुले समस्या भइरहेको छ ।’ उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल पुनःभरण गर्ने भन्दै निर्माण कार्य अघि बढाएको छ । सो ताल क्षेत्रमा बसोबास गर्दै आएका घरहरू भत्काउँदै पुनःभरण कार्य जारी राखेको जनाएको छ ।

धनगढीमा प्राकृतिक तालको पुनःभरण, नाला अतिक्रमण हटाउन र सडक चौडाई गर्ने नाममा पुस्तौदेखि बसोबास गर्दै आएका घरधनीहरू घरबारविहीन बन्दै आएको धनगढीका जनप्रतिनिधिहरू बताउँछन् । उनीहरू भन्छन्– ‘उचित बसोबासको व्यवस्थापन नगरी घर नभत्काउन सुझाव दिँदा समेत धनगढीका नगरप्रमुख गोपाल हमालको आदेशमा नगर प्रहरीले घर भत्काइरहेको छ । जसका कारण हामी वडाका जनप्रतिनिधिहरूले गाली खानुपरिरहेको छ ।’

‘मान्छेहरूलाई नै सडकमा ल्याएर कस्तो विकास गर्न खोजेका हुन्, नगरप्रमुख हमालले ? भन्नेमा हामी अन्यौलतामा रहेका छौँ । पुस्तौदेखि बसोबास गर्दै आएका मानिसलाई जग्गा बिहीन बनाएर कसरी गरिबी निवारण हुने हो ? वैकल्पिक व्यवस्थापन नगराई आफूूखुुसी संरचना भत्काउँदा धनगढीबासीलाई समस्या भइरहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार