नमुना वडा बनाउन वडाबासीको सहयोग अपेक्षित छ



प्रशान्त श्रेष्ठ । ७ नम्बर वडाध्यक्ष, नेपालगन्ज उपमहानगरपालिका ।

 

वडा नम्बर ७ मा अहिलेसम्म हासिल भएका उपलब्धिहरू के–के छन् ?

सबैभन्दा पहिला हाम्रो वडा नम्बर ७ एकदम डुबान क्षेत्रको रूपमा थियो । भगवान तलाउ आसपास, प्रगतिशील मार्गलगायतका ठाउँमा डुबान भइरहन्थ्यो । हामीले ड्रोनकोमार्फत पानी बग्ने एरियाको एन्नालाइसिस गरायौँ । यो पञ्चायत कालदेखि पानी जम्ने गरेको ठाउँ हो । चन्द्रकला गुरुङको घरदेखि एकता नेपालीको घरसम्मको ठूलो नाला हामीले बनायौँ । भगवान तलाउको आसपास जुन सरकारी जग्गामा स्वास्थ केन्द्र छ । त्यो स्वस्थ केन्द्र पनि चालू अवस्थामा थिएन ।

अस्तव्यस्त बनेको त्यो स्वस्थ कार्यालयलाई समेत हामीले व्यवस्थित बनायौँ । त्यहाँ लागूऔषध सेवन गर्नेहरूको गढ बनेको थियो । पÞmोहोर मैला जम्ने गरेको थियो । सबै पÞmोहोर मैला सफा गरेर खण्डर जस्तो भवनलाई फेरि स्वस्थ कार्यालयको रूपमा स्थापित गरायौँ । त्यो भन्दा पहिला भाडाको भवनमा स्वस्थ केन्द्र राखिएको थियो । त्यो स्वास्थ केन्द्रलाई चारैतिरबाट वाल लगाएर सुन्दर र सेवाग्राहीका लागि सहज बनाइएको छ । त्यस्तै, बीपी मार्गदेखि पिपल चोकसम्मको बाटो पनि एकदम साँघुरो थियो ।

५०औँ वर्षदेखि बिस्तार हुन सकेको थिएन । गएको वर्षमा हामीले त्यो बाटो पनि काट्न लगायौँ । यहाँ नालीसहित छ मिटरको बाटो बनाइसकेको अवस्था छ । सो मार्गमा यसपालि हामीले २५ लाख रूपैयाँ बजेज बाहिरबाट ल्याएर कालोपत्रे नै गरिरहेका छौँ । त्यसैगरी अब ठाउँठाउँमा खाने पानी पाइप लगाइदिने सोच छ । पाइपहरू पनि हामीले किनेर ल्याइसकेका छौँ ।

सात वटा ठाउँमा खानेपानीको पाइप जडान गर्नेछौँ । वडामा हरेक काम सरल र सहज तरिकाले हुने गरेको छ । एकछिन पनि लिङिलङ हुँदैन । कर्मचारीलाई पनि राम्रोसँग मिलाएर राखेका छौँ । कुनै घुस ख्वाउनु पर्दैन । कुनै पनि कागजपत्र तयार गर्न झन्झट हुँदैन । वडा नम्बर ७ मा एकदम पारदर्शिता, जवाफदेहिता र शून्य भ्रष्टाचारको अवस्था छ । गर्मीमा अलिकति खानेपानीको समस्या हुन्छ भन्ने आम वडाबासीको गुनासो छ र हामीले उनीहरूको गुनासो सुन्नेबित्तिकै एक हप्ताभित्र खानेपानी पाइप मगाइसकेका छौँ ।

पानीको समस्या जुन तपाईंले बताउनुभयो यसलाई दीर्घकालीन रूपमा समाधानका लागि कस्तो योजना छ तपाईंसँग ?

पानीको समस्या वडा नम्बर ७ मात्र होइन । नेपालगन्ज उपमहानगरपालिका पालिका, कोहलपुरसम्म सबैतिर छ । गर्मीमा यी सबै क्षेत्रमा पानीको समस्या देखा पर्छन् । हामीले पर्यावरणको विरुद्ध प्रकृतिको विरुद्धमा जुन काम गर्छौं यी सबै कारणले गर्दा सुख्खा पर्ने गरेको छ । अर्को कुरा यो जुन रानी तलाउमा सरकारी खानेपानी छ यो पानी सफा गर्ने, के–के सफा गर्ने भनेर बोरिङ गरिएको छ ।

अब त्यो बोरिङले पनि जमीनको सारा पानी तानी दिन्छ । त्यो पानी रानी तलाउमा जान्छ । त्यसले वडा नम्बर ८ वालालाई राम्रो भए पनि हाम्रो ७ मा सुक्खा परेको छ । घरघरमा मान्छे बोरिङ गरिरहेका छन् । तमाम पानीको बोरिङ लागेको छ, बजारभित्रै । अब यसको अनुगमन के छ ? सुक्खा पर्छ कि पर्दैन ? उपमहानगरपालिकाले के गर्नुपर्ने हो त्यो त मलाई थाहा छैन । यी सबै कारणहरू हुन सक्छन् । अब हिजो जुन ताल तलैया र इनारहरू थिए ती सबै पुरिए । प्राकृतिक रूपमा जुन पानीको भण्डारण थियो सब स्रोतहरू नै बन्द भए । अनि सुख्खा पर्नु स्वाभाविक हो ।

अहिले तपाईंले भन्नुभयो, बोरिङहरू लगाउने काम भइरहेको छ । बजारमै पानीका उद्योगहरू खोल्ने गरिएको छ । यसलाई व्यवस्थापन गर्ने सक्ने बाटो के देख्नुहुन्छ ?

त्यो मेयर साहबले गर्नुपर्ने, बोर्डले निर्णय गर्नुपर्ने विषय हो । हाम्रो वडामा त हामीले एउटा पनि अनुमति दिएका छैनौँ । माग्न आएका थिए तीन चार जनाले हामीले दिएनौँ । यहाँ त एउटा घरको मान्छेले आफ्नो घरको प्रयोजनका लागि समरसेबुल लगाउन खोज्दा पूरा मोहल्लाम झगडा हुने अवस्था सिर्जना भएको छ ।

तपाईंको वडाको त्यस्तो कुनै उदाहरणीय काम छ जुन अन्य वडाले पनि कपि गरुन् वा देखासिखीमा आफ्नो वडामा पनि त्यो कामलाई अगाडि बढाउन सकून् ?

अब हामीले कुवाहरूको संरक्षण गर्ने र कुवाहरूको पानी तानेर लगभग १०–१० हजार लिटर पानी भण्डारण गरिरहेको अवस्था छ । त्यस्तै चौबीसै घण्टा शिव मन्दिरमा र अरू पनि तीन चार ठाउँमा पानी वितरण भएको छ ।

दमकलले अहिले हाम्रै वडाबाट पानी लगिरहेको अवस्था छ । शिव मन्दीरको माथी पानी भण्डारण गरेका छौँ । दमकलले पानी तानेर यहाँबाट लग्ने गरेको छ । यो एकदम उदाहरणीय काम हो । नेपालभरि कहीँकतै यस्तो काम भएको छैन होला, जहाँ एउटा वडाले बनाएको भण्डारणबाट दमकललाई पानी पूर्ति होस् । त्यस्तै, भूकम्पका लागि पनि हामीले जनचेतना फैलाइरहेका छौँ ।

तपाईंहरूलें नियमित सार्वजनिक सुनुवाइको कार्यक्रम गर्दै आउनु भएको छ । योभन्दा बाहेक तपाईंहरूले जनतालाई वडासँग जोड्न के–कस्ता प्रक्रिया अपनाउने गर्नुभएको छ ?

हामीले त जितेदेखि नै निरन्तर सार्वजनिक सुनुवाइ गर्ने गरेका छौँ । हामी यहाँ आएदेखि जनताले सबै सेवा सहज पाउने गरेका छन् । यहाँ आउँछन् बसेर चिया खान्छन्, काम गराउँछन्, खुसी भएर जान्छन् । कोही एक जना पनि यहाँबाट निराश भएर गएको तपाईं पाउनुहुन्न । यो मेरा लागि गर्वको कुरो हो । हरेक नागरिकलाई वडासँग जोड्ने प्रयास मैले गरेको छु ।

विधवा, अपांग भएका व्यक्ति हुन् वा अन्य म घरघरमा गएर सेवा दिने गरेको छु । उहाँहरूका गुनासा र सुझाव लिने गरेको छु । हामीले वडाबासीलाई सहज हुने वातावरण बनाइदिएका छौँ । यहाँ जो मुस्लिम महिलाहरू छन् उनीहरू घरबाट निस्किन गाह्रो मान्छन् । त्यसैले उनीहरूलाई पनि सहज बनाइदिएका छौँ । च्यारिटीमार्फत उनीहरूका बालबालिकालाई निःशुल्क पढाउने व्यवस्था मिलाएका छौँ । सामाजिक सुरक्षा भत्ता पनि एकदम सहज तरिकाले पाउने व्यवस्था मिलाएका छौँ ।

अहिले युवाहरू बेरोजगारीको समस्या झेलिरहेका छन् । तपाईंले युवाहरूलाई स्वरोजगार बनाउन के कस्ता नीति तथा योजनाहरू ल्याउनुभएको छ ?

