१. नेपाल रेडक्रस सोसाइटी उप–उपशाखा कार्यालय कोहलपुरको सभापति भएर काम गर्दा आफ्नो कार्यकाल कस्तो रह्यो भन्ने लाग्छ ?
अब आफैँले आफ्ना बारेमा त के भन्नु ! तर म मेरो कार्यकालमा भएका कामहरूबाट सन्तुष्ट छु । म जुन सामाजिक तथा मानवीय सेवा भावका साथ यो संस्थाको नेतृत्व गर्न आइपुगेको थिएँ त्यो पूरा भएको छ भन्ने मलाई लाग्छ ।
अब सामाजिक र मानवीय कार्यको कुनै सीमा त हुँदैन । तर पनि यहाँको स्र्रोतसाधनको सीमितता र वस्तुस्थितिअनुसार मैले जुन–जुन काम गर्छु भनेको थिएँ ती पूरा भएका छन् ।
२. तपाईं आएपछि नयाँ उल्लेखनीय काम के–के भए त ?
हामीले यहाँ एउटा रक्त सञ्चार केन्द्र स्थापना गर्न चाहेका थियौँ । म नेतृत्वमा आउनुको प्रमुख उद्देश्य नै यही थियो । हामीले सो केन्द्रको स्थापना गरेर शुक्रबार उद्घाटन पनि गर्न सफल भएका छौँ । अब यो केन्द्र सञ्चालनमा आएको छ । केन्द्रमार्फत धेरै जनाले सेवा प्राप्त गर्न सक्नुहुनेछ ।
अर्को हामीले मेडी बैंक पनि स्थापना गर्ने सोच बनाएका छौँ ।
सर्वसाधारण नागरिकका लागि सुलभ तरिकाले औधषी उपलब्ध गराउने उद्देश्यले मेडी बैंक स्थापना गर्न लागिएको हो । यो काम अब आउने कार्यसमितिका साथीहरूले सम्पन्न गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु । हामीसँग यसका लागि सबै पूर्वाधार तयार छन् अब सञ्चालनमा ल्याउन मात्र बाँकी छ ।
३. यहाँ स्थापना गरिएको रक्त सञ्चार केन्द्रबाट बिरामीले के कस्ता सुविधा पाउँछन् ?
रक्त सञ्चार केन्द्रको स्थापनाले यो क्षेत्रका नागरिकलाई ठूलो राहत मिल्नेछ । अब यस क्षेत्रका नागरिकले कुनै पनि किसिमका रगतको अभाव झेल्नु पर्दैन ।
केन्द्र स्थापनाबाट हिजो रगतका लागि नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । रगत संकलनका लागि डोनरहरू तयार हुनुप¥यो । त्यसलाई छुट्याउने, सुरक्षित राख्ने र वितरण गर्ने कुरामा अब कुनै समस्या हुँदैन ।
४. अब अर्को कार्यकालका लागि पनि दोहोरिने विचार छ कि नयाँ साथीहरूका लागि मार्गप्रशस्त गरिदिनुहुन्छ ?
मैले आफ्नो एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छु । त्यसैले दोहोरिएर आउने चाहना मेरो छैन । फेरि मेरो व्यक्तिगत चाहनाले मात्र पनि नेतृत्व चयन हुने कुरा पनि होइन । भेलाले निर्णय गर्ने कुरा हो । यो एउटा सामाजिक संंस्था हो । कुनै लाभ लिने उद्देश्यले यहाँ आउने होइन । यो संस्थामा जो आए पनि सामाजिक सेवाभावले आउनुपर्छ ।
५. आफ्नो कार्यकालमा गर्न नसकेका के–के कामहरू आगामी कार्यसमितिमा आउने साथीहरूले गरुन् भन्ने लाग्छ ? उनीहरूका लागि तपाईंकोे सुझाव के छ ?
रेडक्रसका आफ्नै नीति सिद्धान्तहरू छन् । त्यसैमा रहेर काम गर्ने हो । यहाँ गर्नुपर्ने काम त थुप्रै छन् । तर यहाँको साधन स्रोतको सीमितताका कारण गर्न सकिने काममा मात्र हात हाल्ने हो ।
अब आउने साथीहरूले हामीले थालेका कामलाई सुचारु ढंगले सञ्चालन गरिदिए पनि पर्याप्त हुन्छ । हाम्रो उप–शाखा स्थापनाकालदेखि नै जिल्लामै उत्कृष्ट उप–शाखा कार्यालय रहँदै आएको छ ।
६. रेडक्रसले गर्ने सामाजिक कामहरूमध्ये कोहलपुर उप–शाखा कार्यालयले के–के काम गर्दै आएको छ ?
हामीले एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्दै आएका छौँ । अबदेखि रक्त सञ्चार केन्द्रमार्फत पनि नियमित रगत संकलन र वितरणको काम हुन्छ । त्यस्तै, विभिन्न प्रकोपहरूका बेला पनि हामीले उद्धार तथा राहत वितरणका काम गर्दै आएका छौँ ।
फस्र्ट एड ट्रेनिङ दिनेदेखि विद्यार्थीहरूलाई सामाजिक सेवामा अभिमुखीकरण गर्ने काम हुँदै आएको छ । वार्षिक क्यालेन्डर बनाएरै हामीले काम गर्दै आइरहेका छौँ ।
७. रेडक्रस जस्तो विशुद्ध सामाजिक संस्थामा पनि राजनीतिक प्रतिनिधित्वका आधारमा नेतृत्व चयन हुने गरेको पाइन्छ । के यो जायज छ त ?
यो विशुद्ध सामाजिक संस्था हो । यहाँ आउने व्यक्तिहरू जो सुकै भए पनि सेवा भावले नै आउने हो । सामाजिक संघसंस्थामा राजनीतिक हुनु त राम्रो होइन भन्ने नै लाग्छ । तर पनि यहाँ आएपछि सेवालाई नै प्रमुखताका साथ अगाडि बढाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्