काठमाडौँ ।
हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ ।
आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो ।
बायाँहाते ब्याटर मक्सुद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन् ।
कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले अलराउन्डर मक्सुदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए । ‘मक्सुद अनभुवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ ।’
मक्सुदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताएका छन् । उनले ओमानका लागि ४८ एकदिवसीयमा १ हजार २ सय ७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी–२० खेलमा १ हजार ३ सय ६९ रन बनाएका छन् ।
त्यस्तै, बलिङतर्फ टी–२० आईमा ५१ विकेट लिएका छन् ।
कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा चर्चित खेलाडी हुन् । त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् ।
मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्