बाँके ।
राप्ती सोनारी गाउँपालिकाको १६औँ गाउँ सभाले विभिन्न कार्यविधि, नीति, मापदण्ड र ऐन संशोधन पारित गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा सम्पन्न गाउँ सभाले विभिन्न कार्यविधि, नीति, मापदण्ड र ऐन संशोधन पारित गरेको थियो ।
सभाले विभिन्न कार्यविधि, नीति, मापदण्ड र ऐन संशोधन गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–४ का वडाध्यक्ष मीनराज खड्काले जानकारी दिए । गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म अनुरूप मर्यादित, सरल, सर्वसुलभ एवम् कानुनी सम्बन्धमा व्यवस्था गर्नका लागि ८ वटा कार्यविधि, एक-एक वटा नीति, मापदण्ड संशोधन र ऐन संशोधनका लागि विधायन समितिका संयोजक रामलखन थारूले सभामा पेस गरेका थिए ।
सभामा उपस्थित भएका सदस्यले सबै कार्यविधि, नीति, संशोधित मापदण्ड र संशोधित ऐनलाई सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता खड्काले बताए । सभाले गाउँ प्रहरी (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी कार्यविधि, राप्ती सोनारी गाउँपालिकाको शिक्षक तथा कर्मचारी छनोट कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको भू–उपयोग मापदण्ड २०८१ र आधारभुत अस्पताल स्थापना तथा सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गरेको छ ।
यस्तै राप्ती सोनारी आधारभूत अस्पताल व्यवस्थापन समिति गठन तथा सञ्चालन कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक–निजी साझेदारी नीति २०८१ सभाले स्वीकृत गरेको थियो ।
राप्ती सोनारी गाउँपालिका क्षेत्रको निजी जग्गाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, माटो तथा खनिज जन्य प्राकृतिक स्रोत साधन (संकलन र उपयोग) बिक्री वितरणसम्बन्धी मापदण्ड २०८१ (पहिलो संशोधन), राप्ती सोनारी गाउँपालिकाको (स्थानीय वन ऐन २०७८) पहिलो संशोधन २०८१, राप्ती सोनारी गाउँपालिकाको बाल विवाह मुक्त अभियान सञ्चालन कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको बालश्रम मुक्त घोषणा कार्यविधि २०८१, राप्ती सोनारी गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०८१ र राप्ती सोनारी गाउँपालिकाको बाल अधिकार कार्यान्वयन गर्न बनेको कार्यविधि २०८१ पनि सर्वसम्मत रुपमा स्वीकृत भएको प्रवक्ता खड्काले बताए ।
सभामा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारू, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्