अब त्यसमा हामिले खासै केही गर्न सकेका छैनौँ । तर हामिले जो ज्यालादारी मजदुरी गरेर खाने श्रमिक वर्ग छ उनीहरूलाई एक वर्षको बिमा गराइदिएका छौँ । ३ सय ८८ जनाको वडाले निःशुल्क बिमा गरिदिएको छ । ज्यान जोखिममा पारेर काम गर्नेहरूको बिमा गराएका छौँ । कस्तो बिमा भने पैसा फिर्ता नहुने तर उनीहरूलाई कुनै दुर्घटना वा समस्या आयो भने बिमाको २ लाख रूपैयाँ र १ लाख थप पाउने व्यवस्था छ ।

दुर्घटना भएर मृत्यु भयो भने परिवारले सवा २ लाख रूपैयाँ पाउँछन् । एक लाख बिमाको र एक लाख थप पाउँछन् । किरिया खर्चबापत २५ हजार पाउँछन् । लघु बिमा अहिलेसम्म लगभग दुई तीन वडामा मात्र भएको छ । सबैभन्दा पहिला हाम्रै वडाबाट सुरु भएको हो ।
जस्तै अन्य वडाहरूले आफ्नै वेबसाइट बनाउने, आफ्नै वडाको सोसल मिडिया पेज बनाउने र जनतालाई सूचना प्रवाह गर्ने र सुझाव संकलन गर्ने गरेका छन् । त्यसमा तपाईंहरूले के काम गर्नुभएको छ ?

हामीले वेबसाइट त सबै बनाइसकेका छौँ । तर त्यति राम्रोसँग सञ्चालन आउन सकेको छैन । त्यसमा हामीले अझै केही थपने र सजिलो बनाउने काम अगाडि बढाएका छौँ । तर प्रशान्त श्रेष्ठ नामबाट हाम्रो जुन पर्सनल पेज छ त्यसमा मैले वडाका सबै कामको सूचना दिने गरेको छु । वडाका अधिकांश जनता मेरो पेजमा जोडिएकाले उनीहरूलाई सूचना पाउन सजिलो भएको छ । त्यसमा मैले सार्वजनिक सरोकारका विषयहरू राख्ने गरेको छु र हरेक सूचना जनतासम्म पु¥याएको अवस्था छ ।

आर्थिक वर्षमा जुन बजेट छुट्ट्याइएको हुन्छ । त्यो तपाईंको वडालाई पर्याप्त हुन्छ ? पाएको बजेटमा काम गर्न सक्नुभएको छ ?

यो त एकदमै थोरै छ । सबैभन्दा थोरै बजेट हामीलाई दिने गरिएको छ । बजेटमा सबैभन्दा २३ नम्बर वडालाई थोरै छ । त्यसपछि हामीलाई सबैभन्दा थोरै छ । यो मेयर उपमेयर साब र उपमहानगरपालिकाका कर्मचारीहरूलाई थाहा होला कि किन त्यस्तो भएको । हामीले बारम्बार यसबारेमा ध्यानाकर्षण गराउने गरेका छौँ । ७ नम्बर वडालाई यो वर्ष जम्मा ६५ लाख रूपैयाँ बजेट आएको छ ।

यसमा मैले पूर्वाधारका काम गर्ने कि सेवा प्रवाहको कामलाई अगाडि बढाउने कि अन्य काम गर्ने ? करिब ३० लाख जति त आफिसियल कामका लागि खर्च हुने गरेको छ । यति कम बजेटमा मैले के विकास निर्माणका काम गर्दिने ? म पहिलोचोटि वडाध्यक्ष भएको मान्छे । मेरो माथिसम्म ठुलठुला मान्छेहरूसँग चिनजान पनि छैन । अन्य वडाध्यक्षजस्तै । उहाँहरूले संघ र प्रदेशबाट १०औं करोड बजेट ल्याउनुहुन्छ । हाम्रो यहाँ यस्तो अवस्था छैन । अब मेयर साबले आगामी वर्षमा बढाउने भन्नुभएको छ । हेरौँ के हुन्छ । आवश्यकता असीमित छन् तर बजेट सीमित छ ।

तपाईंलाई वडा नम्बर ७ मा अझै के–के काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?

तपाईंले अघि भन्नु भयो नि– युवा स्वरोजगारको कुरा । हो, यो कुराले मलाई निकै पीडा दिने गरेको छ । युवाहरू बेरोजगार भएकै कारण कुलतमा फस्ने र जीवन बर्बाद गर्ने गरेका छन् । उनीहरूलाई स्वरोजगार बनाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

त्यस्तै युवाहरूको विकासका लागि नेतृत्व विकास, क्षमता विकास, सीपमूलक तालिमलगायतका कार्यक्रम ल्याउन पाए राम्रो हुन्थ्यो । तर बजेट कम भएरै यी सबै काम गर्न पाएको छैन । उनीहरूलाई व्यावसायिक, प्रशासनिक तालिमहरू दिने र दायित्वबोध गराउने सोच छ । तर त्यो अहिले नै सम्भव छैन । अर्को वर्ष बजेट अनुसार गर्ने सोच छ ।

जनता र तपाईं कर्मचारीहरूले काम गर्न कतिको सहयोग गरेका छन् ?

जनता त एकदम राम्रा छन् । लगभग ८० प्रतिशत जनताले राम्रो नै भन्ने गरेका छन् । अब चुनावमा जुन मसँग प्रतिस्पर्धा गर्दा पराजित भए तिनीहरू तिनीहरूका परिवारलाई म नराम्रो लाग्नु स्वाभाविक होला तर अन्यले त राम्रै भनेका छन् । म दाबाका साथ भन्छु, ८० प्रतिशत जनताले मलाई राम्रो भन्ने गरेका छन् । कसैले सर्वे गर्न चाहन्छ भने पनि गरोस् । यदि मलाई नराम्रो भन्छन् भने म जे पनि गर्न तयार छु ।

रह्यो कुरा कर्मचारीको, मेरो यहाँ बेइमान कर्मचारी टिक्न सक्दैनन् । म आफैँ इमानदार मान्छे हो र यहाँ इमानदार नै बस्ने वातावरण छ । जति पनि कर्मचारी छन् ती एकदम इमानदार छन् । ५ पैसा पनि कसैको खाँदैनन् ।

मलाई लाग्छ यो २३ वटै वडामा सबैभन्दा शून्य भ्रष्टाचार भएको वडा यही हो । ५ पैसाको पनि घोटाला गर्न दिएको छैन । जनताको पनि ५ पैसा पनि फाल्तु खर्च गराउने र गर्ने गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिकाभित्र २३ वटै वडाका वडाध्यक्षमध्ये सबैभन्दा बढी वडामा बस्ने र सेवाग्राहीलाई सेवा प्रवाह गर्ने भनेको वडा नम्बर ७ नै हो । यो मेरो सिसी टिभी क्यामेरा साक्षी छ ।

अन्त्यमा वडाबासीलाई के सन्देश दिन चाहनुहुन्छ ?

म मेरो वडाबासीलाई के सन्देश दिन चाहन्छु भने वडाध्यक्षले मात्र गरेर वडा राम्रो बन्दैन । न वडा सदस्यहरूले मात्र गरेर राम्रो वडा बन्छ । यसमा सबै जनताको सहयोग हुनुपर्छ । हामीले बनाइदिएका सार्वजनिक स्थलहरूको संरक्षण गर्नु सम्पूर्ण जनताको दायित्व हो । तपाईंहरूले पÞmोहोर यताउता नफाल्दिनुस् । वडाध्यक्षले मात्र चाहेर नमुना वडा बन्दैन ।

तपाईंहरू चाहे जुन तप्का हुनुहुन्छ सबै जनाले आ–आफ्नो तहबाट वडालाई सहयोग गर्नुस् । त्यसपछि वडालाई नमुना वडाको रूपमा विकास गर्न सकिन्छ । सबैले हातेमालो र सहकार्य गरेपछि, आफ्नै सम्पत्ति जस्तो भावनाले काम गरेपछि मात्र नमुना वडा बनाउन सकिन्छ । विगतमा पनि तपाईंहरूले धेरै सहयोग गर्नुभएको छ, मैले बुझेको छु । आगामी दिनमा समेत तपाईंहरूबाट मलाई सहयोगको अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार