डा. हेमसागर बराल चरा विज्ञ हुन् । नेपालमा चराका विषयमा पहिलो विद्यावारिधि गर्ने डा. बराल नै हुन् । त्यसपछि पनि निरन्तर रूपमा डा. बराल चराकै विषयमा खोज अनुसन्धानमा तल्लीन छन् । चरा हेर्नु अब त आफ्नो लतजस्तै बनिसकेको उनी बताउँछन् । उनी भन्छन्– ‘चरा हेर्नु अब त मेरो शारीरिक–मानसिक स्वास्थ्यका लागि पनि अनिवार्य जस्तै भइसक्यो । महिनामा एक–दुईचोटी दूरबिन लिएर चरा हेरिनँ भने त म डिप्रेसनमा जान्छु ।’ प्रस्तुत छ, उनै डा. बराल बाँके आएका बेला मिसन टुडेका सनत सापकोटाले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
डा. हेमसागर बराल । चरा विज्ञ ।
१. बाँके राष्ट्रिय निकुञ्जमा चराहरूको अवस्था र सङ्ख्या के कस्तो छ ? यिनीहरूलाई पर्या–पर्यटनका लागि कसरी उपयोग गर्न सकिन्छ ?
बाँके राष्ट्रिय निकुञ्जमा लगभग ३ सय प्रजातिका चराहरू रहेको पाइएको छ । चरा मात्र नभएर यहाँ अन्य विभिन्न प्रजातिका जनावरहरूसमेत छन् । बाँके राष्ट्रिय निकुञ्जमा चुरे पहाडमा पाइने चराका प्रजातिहरू प्रशस्त देख्न सकिन्छ ।
यो पर्यटकहरूका लागि प्रमुख आकर्षण बन्न सक्छ । त्यसैगरी बाँकेमा बाघको सङ्ख्या पनि बढेको छ । त्यस्तै अन्य जनावरहरू (जसलाई चौका भनिन्छ)पनि बाँकेमा हेर्न पाइन्छ । त्यसैले वन्यजन्तु तथा पन्छीका कारण पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज एउटा राम्रो मुकाम बन्न सक्छ ।
२. अन्यत्र नदेखिने, नभेटिने प्रजातिका चराहरू पनि बाँके राष्ट्रिय निकुञ्जमा पाइन्छन् ?
हो, हामीसँग ‘युनिक सेलिङ प्वाइन्ट’हरू के–के छन् त्यसलाई उजागर गर्नुपर्छ । यहाँ चराहरूको साँच्चिकै ठूलो ‘एक्सप्mलोर’ चाहिँ भएको छैन । अहिले हामीले ३ सयजति चराका प्रजाति यहाँ पाएका छौँ । तर ५ सय वर्गकिलोमिटर (मध्यवर्ती क्षेत्रसहित) क्षेत्रफल भएको बाँके जस्तो राष्ट्रिय निकुञ्जमा यति मात्रै नहुनुपर्ने हो ।
मेरो विचारमा यहाँ ४ सयदेखि ४ सय ५० प्रजातिका चरा हुनुपर्छ । उत्तरमा बबई, दक्षिणमा राप्ती नदी छ त्यसो भएकाले यहाँ जलपन्छी पनि राम्रै सङ्ख्यामा होलान् । यहाँ मुख्यगरी चुरे शृंखलामा पाइने वनमा आश्रित पन्छीहरूको आधिक्यता छ ।
जुन कुरा हामीले राम्रोसँग एक्सफ्लोर गर्न सकेका छैनौँ । जस्तो एउटा चाँदीकाने मिसिया भन्ने चरा छ जुन बर्दियामा देखिएको छ । त्यो बाँकेमा पनि देखिन सक्ने प्रशस्त सम्भावना छ । त्यस्तै राजधनेस । राजधनेस यहाँ पनि देखिएको छ । तर त्यो कहाँ बस्छ । कता बढी आउजाउ गर्छ थाहा पाउन सकिएन र पर्यटकलाई देखाउन सकिएन भने त्यसको अर्थ रहँदैन ।
३. बाँके राष्ट्रिय निकुञ्जमा पर्या–पर्यटनको सम्भावना कत्तिको देखिन्छ ?
बाँकेमा यसको सम्भावना प्रचुर रहेछ । यहाँ राँझा एयरपोर्टमा प्लेनबाट खुत्रुक्क झरेर सजिलै आउन सकिन्छ । बाँकेको कुरा गर्दा मलाई एउटा घटना सम्झना हुन्छ । सन् १९७० को दशकमा बाँकेको जंगलबाट मुसे मृगको हड्डी विदेशीले लगेका छन् । यसको रेकर्ड पनि बाँकेको वनबाटै छ । अब त्यो बाँकेको कुन क्षेत्रको वन हो भन्न सकिन्न ।
यो प्रजाति नेपालमा अहिले लोप भइसकेको मानिन्छ । अर्को इन्ट्रेस्टिङ कुरा पनि तपाईंलाई सुनाउँ, नेपालमा एकसिंगे गैँडाको पहिलो तस्बिर नै बाँकेबाट खिचिएको छ । विदेशीहरूले खिचेको त्यो श्यामश्वेत तस्बिर मेरो हातमा पनि परेको थियो । यो करिब सन् १९२० तिरको कुरा हो । अहिले यहाँ गैँडा छैन । तर त्यतिबेला त रहेछ त ! भनेपछि बाँकेमा यस्ता खालका विविधता भेटिएको छ ।
४. बाँकेमा फेरि गैँडा आउनसक्ने सम्भावना छ कि छैन ?
अब बर्दियाबाट फेरि फर्केर आयो भने बाँकेमा पनि देखिने भयो । धेरै टाढा पनि छैन । बबई भ्यालीबाट फेरि पनि गैँडा बाँकेमा आउन सक्ने प्रशस्त सम्भावना म देख्छु । पहिला पनि बबई भ्यालीमै लगेर रिइन्टड्युस गरेको पनि त हो । जहाँ बाटै छैन त्यस्तो ठाउँमा समेत गैँडा पुगेको पाइएको छ । यहाँ त नजिक पनि छ र बाटो पनि छ ।
केही वर्षअघि चितवनमा गैँडाको सङ्ख्या वृद्धि भएपछि तीनवटा गैँडा बारा, पर्सा हुँदै निजगढ सहर काटेर रौतहटमा पुगेका रहेछन् । त्यो सहर बजार कटेर कसरी गैँडा त्यहाँसम्म पुगे ? अचम्म छ ! त्यसो भएकाले जनावरले आफ्नो बासस्थान आफैँ पहिचान गर्छन् र उनीहरूले पहिचान गरेको बासस्थान नै उत्तम पनि हुन्छ ।
बाँके र बर्दियामा यही त महत्वपूर्ण छ कि दुवै जोडिएका छन् । एकातिर अलिकति जनवारको सङ्ख्या बढ्नेबित्तिकै अर्कोतिर आउँछन् । बाँकेमा पनि त्यसैगरी बाघको सङ्ख्या बढेको न हो ।
५. पर्या–पर्यटनको विकासका लागि बाँकेमा कत्तिको प्रयासहरू भइरहेको पाउनुभएको छ त ?
हुनुपर्ने जति अन्वेषण त पक्कै भएको छैन । यसको इतिहास नै छोटो भएकाले पनि यसतर्फ सम्बन्धित निकायको जति ध्यान जानुपर्ने हो जान नसकेको होला । पछिल्लो समय संरक्षण र पर्या–पर्यटनमा लागेका जेडएसएल, हिमाली नेचर, इलमजस्ता संस्थाहरू कोहलपुरलाई नै आधार बनाएर बसेका छन् । यसले पनि अन्वेषणका लागि केही प्रयासहरू भएका छन् । अझै धेरै गर्न बाँकी छ ।
६. जस्तो कोसीटप्पुमा विशेषगरी चरा हेर्नैका लागि पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यो सम्भावना बाँकेमा चाहिँ छ कि छैन ?
कोसीटप्पुमा सीमसार र घाँसे मैदान भएकाले जलपन्छीहरू बढी पाइन्छन् । तर यहाँ त्यति ठूला तालतलैया छैनन् । त्यसैले कोसीकै जस्तो चराको सम्भावना त नहोला । तर यहाँ वनमा आश्रित चरा प्रशस्त छन् । मैले अघि पनि भनेँ चुरे शृंखलामा पाइने चराका प्रजाति यहाँ पाउन सकिन्छ । त्यस्तै चरा मात्र नभएर समग्र पन्छी मात्र नभएर वन्यजन्तुसमेत देखाउने गरी यहाँ पर्यटक आकर्षित गर्न सकिन्छ ।
७. चुरे क्षेत्रमा कस्ता प्रजातिका चरा पाइने सम्भावना हुन्छ ?
