सांस्कृतिक विधितापूर्वक मनाइयो माघे संक्रान्ति



नेपालगन्ज ।

माघे संक्रान्ति पर्व विभिन्न समुदायहरूले आ–आफ्नै शैली र परम्पराअनुसार मनाएका छन् । माघ १ गतेको पर्व वैदिक ज्योतिष शास्त्रको मान्यताबाट प्रेरित भएर मनाइने सांस्कृतिक पर्व हो । विशेषगरी हिन्दु धर्मावलम्वीहरूले मनाउने यो पर्व धार्मिक प्रसंगका कारणले भन्दा सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको पाइन्छ ।

यो मौसमअनुसारको पर्व मनाउने विधि र विभिन्न समुदायको आ–आफँै परम्पराअनुसार बनाइन्छ । वैदिक ज्योतिषशास्त्रले माघ १ गतेबाट सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको नजिक पुग्ने मान्यता राख्दछ । यस पर्वलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, माघी वा माघ पर्वका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाउने गरिन्छ । यो पर्व मनाउने परम्पराहरू जाडो मौसम र त्यस अनुकुलको आहारविहारमा आधारित छन् ।

पहाडी समुदायको घ्यू, तिल, चाकु र मिष्ठान्नको पर्व

नेपालको पहाडी समुदायले माघे संक्रान्तिलाई धार्मिक रूपले पवित्र महिना सुरु भएको मान्यताले प्रेरित भएर बनाउने गर्दछन् । साथै यस पर्वमा घ्यू, तिल, चाकु र मिष्ठान्न खाएर रमाउने परम्परा छ । पुसको अन्तिम दिन पकाएका यस्ता परिकारहरू माघ मा खाने प्रचलन छ । विशेषगरी घ्यू, तिल, चाकु र परम्परागत मिष्ठान्न परिकारहरू सेल पुरी लगायतका परिकार खाएर पहाडी समुदायले यो पर्व मनाएका छन् ।

यस्ता परिकारले शरीरलाई न्यानो प्रदान गर्दछन् । बिहान सबेरै नुहाई धुवाई गरेर रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने पनि गरिन्छ ।
नेपालका मगर जातिको पनि प्रमुख चाड हो, माघे संक्रान्ति । मगर समुदायले माघे संक्रान्तिमा चेलीबेटी र पितृहरूको पूजा गर्दछन् । चेलीबेटीलाई मिष्ठान्न परिकारसहितको उपहार र दक्षिणा दिने प्रचलन सबै पहाडी समुदायमा छ । कर्णाली र सुदुरपश्चिममा विवाहित चेलीबेटीहरूलाई उनीहरूको घरमै गएर उपहार पु¥याउने चलन छ ।मगर समुदायले जङ्गलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात पकाएर खाने प्रचलन छ ।

नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । मकर संक्रान्तिबाट मकर स्नान पनि सुरु भएको छ । जुन माघ महिनाभरि नै चल्छ । महाभारतमा भीष्म पितामहले माघे संक्रान्तिकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । नेपालमा दाङको रिहार, देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, बागमती किनार मकर स्नानका लागि प्रसिद्ध छन् ।

मधेशी समुदायको खिचडी खाने पर्व

माघे संक्रान्ति मनाउने शास्त्रिय मान्यता एकै भएपनि मधेशी समुदायले माघे संक्रान्तिमा खिचडी खाएर मनाउने गर्दछन् ।
जाडो मौसममा शरीरलाई न्यानो बनाउने परिकार खिचडी खाएर मनाउने यस पर्वलाई मधेशी समुदायले सामूहिक रूपमा खिचडी खाने कार्यक्रमआयोजना गर्ने गरेका छन् । विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाहरूले पनि खिचडी खाने कार्यक्रम आयोजना गरेर माघे संक्रान्ति पर्व मनाइएको छ ।

थारू समुदायको नयाँ वर्ष सुरु

थारू समुदायले पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने गर्छन् । माघको पहिलो दिन मासुका लागि बंगुर काट्ने र मिठा परिकारहरू तयार गर्ने गरिन्छ । यसदिन सामूहिक रूपमा बंगुर काटेर मासु खाने चलन छ । माघ १ गते बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठूलालाई ढोग्ने र सानालाई आशीर्वाद दिने सांस्कृतिक परम्परा छ ।

माघ २ गते भने गच्छेअनुसारको दान दक्षिणा र मिष्ठान्न चेलिबेटीहरूलाई पु¥याउन जाने चलन छ, जसलाई निसराउ भनिन्छ । माघ पर्वमा थारू समुदायले ढिक्री, माछा, मासु, घोङी, थारू आलुको अचार, खँरियाजस्ता परिकारहरू पकाएर खाने गर्दछन् ।

थारू संस्कृतिविद् तथा अध्येता शत्रुघन चौधरीका अनुसार माघ पर्व रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउने पर्व हो । पुस महिनाको अन्त्यतिरबाटै माघ पर्वको रौनक सुरु हुने गरेको छ । नाचगान गरी रातभर जाग्राम बस्ने, धुनी बालेर भजनकीर्तन गर्नेचलन छ । माघ महिनामा थारू समुदायले मघौटा, ढमार, ढुमरु गीत नाचगान गर्दैै रमाउने गर्दछन् ।

थारू समुदायको सबैभन्दा ठूलो चाड को माघ । थारू समुदायले माघ १ गतेबाट थारू संवत् सुरु भएको मानेर यस दिनलाई नयाँ वर्षको उत्सवका रूपमा मनाएका छन् ।

थारू सम्वत् २६४८ पुगेको थारू संस्कृतिका अध्येता र इतिहारकारहरूको मत छ । नयाँ वर्ष सुरु हुने मान्यताले थारू समुदायले माघ महिनाभरी बडघर चुन्ने (गाउँको अगुवा), भागबण्डाका कामहरू गर्ने र नयाँ योजनाहरू बनाउने गर्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार