बाँके ।
बाँकेको डुडुवा गाउँपालिकामा एसइईस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको थियो । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो ।
प्रतियोगितामा श्री माध्यमिक विद्यालय वनकट्टी दोस्रो, फ्लोरिक एकेडेमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएको छ, भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो ।
प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक गुणस्तर मापनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने भन्दै विद्यालय र विद्यार्थीको पढाईको क्षमता अनुसार आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने बताए ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको शैक्षिकस्तर वृद्धि तथा गुणस्तरिय शिक्षाका लागि प्रभावकारी अध्यापन गराउनुपर्नेमा जोड दिदैँ उनले विद्यार्थीहरूको ज्ञान वृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेको बताए । उनले एसइई पास पाएका विद्यार्थीहरूलाई स्वरोजगारीका लागि दक्ष बनाउन लोकसेवा तयारी कक्षा समेत पढाउन लागेको जानकारी दिए ।
प्रतियोगिताका विजयीहरूलाई गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, ३ नम्बरका वडा अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डे लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा पालिकास्तरिय ८ वटा विद्यालय सहभागिता रहेको शिक्षा शाखा प्रमुख संजयकुमार कर्णले जानकारी दिए । उनका अनुसार गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका प्रश्नहरू गरी सबैबाट १६÷ १६ वटा प्रश्न सोधिएको थियो ।
प्रतियोगितामा जनता मावि पिप्रहवा, पशुपति मावि नौरीगौढी, श्री माध्यमिक विद्यालय बनकट्टी, श्री माध्यमिक विद्यालय शाहपुर्वा, शहिद स्मारक कम्दी, ज्ञानदिप मावि डलैपुर, सरस्वती मावि भंघघोट्ना र फ्लोरिड एकेडमी छग्रहवा कम्दी गरी एक निजी र सात वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको स्रोतव्यक्ति राम एकवाल मण्डल जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्