नहुषको यो घोर पतनको कथा सबैलाई एक शाश्वत पाठ हो । जब मानिस मानवीय मूल्य भुलेर दानवीय व्यवहारमा उत्रिन थाल्छ, तब पतन नै उसको अनिवार्य नियति बन्छ । जतिसुकै उच्च किन नहोस्, न्याय, सदाचार र मानवीय मूल्यबिना सिंहासन क्षणभरमै एउटा सपना बन्न पुग्छ । अहिले नै निष्कर्ष निकाल्नु शायदै छिटो होला । तर, ३०औँ बालबालिकाको रगतले पोतिएको वर्तमान सरकारको सिंहासन त्यति दरिलो र लक्षप्रति कर्मशील देखिँदैन । प्रधानमन्त्री र गृहमन्त्री बदलाको भावनाबाट निशानामा कसैलाई पार्न व्यस्त देखिन्छन् । पर्दा पछाडिका ‘खेलाडी’ आफ्नो उद्देश्य पूरा गराउन यसै सरकारलाई अस्थिर बनाउन उद्दत छन् ।
रामशरण सिम्खडा
नेपाल आज बहुआयामिक चुनौती र अवसरको दोभानमा उभिएको छ । भौगोलिक सान्दर्भिकता, प्राकृतिक स्रोत–साधन र साँस्कृतिक विविधताले मुलुकलाई विशेष बनाउँछ । तर, राजनीतिक अस्थिरता, आर्थिक संकट, सामाजिक असमानता र मूल्य–संकटले प्रगतिलाई अवरुद्ध बनाएको छ । विशेषतः विदेशमा बस्ने नेपालीका लागि यो अवस्था केवल समाचार वा सोको विषयमात्र होइन, आफ्नै पहिचान र भविष्यसँग जोडिएको प्रश्न हो । संविधान (२०१५) जारी भएपछि स्थायित्वको आशा गरिएको भए पनि पछिल्ला वर्षमा अस्थिर सरकार, दलभित्रको गुटबन्दी, र राजनीतिक नेतृत्वप्रतिको विश्वासको ह्रासले मुलुकलाई कमजोर बनाइरहेको छ । अन्तर्राष्ट्रिय लोकतन्त्र संस्थान (आईडीईए २०२३) ले नेपाललाई ‘मध्यमस्तरको लोकतन्त्र’ को श्रेणीमा राखेको छ, जसको प्रमुख चुनौती भनेकै पारदर्शिता र जवाफदेहिताको कमी हो ।
विश्व बैंकका अनुसार, नेपालमा रेमिट्यान्स सकल घरेलु उत्पादन (जीडीपी) को करिब २३ प्रतिशत रहेको छ, जुन दक्षिण एशियामै उच्च हो । यद्यपि, कृषि आधुनिकीकरण, औद्योगिक विस्तार र पर्यटन व्यवस्थापन कमजोर रहँदा रोजगार सिर्जना न्यून छ । यसले युवालाई ठूलो सङ्ख्यामा वैदेशिक रोजगारतर्फ धकेलिरहेको छ । प्रवासी नेपालीको प्रमुख प्रश्न यथावत् छ– रेमिट्यान्सलाई दीगो विकासमा किन परिणत गर्न सकिँदैन ? शिक्षा र स्वास्थ्यमा असमान पहुँच, ग्रामीण–शहरी विभाजन, भ्रष्टाचार र मूल्य–संकटले सामाजिक संरचना असन्तुलित बनाएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास प्रतिवेदनले नेपाललाई ‘मध्यम मानव विकास सूचकाङ्क’ मा राखे पनि असमानता र अवसरको पहुँचमा ठूलो खाडल देखाएको छ ।
जेन–जेड आन्दोलन र यसको प्रभाव
पछिल्ला वर्षमा नेपालको सामाजिक–राजनीतिक परिदृश्यमा जेन–जेड पुस्ता (१९९७–२०१२ बीच जन्मिएका) विशेष गरी शहरी क्षेत्रका विद्यार्थी, युवा पेशेवर र प्रवासी नेपाली सन्तानको सक्रियता उल्लेखनीय देखिएको छ । सामाजिक सञ्जालमा सुरु भएको ‘इनफ इज इनफ’ अभियानदेखि लिएर सडक प्रदर्शनसम्म, जेन–जेड पुस्ताले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक चेतना फैलाइरहेका छन् । पुराना दलहरूले अब युवाकोआवाजलाई बेवास्ता गर्न नसक्ने अवस्था बनेको छ । फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्मले युवा आन्दोलनलाई भौगोलिक सीमाभन्दा पर पु¥याएको छ । जेन–जेडले पुरानो राजनीतिक संस्कृतिलाई अस्वीकार गर्दै इमानदार, पारदर्शी र नीतिप्रधान नेतृत्वको माग गरेको छ । प्रवासमा रहेका युवाले आफ्ना अनुभव, सीप र विचारलाई नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष जोड्दै ‘ग्लोबल नेपाली आइडेन्टिटी’ निर्माणमा योगदान दिन थालेका छन् । जेन–जेड आन्दोलनले नेपाली समाजलाई स्थायित्व भन्दा बढी उत्तरदायित्वको सवालमा केन्द्रित गराएकोजस्तो देखिन्छ ।
आन्दोलनमा घूसपैठ, एजेण्डामा अलमल
लोकोक्ति छ, कुनै मान्छेको कण्ठमा ठूलै गलगाँड थियो र कुनै औषधिमूलो र उपायले पनि ठीक नहुँदा निकै हैरान थियो । एकपटक गाउँका अरू मान्छेसँग नून लिन मधेश झ¥यो । टोलीको पहिलो बास एउटा ओडारमा प¥यो । त्यो ओडार भूतको अड्डा रहेछ । राति खानपिन गरेर सबै निदाइसकेपछि त्यताको भूतले पारिपट्टिको ओडारको भूतराजालाई सोध्यो, ‘महाराज, आज नून बोक्ने ढाक्रेहरू यता बास बसेका छन् । एउटा गाँडे–गल्फुले पनि छ, के गरौँ ?’ राजाले आदेश दियो– कसैलाई केही नगर, बरु त्यसको गाँड झिकिदे । बिहान हेर्दा त्यत्रो गलगाँड अचानक गायब भएको देखेर सबै छक्क परे । निको हुनेवाला त झन् खुसीले नाच्यो । खबर तुरुन्तै उनीहरूको गाउँसम्म पुग्यो । त्यस ओडारमा बास बसेमा गलगाँड छुमन्तर हुने सुनेर गाउँको अर्को गल्फुले पनि ढाकर (डोको) बोकेर नून लिन गयो र त्यसै ओडारमा बास बस्यो । आज पनि मध्यरातमा यताको भूतले पारिको भूतराजालाई सोध्यो, ‘महाराज, आज फेरि अर्को गाँडे–गाँडा बास बस्न आयो, के गरौँ ?’ उताको भूतले भन्यो, ‘भयो, त्यसलाई पनि केही नगर । बरु, हिजो झिकेको गाँड आज यसैलाई थपिदे ।’ हेर, दुर्भाग्य । बिहान उठेर छाम्दा बिचराको गलामा दुवैतर्फ २ वटा गलगाँड झुण्डिरहेका थिए । ‘झिकिदे गाँड भन्दा थपिदे गाँड’ भएपछि के लाग्छ ? भदौको तेस्रो साता युवाहरूको आन्दोलनको भावलाई पटक्कै कम आँकेको हैन । तर, आन्दोलनले नेतृत्वन पाउँदा, घूसपैठ रोक्न नसक्दा, उद्देश्य स्पष्ट नहुँदा, गन्तव्य तय नहुँदा बीचमा केही ‘पपुलर’ हरूले तर मार्दैछन् । आन्दोलनको मूल ध्येयबाट ‘डिरेल’ भएर न त चुनाव, न स्थिर सरकार नै रहने अवस्थामा ‘थपिदे गाँड’ मा देश जाँदैछ ।
अहङ्कार यसरी ढल्छ
वृत्रासुरवधको ब्रह्म हत्याले इन्द्र डराएर स्वर्गको सिंहासन छाडी अज्ञात स्थानमा लुक्न जाँदा स्वर्ग अन्धकार भयो । अनि, देवताहरूले पृथ्वीबाट नहुष नामको राजालाई अमर हुने आशीर्वाद दिई स्वर्गको अधिपति बनाएर इन्द्रासनमा बसाले । तर, अमरावतीको राजपाट मिल्दा साथ नहुषमा अहङ्कार र शक्तिको अभिमान चुलिन थाल्यो । हुँदाहुँदा शक्तिको उन्मादमा चूर ऊ यति अन्धो, अन्यायी र विवेकहीन बन्न थाल्यो कि, के भन्दैछु र के गर्दैछुु भन्नेसम्म पनि उसले भेउ पाउन छोड्यो र हाकाहाकी एकपछि अर्को अपराधमा प्रवृत्त हुन थाल्यो । ऊ यतिसम्म अविवेकी भयो कि इन्द्रकी पत्नी देवीशचीमाथि नै कुदृष्टि राख्नेसम्मको धृष्टतामा उत्रियो । एकदिन उसले मर्यादाको हद नै तोडेर ब्रह्माण्डको रहस्य बुझेका महातपस्वी सप्तर्षीहरूलाई आफ्नो पालकी बोकाएर इन्द्रायणी