गणेश रावत । कोहलपुर ।
कोहलपुर नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाभित्र प्लास्टिक माला बिक्रीवितरणमा रोक लगाएको थियो । तर, कोहलपुर बजारमा प्रतिबन्धित प्लास्टिकका माला खुल्लमखुला बिक्री गरेको पाइएको छ । तिहार नजिकिएसँगै बजारमा प्रतिबन्धित प्लास्टिकका मालाले कोहलपुर बजार सजिएको छ ।
कोहलपुर बजारका न्यूरोड, एनटिभी रोड, साझा चोक, गोलपार्कलगायत गल्ली–गल्लीसम्म प्लास्टिक मालाहरू व्यापारीहरूले निर्बाध रूपमा बिक्री गरिरहेका छन् । नगरपालिकाले यस्ता प्लास्टिक माला बिक्रीवितरण नगर्न र गरेको पाइएमा कानुनअनुसार काबाही गर्ने बताए पनि अहिले बजारमा जताततै खुल्लमखुला बिक्री भइरहेको पाइएको छ ।
बजारमा यसरी प्रतिबन्धित प्लास्टिक माला बिक्रीवितरण हँुदा पनि नगरपालिकाले अनुगमन नगरी मौन बसेको छ । विशेष गरेर प्लास्टिकको माला तिहारमा माला तथा बाह्य घर सजावटका रूपमा प्रयोग हुने गरेकोे छ ।
तिहार आउन केही दिन बाँकी रहेकाले मखमली, सयपत्री फूलका माला राख्दा सुक्ने डर भएकाले प्लास्टिक माला राखेको कोहलपुरकी व्यवसायी लक्ष्मी थारूले बताइन् । स्वदेशी फूल महँगो पर्ने हुँदा बिक्री कम हुने उनको भनाइ छ ।
‘प्लास्टिक माला जति समय राख्दा पनि केही फरक पर्दैन,’ उनले भनिन्, ‘त्यसमा पनि यो सस्तो पर्छ ।’ प्लास्टिकको एउटा माला ३० रुपैयाँमा पाइने हुनाले पनि मानिसहरूको रोजाइमा पर्ने गरेको उनले बताइन् ।
कोहलपुरका भीम खत्री मालालगायत तिहारको समान किन्न बजार आएका थिए । उनले बजारमा प्लास्टिकको माला रोक लगाएको सुनेका थिए । तर बजारमा छ्यापछ्याप्ती प्लास्टिकका माला देखेपछि उनले त्यही माला किने । ‘प्लास्टिक माला नपाइने भएपछि तिहारका लागि जति परे पनि मखमली र सयपत्री फूलका किन्ने सोच बनाएको थिएँ,’ उनले भने, ‘तर बजारमा आउँदा जताततै प्रशस्त प्लास्टिक माला देखिपछि सस्तो भएकाले प्लास्टिक माला नै किनेँ ।’
प्लास्टिक मालाको मारमा फूल व्यवसायी
तिहार नजिकिएसँगै जयबहादुर बस्नेतले आफूले उत्पादन गरेको सयपत्रीले राम्रो बजार पाउने आशामा गरेका थिए । तर, उनको सयपत्री फूल बजारमा पु¥याउन नपाउँदै प्लास्टिक मालाले बजार छाएपछि उनको आशा निराशामा परिणत भएको छ ।
विगत तीन वर्षदेखि थापा कृषि तथा नर्सरी फर्म दर्ता गरी सयपत्री फूल उत्पादन गर्दै आएका बस्नेतले यसवर्ष पनि १२ कठ्ठामा कर्म जातको र कलकत्ते जातको सयपत्री फूल उत्पादन गरेका छन् ।
विदेशबाट फर्केर नेपालमै केही गर्ने उद्देश्यले ४ जना युवा मिलेर तीन वर्षदेखि सयपत्री फूल उत्पादन गर्दै आएको बस्नेतले बताए । अहिले दिनमा २० केजीसम्म बिक्री हुँदै आएको छ । ‘प्रतिकेजी ३ सय रुपौयाँले बिक्री गर्दै आएका छौं,’ उनले भने, ‘प्लास्टिक मालाले बजार झकिझकाउ भएपछि सयपत्री फूलले बजार पाउन समस्या भएको छ ।’
बजारमा प्लास्टिक माला प्रतिबन्ध लगाउने भने पनि कोहलपुर नगरपालिकाले नियमन नगर्दा बजारभरि प्लास्टिक मालाले भरिएको छ । अब आफ्नो सयपत्री फूलले कसरी बजार पाउने हो भन्ने चिन्ता बस्नेतलाई छ । प्लास्टिक माला नसुक्ने र सस्तो पर्ने भएकाले बजारमा तिहारभन्दा पहिला आइसकेको व्यवसायीहरू बताउँछन् ।
सयपत्री फूल तिहारभन्दा ४ दिन पहिला बजारमा बेच्न राख्दा सुक्ने भएकाले पनि समस्या भएको उनले बताए । ‘सयपत्री फूलका लागि हामीसँग कोल्डस्टोर छैन । त्यसैले आजबाट बजारमा लग्छौं,’ उनले भने । स्थानीय तहले प्लास्टिक मालाको प्रतिबन्ध लगाउने भने पनि बजारमा खुल्लमखुला बिक्री गर्न दिँदा आफूहरू मारमा परेको बस्नेतले बताए ।
तर कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले आफूहरूले बजारमा गएर माइकिङ गर्ने गरेको बताए । ‘पसलहरूमा यस्ता माला बिक्री नगर्न अनुरोध गरेका छौँ,’ थापाले भने, ‘स्वास्थ्य र वातावरणमा समेत असर पर्ने भएकाले प्लास्टिक माला बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।’
अहिले सम्झाउने काम भइरहेको र अटेर गरे जफत गरेर कारबाही गरिने थापाले बताए । नगरपालिकाले सुरुमै निर्णय नगरेकाले आफूहरूले पहिल्यै यस्ता माला किनेर ल्याएको व्यापारीहरूको भनाइ छ । प्लास्टिक माला प्रतिबन्ध लगाए आफूहरू मारमा पर्ने व्यापारीहरूले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्