अब वनमा आश्रित भन्नेबित्तिकै रानीचराका विभिन्न प्रजातिहरू, भ्याकुर प्रजातिहरू नै हुन् । तोरीगाँडाका केही प्रजाति पनि यहाँ हुन सक्छन् । माथि–माथि जाने हो भने अहिलेसम्म नभेटिएका नयाँ प्रजातिका चरा पनि भेटिन सक्छन् । राजधनेस, अर्को सानो कालो धनेस पनि यहाँ देखिएका छन् । चिबेका पनि विभिन्न प्रजातिहरू छन् । कोकलेका विभिन्न भेराइटी पनि यहाँ देख्न सकिन्छ ।
तराईका जति पनि संरक्षित क्षेत्र छन् तिनीहरूमध्ये चरामा सबैभन्दा कम अन्वेषण गरिएको क्षेत्र बाँके नै पर्छ । यो निकै पछि स्थापना भएर पनि हो । यहाँ अन्वेषण गर्ने हो भने थुप्रै सम्भावना छन् ।
८. तपाईंले चराकै विषयमा विद्यावारिधि पनि गर्नुभएको छ, त्यसपछि पनि चराका विषयमा थप खोज अनुसन्धान गरिरहनुभएकै छ । यो मोह कसरी पलायो ?
वास्तवमा म केही फरक गर्न चाहन्थेँ । नयाँ गोरेटो कोर्न चाहन्थेँ । चराका विषयमा एकेडेमीकल्ली साउन्ड भएको मान्छे वा युनिभर्सिटी डिग्री भएका मान्छे थिएनन् । नेपालमा यस विषयमा मभन्दा अघि कसैले पनि वैज्ञानिक खोज अनुसन्धान गरेका रहेनछन् । एक जना हरिशरण नेपाली काजी भन्ने व्यक्ति हुनुहुन्थ्यो ।
उहाँले औपचारिक शिक्षा खासै नभए पनि चराका विषयमा ठूलो ज्ञान राख्नुहुन्थ्यो । हामी जन्मनुभन्दा अघिदेखि उहाँले यसमा स्वेच्छाले काम गर्नुभएको रहेछ । उहाँ अहिले बितिसक्नुभयो । अन्यथा यस विषयमा खोज अनुसन्धान खासै भएको थिएन । त्यसैले यसमा गोरेटो, बाटो बनाउन सकिन्छ, कसैले त बनाउनुप¥यो भनेर म यतातिर आकर्षित भएको हुँ ।
९. अन्त्यमा एउटा अनुभूतिजन्य प्रश्न, यहाँले जीवनभरि चराहरूसँगको संगत गर्नुभयो, भनौँ अध्ययन अनुसन्धानमा लागिरहनुभयो । यसबाट तपाईंमा व्यावसायिक सफलता असफलताभन्दा पनि कस्तो आत्मिक सन्तुष्टि मिलिरहेको छ ?
साँच्चै भन्ने हो भने यो एउटा त एकेडेमिक कुरा हो । आफ्नो फिल्डमा म गहिरो खोज अनुसन्धान गर्छु केही योगदान गर्छु भनेर जाने । अर्को कामबाट प्राप्त हुने आत्मिक–मानसिक शान्तिको कुरा पनि हो । अब चरा हेर्नु मेरो मानसिक शान्तिको कुरा भयो । मेरो शारीरिक–मानसिक स्वास्थ्यका लागि पनि अब यो नभई नहुने कुरा भइसक्यो । महिनामा एक–दुईचोटी दूरबिन लिएर चरा हेरिनँ भने त म डिप्रेसनमा जान्छु ।
म जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल)नेपालको राष्ट्रिय प्रतिनिधि भएर काम गरेँ । नेपालमा मैले नै यो संस्था भित्र्याएको हुँ । गत वर्ष म त्यहाँबाट बिदा लिएँ । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको राष्ट्रिय प्रतिनिधि भएर घुम्ने मेचमाथि बस्ने कुर्सीले पनि मलाई लोभ्याइरहन सकेन । त्यो गरिमामय पदले पनि मलाई आकर्षित गरिरहन सकेन ।
प्रतिक्रिया दिनुहोस्