‘शालिक राजनीति’को विवाद फेरि सतहमा



ढलाइएका शालिकहरूलाई पुनः स्थापना गर्ने सम्बन्धमा मुख्य राजनीतिक दलहरूबीच आन्तरिकरूपमा छलफल भइरहेकै अवस्थामा नेकपा एमालेले गत कात्तिक १७ गते गरेको पत्रकार सम्मेलनमा शालिक पुनःस्थापनाको तयारी भइरहेको र त्यसका लागि कात्तिक २९ गतेको मिति तोकिएको सार्वजनिक गरेको थियो । त्यसपछि नेपालगन्जको प्रमुख चोकमध्ये एक धम्बोझी चोकमा २०६२–०६३ को जनआन्दोलनपश्चात तोडफोड गरिएको राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्नुपर्ने माग राख्दै आएका, पटक–पटक त्यसका लागि प्रयास पनि गर्दै आएका राप्रपा र राजाको शालिक पुनः स्थापना गर्नुपर्छ भन्ने व्यक्तिहरूले पनि यही मौकामा शालिक पुनः स्थापनाको विषय सतहमा ल्याएका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा शालिकका नाममा हुने राजनीति फेरि एकपटक सतहमा आउने देखिएको छ । विभिन्न आन्दोलनका क्रममा ढालिएका शालिकहरू पुनः स्थापना गर्न खोज्दा नेपालगन्जमा पटक–पटक विवाद उत्पन्न भएर सार्वजनिक शान्ति नै भंग हुने खतरा उत्पन्न भएका उदाहरणहरू छन् । अहिले जेनजी आन्दोलनका क्रममा ढालिएका शालिकहरू पुनः स्थापनको चर्चासँगै फेरि शालिक राजनीति सतहमा आउने संकेत देखिएको हो ।

शालिक राजनीतिलाई लिएर नेपालगन्जमा मुख्यगरी राजाको शालिक पनि पुनः स्थापना गर्नुपर्छ र गर्नुहुँदैन भन्ने विवाद नै केन्द्रमा रहने गरेको छ। नेपालगन्जका प्रायः मुख्य चोकहरू कुनै न कुनै व्यक्तित्वको नाममा नामाकरण गरिएका छन् । अधिकांश चोकमा शालिकहरू पनि रहेकोमा अहिले नेपालगन्जमा कुनै चोकमा शालिक सद्धे छ भने त्यो त्रिभुवनको शालिक हो । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उग्र समूहले दोस्रो जनआन्दोलनकी सहिद सेतु विकको शालिकसहित नेपाली राजनीतिका आदर्श पुरुषहरू मानिने विपी कोइराला र पुष्पलाल श्रेष्ठका शालिकहरू पनि ढालिदिए ।

ढाल्ने पर्यत्न गरेपनि असफल भएको गणेशमान सिंहको शालिक तोडफोड गरिएको अवस्थामा छ । ढलाइएका शालिकहरूलाई पुनः स्थापना गर्ने सम्बन्धमा मुख्य राजनीतिक दलहरूबीच आन्तरिकरूपमा छलफल भइरहेकै अवस्थामा नेकपा एमालेले गत कात्तिक १७ गते गरेको पत्रकार सम्मेलनमा शालिक पुनःस्थापनाको तयारी भइरहेको र त्यसका लागि कात्तिक २९ गतेको मिति तोकिएको सार्वजनिक गरेको थियो ।त्यसपछि नेपालगन्जको प्रमुख चोकमध्ये एक धम्बोझी चोकमा २०६२–०६३ को जनआन्दोलनपश्चात तोडफोड गरिएको राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्नुपर्ने माग राख्दै आएका, पटक–पटक त्यसका लागि प्रयास पनि गर्दै आएका राप्रपा र राजाको शालिक पुनः स्थापना गर्नुपर्छ भन्ने व्यक्तिहरूले पनि यही मौकामा शालिक पुनः स्थापनाको विषय सतहमा ल्याएका छन् ।

राप्रपामा आबद्ध र राजाको शालिक स्थापना गर्नुपर्ने पक्षमा रहेका व्यक्तिहरूको एक समूहले बुधबार बाँके प्रशासनमा एक ज्ञापनपत्र बुझाउँदै अहिले ढलाइएका शालिकहरू पुनः स्थापना गर्दा राजा वीरेन्द्रको शालिक पनि स्थापना गर्नुपर्ने माग अघि सारेको छ । उक्त समूहले निकट भविष्यमै राजा वीरेन्द्रको शालिक स्थापना गरिने बताएको छ । उक्त समूहले बुझाएको ज्ञापनपत्रमा यसका लागि सबै राजनीतिक दलहरूबीच छलफल गरी निर्णय गराइदिन बाँके प्रशासनसँग अनुरोध गरिएको छ ।

तर, जेनजी आन्दोलनमा शालिक ढलाइएका व्यक्तिको आस्थासँग सम्बद्ध राजनीतिक दलहरू भने राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्ने विषय अहिले अगाडि लिएर आउनु आफूलाई जिस्काउनु जस्तै हुने बताउँछन् । उनीहरू जेनजी आन्दोलनका क्रममा ढलाइएका शालिक पुनः स्थापना गर्दा राजाको शालिक पनि स्थापनाको प्रयास गरिए त्यसको विरुद्धमा उत्रिने चेतावनी दिन्छन् । यस्तो चेतावनी दिनेहरूमा विशेषगरी नेकपा एमाले र विभिन्न दल तथा समूहबीच एकता घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टी रहेका छन् ।

नेपाली काँग्रेसका नेताहरू पनि अहिलेको परिस्थितिमा जेनजी आन्दोलनमा ढलाइएका शालिक पुनः स्थापनाबाहेक पुराना कुराहरू लिएर आउनु असान्दर्भिक हुने बताइरहेका छन् । मिसन टुडेसँग कुराकानी गर्दै नेकपा एमाले बाँके उपाध्यक्ष रत्न खत्रीले जेनजी आन्दोलनका क्रममा ढलाइएका शालिकबाहेक अरु शालिक पुनः स्थापनाको कुरा अस्वीकार्य हुने बताए । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य खत्रीले भने, ‘अहिले गणतान्त्रिक व्यवस्था छ । अहिलेको संविधानले राजतन्त्रलाई चिन्दैन । न जेनजीहरूको प्रदर्शन गणतन्त्रका विरुद्धमा भएको हो । अनि त्यतिबेला ढालिएका शालिकहरूसँगै राजाको शालिक स्थापना गर्नुपर्छ भन्नु हामी गणतन्त्रवादीहरूलाई जिस्काउनुजस्तै हो । हामी त्यसको प्रतिकार गर्छाैँ ।’

साविक नेकपा माओवादी केन्द्रको नेपालगन्ज नगर कमिटीका सचिव धर्मराज न्यौपाने पनि जेनजी आन्दोलनका क्रममा ढलाइएका शालिकहरूबाहेक अरु शालिक पुनः स्थापनमा आफूहरूको सहमति नरहने बताउँछन् । उनले धम्बोझी चोकमा राजाको शालिक पुनः स्थापनका गरिने भएमा आफूहरूले त्यसको विरोध गर्नेपनि बताए । ‘अब शालिक स्थापना गर्ने काम स्थानीय सरकारले गर्छ । हामी दोस्रो जनआन्दोलनका बेला ढलाइएको शालिक अहिले पुनःस्थापना गर्ने भन्ने विषयमा सहमत हुन सक्दैनौँ । धम्बोझी चोक जस्तो अहिले हालतमा छ त्यस्तै रहनुपर्छ । त्यो साझा चोकका रूपमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।  यदि त्यहाँ शालिक स्थापना गर्ने भएका विरोधमा उभिन्छौँ,’ न्यौपानेले भने ।

नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले जेनजी आन्दोलनका क्रममा ढलाइएका शालिकहरू यथाशीघ्र पुनः स्थापना गर्नेबाहेक अरु शालिकका विषयमा सहमत हुन नसकिने बताए । काँग्रेस बाँकेका उपसभापतिसमेत रहेका अधिकारीले विगतदेखि नै विवादित रहँदै आएका वीरेन्द्रको शालिक स्थापना गर्ने काममा प्रशासन नै तयार हुन नसक्ने बताए । ‘यसअघि पनि प्रशासनले वीरेन्द्रको शालिक राख्न खोज्दा हटाएको हो । अहिले पनि उक्त शालिक पुनः स्थापनाका लागि आम सहमति छ भन्ने मलार्इँ लाग्दैन । यसमा प्रशासनले नै आवश्यक समन्वय गर्ने विश्वास हामीले लिएका छौँ,’ अधिकारीले भने ।

तर, राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटा अब राजाको शालिक पुनः स्थापनाको काममा सबै राजनीति दलहरूको सहमति हुने दाबी गर्छन् । ‘हामीले गरेको संवादमा सबै पार्टीका नेता कार्यकर्ताहरूले शालिक पुनः स्थापनामा विरोध नहुने बताउनुभएको छ । हामीले पनि सबै तयारी गरिसकेका छौँ । प्रशासनलाई पनि जानकारी गराइसकेका छौँ । आशा छ प्रशासनले पनि आवश्यक समन्वय गर्नेछ र शालिक पुनःस्थापनामा सबैको सहयोग हुनेछ,’ देवकोटाले भने । उनले यदि राजाको शालिक पुनःस्थापनमा अवरोध भए अरु शालिकहरू पनि पुनःस्थापनामा आफूहरूको अवरोध हुने चेतावनी दिए ।

राप्रपा र राजावादी बाहेकका केही व्यक्तिहरू पनि अब पुराना सबै शालिक पुनस्थापना गर्नुपर्ने बताइरहेका छन् । नेकपा एमाले आबद्ध एवं व्यवसायिक अगुवा कृष्णप्रसाद श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘२०६२–०६३ साथै २०८२ भाद्र २३ र २४ गतेका दिन तोडिएको सबै स्तंभ शालिकसँगै उठाउने वातावरण श्रृजना गरौँ ।’ यता बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ शालिकका सम्बन्धमा एउटा ज्ञापनपत्र प्राप्त भएकोबाहेक अरु जानकारी आफूलाई नभएको बताउँछन् । केही दिनअघि बाँके जिल्लाको कार्यभार सम्हालेका प्रजिअ तामाङले शालिकका सम्बन्धमा रहेका विवादबारे पनि आफूले जानकारी लिन नपाएको बताए ।

अहिले यस विषयमा आफ्नो तर्फबाट भन्नुपर्ने केही नरहेको बताउँदै उनले सबै अध्ययन गरेपश्चात आवश्यक कदम चाल्ने बताए । यसैबीच जेनजी आन्दोलनका क्रममा सहिद भएका नेपालगन्जका दुईजना युवा शुलभ श्रेष्ठ र आयुष थापाको नाममा सडकको नामाकरण गर्ने र गेट निर्माण गर्ने नेपालगन्ज उपमहानगरले निर्णय गरिसकेको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले उक्त प्रस्तावलाई आगामी पुसमा बस्ने नगरसभामा पेश गर्ने निर्णय भइसकेको जानकारी दिए ।