देवीशचीलाई भेट्न जाने निर्णय ग¥यो । शचीसँग मिलनको निम्ति उसको मन निकै अधीर हुनाले सप्तर्षीलाई छिटोछिटो दौडिन भन्दै क्रोध र अपमानजनक शब्दले गाली गर्दै थियो । जब रिसमा अन्धो नहुषले महान ऋषि अगस्त्यको शीरमा लात्ति प्रहार गर्दै सर्प, सर्प, अर्थात्, ‘छिटो हिँड्’ भन्दै चिच्यायो, त्रिदेवले समेत आदर गर्ने ऋषि अगस्त्यको मुखबाट क्रोध होइन, वेदनाको श्राप निस्कियो, ‘पद र शक्तिको नशाले अन्धो भएको मूर्ख नहुष, तेरो सर्प योनीमा पतन होस् ।’ एकैपलमा देवराज नहुष स्वर्गको वैभवबाट ढुन्मुनिएर एउटा बडेमाको अजिङ्गर (सर्प) बनी धर्तीमा पछारिन आयो ।
शक्तिको शिखरसँग पतनको खाडल कति नजिक हुन्छ, उसले त्यतिबेलै देख्यो । नहुषको यो घोर पतनको कथा सबैलाई एक शाश्वत पाठ हो । जब मानिस मानवीय मूल्य भुलेर दानवीय व्यवहारमा उत्रिन थाल्छ, तब पतन नै उसको अनिवार्य नियति बन्छ । जतिसुकै उच्च किन नहोस्, न्याय, सदाचार र मानवीय मूल्यबिना सिंहासन क्षणभरमै एउटा सपना बन्न पुग्छ । अहिले नै निष्कर्ष निकाल्नु शायदै छिटो होला । तर, ३०औँ बालबालिकाको रगतले पोतिएको वर्तमान सरकारको सिंहासन त्यति दरिलो र लक्षप्रति कर्मशील देखिँदैन । प्रधानमन्त्री र गृहमन्त्री बदलाको भावनाबाट निशानामा कसैलाई पार्न व्यस्त देखिन्छन् । पर्दा पछाडिका ‘खेलाडी’ आफ्नो उद्देश्य पूरा गराउन यसै सरकारलाई अस्थिर बनाउन उद्दत छन् । ‘सेलिब्रेटी मन्त्रीहरू’ चुनाव केन्द्रितभन्दा आफूलाई आगामी निर्वाचनमा कसरी सहज हुन्छ भन्नेतर्फ बढी केन्द्रित छन्, जसले त्यहाँ पु¥यायो, उनीहरूको मागतर्फ ध्यान हैन्, अन्तै कतै सोच्दै गरेको स्वयं प्रधानमन्त्रीको अभिव्यक्तिबाट बुझ्न धेरै गाह्रो पर्दैन । विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारको सोच, शैली, कार्यकुशलता हेर्दा माथि उल्लेख गरिएको ‘नहुष’ को कथाजस्तो नहोस् भन्ने शुभेक्षा धेरैको पाइन्छ ।
प्रवासीको भूमिका
प्रवासी नेपाली केवल आर्थिक आधारमात्र होइनन्, ज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवका धनी हुन् । तर, नेपालमा लगानीमैत्री वातावरणको अभाव र नीतिगत अनिश्चितताले उनीहरूको सीप र स्रोतलाई देशको विकासमा रूपान्तरण गर्न सकिएको छैन् । प्रवासी नेपालीलाई रणनीतिक साझेदारको रूपमा सम्बोधन नगरेसम्म ‘ब्रेन गेन’ सम्भव छैन । नेपालको समस्या गहिरा छन्, तर सम्भावना अझै गहिरा छन् । सुशासन र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने छ । अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनु पर्नेछ । जेन–जेडको आन्दोलनलाई संस्थागत स्वरूप दिनुपर्ने छ । प्रवासी नेपालीलाई दीर्घकालीन साझेदारको रूपमा समेट्नुपर्ने छ । यसरी मात्र नेपालले ‘समृद्ध, स्थिर र न्यायपूर्ण समाज’ तर्फको यात्रामा वास्तविक प्रगति गर्न सक्ने छ । प्रवासी नेपालीको दृष्टिमा, आजको मुलुकमा भएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने कडी भनेकै जवाफदेही नेतृत्व र सक्रिय युवा पुस्ता हो । साभारः नेपालप्रेस









प्रतिक्रिया दिनुहोस्