चाडबाड मनाएर देश छोड्दै गरेका यी युवाहरूले चार महिनापछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन स्वदेश फर्किने नफर्किने कुनै ठेगान नभएको बताए । कालीकोटका दुर्गा सार्कीले भने, ‘काम गरेन् भने हामीलाई हातमुख जोर्नै गाह्रो हुन्छ । भोट हाल्नकै लागि घर आउन त के सकिएला र । तर हामी उतैबाट घरका मान्छेहरूलाई कसलाई भोट हाल्ने भन्ने सिकाउन भने सिकाउँछौँ । यसपटक युवाहरूलाई नै जिताउनुपर्छ ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।
कालीकोटका ३१ वर्षीय प्रकाश सिंह उत्तराखण्डको रिषिकेशमा रिभर गाइडको काम गर्छन् । दसैँ तिहार मनाएर भारत फर्किन नेपालगन्ज पुगेका बेला भेटिएका प्रकाशलाई जेनजी विद्रोहले देशमा परिवर्तन ल्याउला त ? भन्ने प्रश्न सोध्दा हिन्दी लवजको नेपालीमा मार्मिक जवाफ दिए, ‘खै क्या होला हजुर । उहिले माँ बाप बित्दा माओवादीले काजक्रिया गर्न दिएनन् । पोहोरसाल काजक्रिया गरियो । तर देश उस्तै छ ।’ प्रकाशले आफ्नो जीवनमा उतारचढावपूर्ण भोगाइ साझा गरे । उनी करिब डेढ दुई वर्षकै हुँदा आमा बितिछन् भने करिब ६ वर्षको हुँदा बुवा । आमाबुवा दुवैको काजक्रिया गर्दा तत्कालीन विद्रोही माओवादीहरूले काजक्रिया गर्न हुन्न भनेपछि उनका दाइले उनलाई समेत लिएर भारत पसेका रहेछन् ।
‘म भारत पस्दा ६ वर्षको थिएँ । अहिले ३१ वर्ष पुगेँ । अझै देश बनेको छैन । म करिब १२ वर्षपछि नागरिकता बनाउन घर फर्किँदा घुस खुवाएर नागरिकता बनाउनुप¥यो,’ प्रकाशले भने । प्रकाशले आफ्ना तीनवटै सन्तान भारतमै जन्मिएका भएपनि नेपालमा हुर्काउनुपर्छ भन्ने लागेर नेपालमै राख्न खोजे पनि गाह्रो भइरहेको बताए । ‘तीन छोराछोरी छन् । तिनलाई पाल्नुप¥यो । यहाँ बसेर केही हुन्न हजुर,’ उनले दिक्दारी व्यक्त गरे । रिभर गाइडको सीप नेपालमा प्रयोग गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्दैन ? भन्ने प्रश्नमा प्रकाशले भने, ‘खै यहाँ पनि त्यस्तो काम पाइला र ?’
दसैँ तिहार मनाएको केही दिनमै जाजरकोटको नलगाडका २५ वर्षीय दिपेश पुनमगरले पनि भारत फर्किने निधो गरे ।
करिब १९ वर्षकै उमेरदेखि भारत जान थालेका पुनमगरले भारतको कुल्लु मनालीमा स्याउ टिप्नेदेखि मटर उब्जनी गर्ने किसानको बारीमा काम गर्दै आएको बताए । त्यहाँ काम गर्दा उनलाई लागिरहन्छ, ‘कृषि गरेरै यिनिहरूले हामीलाई रोजगारी दिएका छन् भने हामीलाई चाहीँ आफैँलाई खान नपुग्ने किन होला ?’ उनको बुझाइ छ– त्यहाँका किसानहरूले के उब्जनी ग¥यो भने राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाएका छन् अनि उत्पादन गरेको उपजको बजारीकरणमा सरकारले सडक मार्ग निर्माण गर्नेदेखि मूल्य पाउने सुनिश्चितता गरिदिएको छ ।
दिपेश आफ्नो गाउँमा कृषिलाई नै आधुनिकीकरण गर्ने हो भने धेरै सम्भावना रहेको बताउँछन् । उनले भने, ‘हाम्रो गाउँमा सुन्तला फल्न सक्छ, स्याउ फल्न सक्छ, सिमीहरू फलाउन सकिन्छ । तर, त्यसलाई बजारसम्म कसरी पु¥याउने ? बाटो नै बनेको छैन । स्थानीय सरकारले किसानहरूलाई हौसला दिने केही काम नै गरेको छैन ।’ दिपेशको जस्तै अन्ुभव रोल्पाको उपल्लो जाईका २६ वर्षीय यम पुनमगरको पनि छ । भारत जानका लागि आफ्ना पाँचजना साथीहरूसँगै नेपालगन्जको पुष्पलाल चोकमा बस पर्खिरहेको अवस्थामा भेटिएका यमले गतवर्ष गाउँमा आमाबुवाले फलाएको करिब १० क्विन्टल आलु नबिकेर सडेर गएको बताए ।