वडामा पर्ने प्रहरी गुल्मबाट शुलभको घर हुँदै धम्बोजी वाटरपार्क जाने स्थानमा शुलभ गेट निर्माण गरिने र सो ठाउँबाट गायत्री मन्दिर सम्मको बाटोलाई शुलभ मार्ग नामाकरण गरिने वडाध्यक्ष रिजालले जानकारी दिए । यसैगरी खजुरा रोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा आयुष गेट निर्माण गरिने प्रक्रिया अघि बढाइएको रिजालले बताए ।
यसैगरी नेपालगन्जमा ढलाइएका शालिकको पुनः स्थापनका विषयमा उपमहानगरले विभिन्न पक्षसँग छलफल गरी एक किसिमको सहमति निर्माण गरेर मात्रै कदम चाल्ने रणनीति बनाएको रिजालको भनाइ छ । ‘शालिकको स्थापनाका विषयमा हामी छलफलमै छौँ । सबैको कुरा पनि सुन्ने र बोर्डको बैठक राखेर कहिले गर्ने र कसरी गर्ने भन्ने विषय टुंग्याउने कुरो छ,’ रिजालले भने ।

यसअघि पनि भएको थियो विवाद 

राजा वीरेन्द्रको शालिक पुनः स्थापनको विषयलाई लिएर यसअघि पनि पटक–पटक विवाद भएको थियो । २०७९ साल जेठ १९ गते एकाबिहानै राजतन्त्रका समर्थक युवाहरूले धम्बोझी चोकमा वीरेन्द्रको शालिक राखे । शालिक राखिसकेपछि मात्रै झल्याँस्स भएको प्रशासनले शालिक राख्ने समूहकै अघि शालिक हटाउन खोज्दा झडपको स्थिति सृजना भयो ।

पछि सर्वदलीय बैठकबाट आम सहमति बनाएर मात्रै शालिक राख्ने सहमतिपश्चात तत्कालको विवाद शान्त भएको थियो । तर राप्रपा र राजवादी पक्षधरहरूले शालिक स्थापना गर्नुपर्ने माग छोडेका थिएनन् । वीरेन्द्रको शालिक पुनः स्थापनालाई लिएर २०७३ साल भदौ १६ गते पनि विवाद सृजना भएको थियो । राजतन्त्रमा आस्था राख्ने संगठनहरूले शालिक पुनः स्थापना गरेका थिए । त्यतिबेला पनि शालिक राख्ने पक्ष र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । तर, प्रशासनले तत्काल शालिक नहटाएर मध्यरातमा क्रेनको सहायताले राजा वीरेन्द्रको शालिक सुटुक्क हटाएको थियो ।

यसपटक पुनः राजा वीरेन्द्रकै शालिकको विषयले उत्पन्न विवाद सहतमा आउँदा थप जटिल अवस्था सृजना हुने खतरा छ । किनकी अहिले राजाको शालिक स्थापना हुनुहुन्न भन्ने पक्षधरहरूले आस्था राख्ने व्यक्तित्वका शालिकहरू पनि ढलेको अवस्थामा छन् । राजाको शालिक स्थापना गर्नुपर्ने माग राख्दै आएकाहरू इतिहासलाई इतिहासकै रूपमा बुझ्नुपर्ने र कसैको शालिकको विरोध गर्न नहुने बताउँछन् । शालिक राख्न हुन्न भन्ने पक्षधरहरू गणतन्त्रको मर्मलाई ध्यानमा राखेर राजाको शालिक स्थापना गरिनुहुन्न भन्ने तर्क गर्छन् ।

यद्धपि लामो विवादपछि नेपालगन्जको त्रिभुवन चोकमा २०७८ साल फागुन ८ गते त्रिभुवनको शालिक भने पुनः स्थापना गरिएको थियो ।त्यसबेला नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख रहेका डा. धवलशमशेर राणाको समर्थनमा उक्त शालिक पुनः स्थापना गरिएको थियो ।तत्पश्चात उक्त शालिकलाई लिएर विवाद बाहिर आएको छैन । जेनजी प्रदर्शनका क्रममा पनि अरु सबै राजनीतिक व्यक्तित्वहरूका शालिक तोडफोड हुँदा त्रिभुवनको शालिक भने सुरक्षित रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार