कोहलपुर (बाँके) ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले भदौ २३ गते भएको जेनजी आन्दोलन प्रमुख तीन राजनीतिक दलका कारण भएको बताएका छन् । प्रमुख तीन राजनीतिक दलका मुख्य नेताहरूले देशलाई अनिर्णयको बन्दी बनाएका कारण नयाँ पुस्ताले भदौ २३ गते उनीहरूविरुद्ध विद्रोह गरेको बताएका हुन् ।
शनिबार बाँकेको कोहलपुरमा आयोजित नेपाल मजदुर किसान पार्टी बाँकेको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पूँजीपतिको पार्टी नेपाली काँग्रेस र आफूहरूलाई कम्युनिष्ट दाबी गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका प्रमुख दलहरूको कुशासन, भ्रष्टाचार, कमिसनतन्त्र, भागबण्डाको वितण्डा मच्चाएका कारण नयाँ पुस्ताले उनीहरूविरुद्व विद्रोह गरेको उनले बताए । ‘देशभक्त नेपाली जनता एक हौँ, भ्रष्टाचार, कमिसन र सीमा अतिक्रमणविरूद्ध संघर्ष गराँै’ भन्ने मूल नारासहित कोहलपुरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नेमकिपाका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका सुवालले प्रमुख तीन पार्टीकै कारण देशले ठूलो क्षति व्यहोर्नु परेको बताए । उनले भने, ‘राजनीतिक दलले चुनावलाई ध्यान दिने होइन ।
संगठन विस्तारमा ध्यान दिनुपर्छ । तर, प्रमुख दलहरूले वर्षौदेखि अवसर र पदलाई मात्रै ध्यान दिए । भदौ २३ गते भएको आन्दोलन दलविरुद्ध थियो ।’ आफूहरूका लाखौँ कार्यकर्ता भएको बताउने नेपाली काँग्रेस र नेकपा एमालेसहितका प्रमुख दलले देश जल्दासमेत बचाउन नसकेको आरोप लगाए । पछिल्लो तीन दशकमा नेपालको राजनीतिमा धेरै काण्डहरू भएको उनले बताए । यो अवधिमा भएका धेरै यस्ता देशविरोध कामको आफ्नो पार्टीले खुलेर विरोध गर्दै आएको उनको भनाइ थियोे ।
सचिव सुवालले जनताको प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताएका थिए । जनताको प्रजातन्त्रमा मजदुर किसानहरूले शासन गर्ने उनले बताए । नेमकिपा समाजवादको मूल मुद्दासहित क्रियाशील रहेको उनले बताए । समाजवाद हुँदै साम्यवादतर्फ पुग्नको लागि आफ्नो पार्टीले लामो समयदेखि संघर्ष गरिरहेको सुवालको भनाइ छ । वर्गविहीन समाजको परिकल्पना नै साम्यवाद भएको उनले बताएका थिए । उक्त अवसरमा भदौ २३ गते सरकारले आन्दोलनकारी माथि दमन गरेको र २४ गतेको आन्दोलनमा घुसपैठ भएको दाबीसमेत गरे ।
तोडफोड र आगजनीका दोषीमाथि कडा भन्दा कडा कारबाहीको समेत उनले माग गरेका छन् । आन्दोलनका विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार रूपमा अभिव्यक्ति दिइरहेको उनले आरोप लगाए । नेपालमा नेपाली सेनाका कारण तीन जना प्रधानमन्त्रीले राजीनामा दिनु परेको इतिहास रहेको समेत उनले बताए । वर्तमान संविधान मजदुर किसानहरूको पक्षमा नरहेको भन्दै संशोधन हुनुपर्नेमा नेता सुवालले जोड दिए ।
संविधान जारी गर्दा नै नेमकिपाले ७१बुँदे संशोधन प्रस्ताव राखेको र बहुमतको आडमा तीन प्रस्ताव अस्वीकृत गरिएको स्मरण गरे । ‘हामीले निःशुल्क विद्यालय शिक्षाको माग गरेका थियौँ । नागरिकलाई अनिवार्य सैनिक तालिमको माग गरेका थियाँै । भ्रष्टाचार लगायतका कसुरमा मृत्युदण्ड हुनुपर्ने हाम्रो माग थियो, तर ठूला दलले बहुमतको आडमा अस्वीकृत गरे । हामीले जनतासँग स्पष्ट रूपमा हाम्रा कुरा राखेका छौँ,’ उनले भने ।
सम्मेलन पूर्व कोहलपुरमा ¥याली आयोजना गरिएको थियो । ‘इजरायली सरकारद्वारा प्यालेस्टाइनको नरसंहार र भूमी कब्जा बन्द गर । युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती बन्द गर । भारतीय विस्तारवाद् मुर्दावाद । अमेरिकी साम्राज्यवाद मुर्दावाद र युक्रेनमा रूसविरूद्ध अमेरिकाको छदम युद्व बन्द गर’ भन्ने लगायतका नारासहित नेता कार्यकर्ताहरूको उपस्थितिमा ¥याली आयोजना गरिएको थियो । नेपाल मजदुर किसान पार्टी बाँकेका नेता बखत बहादुर थापाका अनुसार आज सम्मेलनले बाँकेको नयाँ नेतृत्व चयन गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्