कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन भोली हुँदैछ । आगामी कार्यकालका लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी चुनावी मैदानमा छन् । दुवै समूह अहिले व्यापक चुनावी अभियानमा सक्रिय रुपमा लागिरहेका छन् । यसपटकको चुनावमा साझा प्यानलको तर्फबाट महासचिवको उम्मेदवार नविन खड्का रहेका छन् । आसन्न निर्वाचनको सेरफेरोमा केन्द्रीय रहेर मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानी :-
१. निर्वाचनको तयारी कत्तिको भइरहेको छ ?
निर्वाचनको तयारी आ–आफ्नो तर्फबाट भइरहेको छ । हामीले विगत एक सातादेखि घनिबुत ढंगले तयारी गरिरहेको अवस्था छ । अहिलेको अवस्थामा निर्वाचनको तयारी चरमचुलीमा पुगिसकेको भन्न सकिन्छ । हाम्रो तर्फबाट गर्नुपर्ने तयारी समेत भइसकेको छ । आजसम्म अन्तिम दिन हो । निर्वाचनको प्रचारको अन्तिम दिन आज घरदैलो र भेटघाट कार्यक्रम नै हुनेछ । भोट माग्ने काम भइरहेको छ । त्यसपछि सिधै नतिजाको पखाई हुनेछ ।
२.साझा समावेशी व्यवसायी प्यानलको प्रमुख चुनावी एजेण्डा के हो जानकारी गराइदिनुहोस न ?
साझा प्यानलको प्रमुख चुनावी एजेण्डा भनेको सम्पूर्ण व्यवसायीहरुको एकता हो । कोहलपुरमा सबैभन्दा ठूलो समस्याका रुपमा यही नै रहेको छ । सम्पूर्ण व्यवसायीहरु एकताबद्ध रुपमा अघि बढ्न सकेका छैनन् । सबैजनालाई एकैथलोमा ल्याएर आउन हाम्रो पहल हुनेछ । व्यवसायीमा रहेका मनमुटाव अन्त्य गरिनेछ । उद्योग वाणिज्य संघको अहिले सम्मको नेतृत्वले व्यवसायीलाई एकजुट बनउन सकिरहेको छैन । त्यसको लागि हामीले जितेर आएमा सबैभन्दा पहिला यस विषयमा केन्द्रीत भएर काम गर्नेछौ । संघ र व्यापारीहरुबीचको दुरी अन्त्य गर्ने हाम्रो अवधारणा हो । त्यही अवधारणा बोकेर व्यवसाय मैत्री संघ बनाउनुपर्छ । यस्तै प्रविधियुक्त उद्योग वाािण्ज्य संघ बनाउनु पर्छ भन्ने मान्यता हो । त्यहाँ रहेका विकृति र विसंगतिहरुलाई हामीले न्युनिककरण गर्दै जानेछौ । स्वच्छ र नेपाल मै नमूनायुक्त उद्योग वाणिज्य संघ बनाउने उद्देश्य हो ।
३.घरदैलो अभियानको क्रममा व्यवसायीहरुले गर्ने गुनासा र दिने सुझाव के हो ?
साना व्यवसायीहरुको समस्या भनेको, घरभाडा र घरबेटीबीचको मदभेद हो । अर्को समस्या भनेको घुम्ती व्यवसाय हो । रुपैडियाबाट सामना बोकेर यहाँ झोलामा व्यापार गर्नेहरु हुन् । उनीहरुले सस्तो दरमा सामान बेचिदिनाले भाडामा बसेका, बत्ती र बिजुलीको बिल तिर्नुपर्नेहरु मारमा परेका छन् । अव्यवस्थित बजार पनि ठूलो समस्याका रुपमा रहेको छ । अन्य धेरै समस्याका बीच कोहलपुरका व्यवायीहरु गुज्रिरहेको अवस्था छ ।
४.यस्ता प्रकारका समस्या समाधानका लागि तपाईहरुको योजना के छ ?
हाम्रो उद्देश्य र लक्ष्य भनेको साना वा ठूलो व्यवसायी नभनेर सबैलाई समान रुपमा अघि बढाउने हो । सानालाई पाखा र ठूलालाई काखा गर्ने प्रवृत्ति छ । यसलाई हामी मेटाउन चाहन्छौ । उद्योग वाणिज्य संघ भनेको सम्पूर्ण व्यवसायीहरुको छाता संगठन हो । व्यवसाय प्रवद्र्धनका लागि साना तथा मझौला व्यवसायीहरुको समस्या समाधान नगरिकन, व्यवसाय बलियो नबनाइकन सिंगो राष्ट्रको उन्नती हुन सक्दैन । कोहलपुरको हकमा फुटपातमा व्यवसाय गर्नेहरुलाई व्यवस्थित बनाउने योजना रहेको छ । यसको लागि स्थानीय सरकार, प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघबीच समन्वय हुन आवश्यक देखिन्छ । यी समस्या समाधानको जिम्मा हामी लिन्छौ । हामी त्यो ल्याकत पनि राख्छौ । हामीसँग भिजन समेत छ ।
५.कोहलपुर उद्योग वाणिज्य संघमा तपाईको उम्मेदवारी के का लागि हो ?
मेरो उम्मेदवारी उद्योग वाणिज्य संघलाई उद्योगीहरुले अपनत्व ग्रहण गर्न सक्ने बनाउन भूमिका खेल्ने नै हो । उद्योग वाणिज्य संघ हाम्रो हो भन्ने बनाउनेछु । अर्को कुरा प्रविधियुक्त उद्योग वाणिज्य संघ बनाउने मेरो प्रमुख लक्ष्य हो । त्यसैले पनि मैले उम्मेदवारी दिएको हो । अहिले पनि उद्योग वाणिज्य संघमा पुराना फाइल भेटिदैनन् । त्यसलाईलाई व्यवस्थित बनाउन आवश्यक छ । त्यसको शुरुवात म गर्न चाहन्छु । सम्पूर्ण व्यवसायीहरुको कर तिरेको,कागजातहरु सुरक्षित गर्ने र सम्पूर्ण कुरालाई प्रविधिसँग जोड्नको लागि मैले उम्मेदवारी दिएको छु । उद्योग वाणिज्य संघलाई पारदर्शी बनाइनेछ । आर्थिक अपचलन रोक्ने कुरामा म दृष्ढताका साथ अघि बढ्ने प्रण गर्न चाहन्छु । म प्रतिबद्धता व्यक्त गर्छु, हाम्रो प्यानल र मैले जितेर त्यो कार्यकाल स्वर्णीम बनाउनेछौँ । नेपाल कै नमूना बनाउन लागि पर्नेछौ ।
६.तपाईले उठाएका सवाललाई मतदाताहरुले पत्याउलान्, कत्तिको विस्वस्त हुनुहुन्छ ?
यसमा म त पूर्ण विस्वस्त छु । म २०–२२ वर्षदेखि कोहलपुरमा व्यापार गर्दै आएको छु । म पनि सानो व्यवसायबाट दुःख गरेर यो स्थानसम्म आइपुगेको मान्छे हो । अहिले मैले व्यवसायीहरुको हितको लागि आफूले सकेजति क्षमताले भ्याएसम्म सहयोग गर्दै पनि आइरहेको छु । सौहार्द पूर्ण सम्बन्ध छ सबैसँग । मैले यस क्षेत्रमा धेरै जानकारी पनि हासिल गरेको छु । जुन म उद्योग वाणिज्य संघमा गएर देखाउन चाहन्छु । त्यसको लागि मलाई मतदान गर्न विनम्र अनुरोध छ । साना र ठूला व्यवसायीहरुका दुःख मैले बुझेको छु । त्यही कुरा मैले गरेको छु, व्यवसायीहरुसँग । उहाँहरुले पनि उत्साह दिनु भएको छ ।मलाई विस्वास छ । मलाई जिताउनुहुनेछ ।
७. साझा समावेशी व्यवसायी प्यानलले निर्वाचन जित्ला ?
साझा प्यानलले अवश्य जित्छ । भारी बहुमतका साथ विजयी हुन्छौ भन्ने हाम्रो विस्वास छ । हाम्रा एजेण्डा छन् । योजना र कार्यदिशा छन् । लामो समय यही क्षेत्रमा बिताएका व्यवसायी छौँ । पूर्ण टिम भएकोले विजय हालिस गर्छौ भन्ने आशा छ ।
८. यदि साझा प्यानलले जित्यो भने अर्को पक्षलाई कसरी समेटेर लैजानुहुन्छ ?
सही प्रश्न गर्नुभयो । जुनसुकै प्यानलबाट भाग लिएपनि हार र जित स्वाभाविक हो । त्यो नतिजा सबैले स्वीकार गर्नुपर्छ । हामीले जितेर उद्योग वाणिज्य संघमा गयौ भने जो पराजय भोग्ने समूह हुन्छ,उहाँहरुलाई समेत हरेक कुरामा समेटेर, सहकार्य र समन्वय गरेर हामी अघि बढ्ने छौ । अभूत पूर्व सहमतिका साथ अघि बढ्ने छौ । आवश्यकतामा आधारित रहेर अर्को पक्षले उठाएका मद्दामा समेत हामी सहमति गरेर कार्यान्वयन गर्नेछौ ।
प्रतिक्रिया दिनुहोस्