बाँके ।
दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् । शनिबार राप्ती सोनारीको मदुवामा भएको राप्ती सोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारू तेस्रो भए । छात्रतर्फ रामबहादुर विक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारू, विशाल सुनार, आशिक थारू शीर्ष दश भित्र आए ।
त्यसैगरी छात्रातर्फ अनिसा थारू दोस्रो र अन्चलकुमारी थारू तेस्रो भए । यसमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारू, सन्जु थारू, रन्जिता चौधरी, निस्मा थारू, रामकुमारी थारूले शीर्ष दशभित्र स्थान बनाए । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद रु पाँच हजार, तीन हजार र एक हजार तथा पदकले पुरस्कृत गरिएको थियो ।
विजयी खेलाडीलाई राप्ती सोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारू, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्ती सोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यवाहक अध्यक्ष खड्काले राप्ती सोनारी नेचर रनलाई गाउँपालिकाको वार्षिक कार्ययोजनामा सम्बोधन गर्ने र सबै नौ वटै वडाले यस कार्यक्रममा आर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । करिब एक सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यहीँ मंसिर ६ गते शनिबार हुने ११औँ धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुरस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्