विभिन्न क्षेत्रमा लगाइएका रेलिङका कारण व्यवसायीहरू मारमा परेका हुन् । यस विषयमा धनगढीमा लामो समयदेखि व्यवसायी र उपमहानगरबीच विवाद हुदै आएको छ । उपमहानगरका विभिन्न क्षेत्रमा लगाइएका रेलिङ हटाउनुपर्ने व्यवसायीहरूको माग छ ।
शेरबहादुर ऐर । कैलाली ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा लगाइएका अव्यवस्थित रेलिङका कारण व्यवसायीहरू मारमा परेका छन् । उपमहानगरका विभिन्न क्षेत्रमा लगाइएका रेलिङका कारण व्यवसायीहरू मारमा परेका हुन् । यस विषयमा धनगढीमा लामो समयदेखि व्यवसायी र उपमहानगरबीच विवाद हुुँदै आएको छ ।
उपमहानगरका विभिन्न क्षेत्रमा लगाइएका रेलिङ हटाउनुुपर्ने व्यवसायीहरूको माग छ । उनीहरूको मागलाई उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको छ । उपमहानगरले वडा नम्बर २ स्थित धनगढी ट्राफिक चौराहा क्षेत्रमा साना व्यवसायीहरूलाई मार पर्ने गरी रेलिङ लगाएको छ । सोही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका बहुसंख्यक व्यवसायीले पसल अगाडि रेलिङ लाग्दा समस्या भोगिरहेको गुनासो गर्दै आएका छन् ।
शुक्रबार व्यवसायीहरूले रेलिङ हटाउन खोज्दा व्यवसायी र नगर प्रहरीबीच झडप नै भएको थियो । धनगढी–२ चौराहदेखि
सब्जीमण्डीसम्मका दक्षिणपट्टी व्यापारीको पसल अगाडि रेलिङ लगाइएको छ । स्थानीयले समेत रेलिङका कारण आफनै घर जान पनि दुई सय मिटर हिँडेर जानुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन् । लामो समयदेखिको समस्या समाधानबारे उपमहानगरपालिकाले अहिलेसम्म उचित निकास दिन सकेको छैन ।
एसियाली विकास बैंकको लगानीमा ट्राफिक चौराहादेखि कैलाली पुलसम्मको सडक निर्माणाधीन छ । कालोपत्रे सम्पन्न भएसँगै रेलिङ राख्नेलगायत अन्य कार्य भइरहेको छ । निर्माणाधीन सडकहरू बनिरहँदा सहजतासँगै जनताको माग अनुसार नबन्दा सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।
धनगढीको चौराहादेखि सब्जीमन्डीसम्मको मुख्य सडकका व्यापारी र घरधनीले सडकको छेउमा भएका रेलिङका कारण सास्ती भएपछि हटाउने कोसिस गरेका थिए । तर, नगर प्रहरीले रोकेपछि उनीहरू भन्दै थिए– ‘सत्तामा भएका व्यक्तिको पसलमा रेलिङ नराख्ने ! तर हामीले व्यापार व्यवसाय सहज रूपमा गर्न नपाउने ? हामीले लाखौँ घर भाडा तिर्दै आएका छौं । तर, व्यापार गर्न रेलिङले अवरोध गरिरहेको छ ।’
आस्था सुुज सेन्टरका सञ्चालक गणेशप्रसाद श्रेष्ठले भने– ‘हामीलाई उपयुक्त ठाउँबाट जाने बाटो चाहियो । अहिले एक किलोमिटरमा खोलिएको रेलिङले अप्ठ्यारो परिरहेको छ । फोहोर फाल्न जाँदासमेत गाह्रो भइरहेको छ ।’ श्रेष्ठ साडी सेन्टरका सञ्चालक तुल्सीमाया श्रेष्ठले हरेक किसिमको कर तिर्ने तर सेवा नदिने भन्दै आक्रोश व्यक्त गरिन् । ‘फोहोर फाल्न पनि समस्या भएको छ । हामीलाई थुन्ने काम भएको छ । हामीलाई आफनै घर जान पनि दुई सय मिटर पर पुगेर जानुपर्छ । सवारी साधन राख्ने पनि ठाउँ छैन,’ उनले गुनासो गरिन् ।
सडकमा लगाइएका रेलिङले व्यवसायमा असर गरेको उनको भनाइ छ । स्थानीय सरकारको उदासिनताका कारण व्यापारमा घाटा व्यहोरिएको उनीहरूको गुनासो छ । उनले सरकारले व्यापारमैत्री नीति, नियम बनाउन नसकेको बताइन् ।
यता, धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले एसियन विकास बैंकको लगानीमा परियोजनाले काम सम्पन्न नगरेको बताएका छन् । बैंकले उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण व्यवसायीहरूको गुनासो सम्बोधन गर्न नसकिएको उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्