राम प्रकाश विक । जुम्ला ।
जिल्लाको सिँजा गाउँपालिकामा एक हजार ६४ घरधुरीमा खानेपानीका नयाँ धारा जडान गरिएको छ । सिँजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा गाउँपालिकाले नागरिकका घरघरमा खानेपानी पु¥याएको छ । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार संघीय सरकारले गाउँपालिकालाई दिएको अनुदान, फिनल्यान्ड सरकार र युरोपियन युनियनको संयुक्त सहयोगमा यहाँका घर घरमा धारा पु¥याइएको हो ।
उनका अनुसार नराकोट सिँजाको प्रशासनिक केन्द्रसहित धेरै गाउँमा खानेपानी नभएपछि पालिकाले खानेपानीको कामलाई प्राथमिकता दिएको थियो । गाउँपालिका खानेपानीको विषयमा सुस्वा परियोजनाले गरेको मूल्यांकनमा पनि प्रथम भएको उनले बताए । गाउँपालिका खानेपानी सहायक टेक्नेसियन गजेन्द्रबहादुर महतका अनुसार गाउँपालिकाको आर्थिक सहयोगबाट वडा नम्बर १ डिग्रा जाँच खानेपानी आयोजना अन्तर्गत २१४ धारा, विष्टबाडा खानेपानी आयोजनाबाट ८५ धारा, नराकोटगाउँ खानेपानी आयोजनाबाट १५२ वटा धारा निर्माण भएका छन् ।
यसैगरी गाउँपालिका र लापा परियोजनाको सहयोगमा फुङ्ग्रगाउँमा ११९ धारा, कर्णाली प्रदेशको सहयोगमा गाडापानीगाउँमा ५८ वटा धारा निर्माण भएको छ । उनका अनुसार गाउँपालिकामा लागु गरिएको सुस्वा परियोजना अन्तर्गत गाउँपालिका र फिनल्यान्ड सरकार, युरोपियन युनियनको सहयोगमा ४३६ धारा निर्माण भएका छन् ।
जसमा वडा नम्बर ३ को धिताल लिहीगाउँमा ६४ धारा, फार्सेवाडागाउँमा १३० धारा, वडा नम्बर ५ गोरागाउँमा १८८ धारा, रुघागाउँमा ५४ धारा, वडा नम्बर ६ को जोडुगाउँमा ११० धारा, वडा नम्बर २ का चुलेलगाउँमा ८८ धारा, वडा नम्बर १ को धापामा २७ धारा र भुलीगाउँमा २२ धारा यो आर्थिक वर्षमा निर्माण हुँदै छन् ।
सिँजाले २६ प्रतिशत बजेट खानेपानीमा लगानी गरेको, पारदर्शिता गरेको र विवादित आयोजना तथा समस्या समाधानमा पहलकदमी गरेर विवाद समाधान गर्ने अभियानसाथ काम गरेको उल्लेख छ । कर्णालीका २८ स्थानीय तहमध्ये सिँजाले उत्कृष्ट काम गरेको गाउँपालिका सुस्वा परियोजना संयोजक मञ्जु थापाले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्