‘गाउँमा कसैले खाँदैनन् ।बजारसम्म पु¥याउने हो भने बाटो छैन । पिठ्युँमा बोकेर सम्भव छैन,’ यमले भने । त्यसैले पेट पाल्न र परिवारको गुजारा चलाउन गाउँलेहरू बुवाको पालादेखि नै भारतको उत्तराखण्ड जान थालेका उनले बताए । ‘त्यहाँ एक ठाउँमा हाम्रो बुवाले काम गरेर नाम कमाउनुभएको ठाउँ छ । हामी फलानाको छोरा भन्यो भने सबैले चिन्छन् । काम दिन्छन् । घर बनाउने, पर्खाल लगाउने जस्ता कामहरू गर्छाैँ,’ यमले भने ।
अहिले स्थानीय तहहरूले पनि निर्माणका कामहरू गरिरहेका छन् । त्यसमा काम किन नगर्नुभएको त ? भन्ने प्रश्नमा उनले आक्रोश मिश्रित आवाजमा भने, ‘कहाँ त्यसमा काम दिन्छन् र हामीलाई । पहिले गरेको कामको त पैसा पाएका छैनन् रे गाउँलेहरूले ।’ कालीकोट पलाता गाउँपालिकाका २६ वर्षीय हंस सार्की, उनका साथीहरू २६ वर्षीय दुर्गा सार्की र २० वर्षी मन्जन सार्की पनि दसैँ तिहार मनाएर फेरि भारत फर्किएका छन् ।
उनीहरू तीनै जनाले भारतको देहरादुनलगायत विभिन्न सहरमा डुल्दै कम्बल, गलैँचालगायत बेच्ने गरेको बताए । हंसले आफ्ना बुवाबाजेहरूले राडीपाखी बनाएर बेच्ने गरेको सम्झँदै भने, ‘उहीले हाम्रा बुवाबाजेहरूले राडीपाखी बनाएर बेच्थे । मैले पनि सुरुमा अछाम, दैलेखमा राडीपाखी बेच्दै हिँड्थे । तर, त्यस्ता चिजहरू मान्छेहरूले किन्न छाडे । किने पनि मोल नपाइने । बरु इण्डिया गएर कम्बल, गलैँचा बेच्ने काम ग¥यो भने घरखर्च चलाउने पैसा कमाई भैहाल्छ ।’
हंसले देशमै बसेर बाँच्न सक्ने स्थिति रहे परदेश जान कसैको मन नहुने बताए । देशमा नेता र कर्मचारीहरू भ्रष्टाचारमै लिप्त रहेर समस्या निम्तिएको उनले बताए । उनले आफ्नै स्थानीय तहको उदाहरण दिँदै भने, ‘हामी परदेशमा गएर १५–२० हजारका लागि खुनपसिना बगाइरहेका छौँ । समाचारमा आउँछ, गाउँपालिकामा करोडौँको बेरुजु छ । सब भ्रष्टाचारले यस्तो भएको हो ।’ हामीले कुरा गरेका यी जेनजी उमेर समूहका युवाहरू सबैले एसएलसी पास गरेका छन् ।
तर, गाउँमा आफूहरूको कुरा सुन्ने र भावना बुझ्ने कोही नभएको उनीहरूले अनूभुति सुनाए । जाजरकोटका दिपेशले भने, ‘मैले गाउँमा भएका नेता हुँ भन्नेहरूलाई अब यस्तो गर्दा राम्रो होला भनेर सुझाव दिन खोजेँ । तर उनीहरू हामीलाई केही नजान्ने सोँच्दा रहेछन् । उल्टै हेलाको व्यवहार गरेको जस्तो गरे । त्यसपछि भन्न छोडेँ ।’ हामीले कुरा गरेका यी सबै युवाहरूले देशमा पछिल्लोपटक भएको जेनजी विद्रोह सही भएको बताए । तर, अब कसरी देश अघि बढ्छ भन्ने आफूहरूलाई थाहा नभएको बताए ।
यद्यपि देशमा भ्रष्टाचार कम भएमा, रोजगारीको पाइने भएमा र उद्योगधन्दा खुलेमा मात्रै देश सुध्रिने उनीहरूको बुझाइ छ । चाडबाड मनाएर देश छोड्दै गरेका यी युवाहरूले चार महिनापछि फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन स्वदेश फर्किने नफर्किने कुनै ठेगान नभएको बताए । कालीकोटका दुर्गा सार्कीले भने, ‘काम गरेन् भने हामीलाई हातमुख जोर्नै गाह्रो हुन्छ । भोट हाल्नकै लागि घर आउन त के सकिएला र । तर हामी उतैबाट घरका मान्छेहरूलाई कसलाई भोट हाल्ने भन्ने सिकाउन भने सिकाउँछौँ । यसपटक युवाहरूलाई नै जिताउनुपर्छ ।’
रोल्पाका यमले पनि आफू भोट हाल्नकै लागि घर फर्किने नफर्किने यकिन भन्न नसक्ने बताए । ‘अहिले गएर चार महिनापछि फर्किन सकिन्छ कि सकिन्न थाहा छैन । हाम्रो कामको सिजन पनि त्यहीबेला बढी हुन्छ । तर, भोट हाल्न नआए पनि घरका मान्छेहरूलाई हामीले भन्छौँ । अब काम गर्ने मान्छेलाई जिताउनुपर्छ भनेर फोनबाटै भएपनि भन्छौँ ।’ कालीकोटका हंसले आउने चुनावमा पुराना दलहरू चुनाव लड्न पाउलान् त ? भन्दै प्रतिप्रश्न गरे । उनका साथीहरूले नै उनको उत्तर दिए, ‘दलहरू त लडिहाल्छन् नि । तर जो लडेपनि युवाहरूलाई भोट दिनुप¥यो ।’
तर प्रकाशले भने आफू भोट हाल्न नआउने ठोकुवा गरे । त्यसको कारणका रूपमा उनले देशमा भएको भ्रष्टाचार र आफूजस्ता जनताको कुनै मूल्य नहुनुलाई आशयका रूपमा व्यक्त गर्दै भने, ‘जो आएपनि उही भ्रष्टाचार गर्ने हो । हाम्रो भोटले के फरक पार्छ र ? म आउँदिन होला ।’
नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश युवाहरू अहिले पनि रोजगारीका लागि भारतकै भर पर्ने गरेका छन् । दसैँ तिहार मनाउन घर आएकाहरू अहिले पुनः भारत फर्किँदै छन् । नेपालगन्जको जमुनाह नाका हुँदै दैनिक औसतमा एक हजार पाँच सय बढी भारत गइरहेका सुरक्षाकर्मीहरू बताउँछन् । तर, भारत फर्किने नेपालीहरूको कुनै रेकर्ड राख्ने गरिएको छैन । उनीहरूसँग सोधपुछ र समस्यामा परेका बखत सम्पर्क गर्ने डेस्कसमेत सञ्चालनमा छैन ।
ई–रिक्साको चुछाचुँडी, गाडीमा ठगी
भारत फर्किरहेका नेपालीहरूलाई अहिले नेपालगन्जको पुष्पलाल चोकमा ई–रिक्सा चालकहरू, होटल सञ्चालक, टिकट काट्ने व्यवसायीहरूले लुछाचुँडी गरिरहेका देखिन्छन् । यस्तोमा कहिलेकाहीँ सामान हराउने, टुटफुट हुने समस्या भोग्नुपरेको उनीहरूले बताए ।दैलेखका पदम खड्काले पुष्पलाल चोकमा ई–रिक्साको लुछाचुँडीका कारण आफ्नो झोला गुमाउनुपरेको छ । बिहीबार साँझ रिक्सा चाकलले तानातन गर्ने क्रममा आफ्नो ल्यापटप, लत्ताकपडा र औषधि रहेको झोला अर्कै रिक्सामा परेको भन्दै उनले सामाजिक सञ्जालमा उक्त झोला भेटाउनले फिर्ता गरिदिन आग्रह गर्दै पोष्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘अटोहरू यति धेरै र यति अव्यवस्थित थिएकी एक जनाले एकातिर तान्ने अर्कोले अर्कोतिर तान्ने गरिरहनुभाथ्यो । लुछाचुँडीनै चलिराथ्यो । त्यत्तिकैमा मेरो कपडा राखेको कालो झोला एक जना दाइले आफ्नो अटोमा राख्नु भयो । गाउँबाट फर्केको हुनाले सामान एकदम धेरै थियो । म सामान गाडीबाट झार्दै थिएँ फेरि अर्को दाइले सामान राखेको तीनवटा बोरा र अरु दुइटा झोला आफ्नो अटोमा राख्नु भयो । गाडी लागेको थियो कुनै याद नै रहेन त्यो अर्को झोलाको । कोठामा आएपछि मात्र घरबाट एक्कासि बिरामी मम्मीले फोन गरेर केही सामान त छुटेन नि ? भनेर सोध्दा याद आयो ।’
उनले सामाजिक सञ्जालमा उक्त पोष्ट शेयर गरेपछि एउटा झोला भेटिएको तर उक्त झोला आफ्नो नभई अरु कसैसँग साटिएको भन्दै अर्काे पोष्ट गरेका छन् । यसका साथै भारतका विभिन्न सहरमा जाने भारतीय बसको टिकट काट्न नेपालगन्जमा खुलेका काउन्टरहरूले पनि यात्रुहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।
एक होटल सञ्चालकले भने, ‘यहाँ कतिपय दर्ता नभएका टिकट काउन्टरहरू खुलेका छन् । तिनीहरूले यहाँ एसी गाडीको टिकट भनेर शुल्क लिन्छन्, रुपैडिहा जाँदा थोत्रा बस प¥यो भनेर गुनासो हामीकहाँ आउँछ ।’ यद्यपि यस्ता टिकट काउन्टरहरूसँग होटल सञ्चालकहरूले नै मिलोमतो गरी यात्रुहरू पठाउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्