म्याराथनले नेपालगन्जको ब्राण्डिङ्ग गरेको छ : संस्थापक अध्यक्ष टिएस ठकुरी



नेपालगन्जमा विगत एक दशकदेखि अविछिन्नरूपमा सञ्चालित एकमात्र खेलकुद इभेन्ट हो नेपालगन्ज म्याराथन । यसको दशौँ संस्करण आज शनिबार नेपालगन्जमा हुँदैछ । नेपालगन्जको विपी चोकबाट सुरु भएर कोहलपुर चौराहाभन्दा केही माथि पुगेर पुनः नेपालगन्ज फर्केर समापन हुने म्याराथन बाँकेका दुई ठूला सहरलाई जोड्ने खेलकुद इभेन्ट समेत हो । नेपालगन्ज म्याराथन १०औँ संस्करणसम्म आइपुग्दा प्राप्त गरेका उपलब्धि, भोगेका चुनौति र देखेका सम्भावनाबारे म्याराथनका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष टिएस ठकुरीसँग मिसन टुडेका लागि वीरेन्द्र जैसीले गरेको संवाद ।

टिएस ठकुरी । संस्थापक अध्यक्ष, नेपालगन्ज म्याराथन

१. एक दशकको यात्रा पुरा गरेको नेपालगन्ज म्याराथनको अवधारणको बिजारोपण कसरी भएको थियो ?

म आफैँ पनि खेलाडी हुँ । मैले स्कुल जीवनमा भलिबल र टेबलटेनिस खेल्थें । टेबलटेनिसको म कलेज च्याम्पियन नै भएको थिएँ । यसरी म खेल क्षेत्रसँग सुरुदेखि नै नजिक थिएँ । काठमाडौँमा पत्रकारिताको काम गरिरहँदा करिब २०६१÷०६२ सालतिर पोखरा, धरानजस्ता सहरको नाम खेल क्षेत्रबाटै चिनिएको महसुस हुन्थ्यो । तर नेपालगन्जको नाम कतै आएको जस्तो लाग्थेन । आफ्नो खेले हुर्केेको सहरलाई चिनाउन केही गर्नुपर्छ भन्ने लाग्थ्यो । यही सोचाईले म खेलकुद इभेन्टतिर मोहित भएँ । त्यसै क्रममा काठमाडौँ म्याराथन हेर्ने अवसर पाइयो । जहाँ सहरबासीहरू एकै ठाउँमा भेला भएर एकाकार भएर सँगै दौडेको देखेर म अत्यन्त प्रभावित भएँ । त्यसमा सबैभन्दा बढी मन परेको कुरा चाहीँ म्याराथनले निर्माण गर्ने एकताको भावना हो ।

नेपालगन्जजस्तो विविधतायुक्त सहरका लागि म्याराथन त एक जोड्ने कडीको रूपमा काम गर्न सक्छ भन्ने मलाई लाग्यो । यसमा कसैले पनि विभेद्को महसुस गर्नुपर्दैन । यसमा कोही खेलाडी र कोही दर्शक हुँदैन । इच्छुक सबै यसमा भाग लिन पाउँछन् । सँगै दौडिन पाउँछन् । आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न पाउँछन् । हुन म बीचमा भलिबल लगायतका अन्य खेलकुद इभेन्टको व्यवस्थापनतिर पनि लागेँ । तर, पछि आएर यहाँको समाजलाई जोड्ने इभेन्ट त म्याराथन नै हुनसक्छ भन्ने लागेर यतातिर मोडिएँ ।

यसमा २०७२ सालमा संविधान जारी हुँदा जुन देशमा माहौल देखियो एक किसिमको एकताको भावनामा कमी आएको जस्तो । त्यतिबेला हामीलाई यो सही मौका हो भन्ने लाग्यो र १० वर्षे विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दिनलाई सम्झना गर्ने उद्देश्यले यसलाई आयोजना गर्नेगरी अघि बढ्यौँ । अहिले १० वर्षको अवधि भएको छ । यसलाई अझै व्यवस्थित बनाएर लैजानेगरी हामी काम गरिरहेका छौँ ।

२. जुन प्रभावको अपेक्षाका साथ म्याराथन आयोजनाको परिकल्पना गर्नुभएको थियो त्यसरी अहिले यहाँको समाजले ग्रहण गरेको महसुस गर्नुहुन्छ ?

नढाँटेर भन्दा सोचेजसरी समाजले यसलाई बुझेको छैन जस्तो लाग्छ । यसमा म फेरि समाजलाई दोष दिने पक्षमा छैन । किनकी हाम्रो समाजको चरित्र नै अलि बिस्तारै बुझ्ने रहेको छ । जसरी बाहिरका म्याराथनमा सहभागिता र उत्साहजनकरूपमा पूरा सहरले नै यसलाई मनाइरहेको पाइन्छ त्यस्तो यहाँ देख्न अझै पाइएको छैन । यद्धपि यो बिस्तारै बन्दै जाने कुरा हो । सकारात्मक मार्गमा समाजलाई लैजान अलि बढी धैर्यको आवश्यकता पर्छ भन्ने हामीले बुझेका छौँ ।

म्याराथनको संस्कृति र त्यो देशको विकासको जुन हाम्रो मानक छ त्यस आधारमा हेर्दा अमेरिकामा विश्वका सफल मानिएका मुख्य तीन म्याराथनहरू छन् । जहाँ हजारौँ मानिसहरू एकसाथ दौडमा सामेल हुन्छन् । त्यसकारण यसलाई समाजको विकासका अन्य आयामहरूमा पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । ओसाका म्याराथनभन्दा हामी एक वर्षमात्रै कान्छो हौँ । तर ओसाका म्याराथन विश्वका उत्कृष्ट ५० म्याराथनभित्र पर्छ होला । यसैगरी मुम्बई म्याराथन पनि हामी सँगसँगैको हो । त्यसको प्रगति पनि हाम्रोभन्दा धेरै राम्रो छ ।

३. यस १० वर्षमा म्याराथनले हासिल गरेका उपलब्धि के–के हुन् ?

यस दश वर्षमा हामीले यसलाई विश्व मान्यता दिलाउन सफल भयौँ । विश्व म्याराथनको छाता संस्था एम्सबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली म्याराथन भयौँ । यसैगरी म्याराथनमा इलेक्ट्रिक चिप्स प्रयोग गर्ने पनि हामी पहिलो हौँ । अहिले नेपाली व्यवसायिक धावकहरूले नेपालगन्ज म्याराथनलाई पर्खिबस्छन् ।

बरू अरु म्याराथनलाई समय नदिए पनि नेपालगन्ज म्याराथनलाई उनीहरूले छुटाउँदैनन् । यसले नेपालगन्जको ब्राण्डिङ्गमा ठूलो भूमिका खेलेको छ । देशको प्रबुद्ध वर्गमा नेपालगन्ज म्याराथनसँग जोडिएर सकारात्मक प्रभाव परेको छ । केही वर्षयता नेपालगन्ज कल्क्लेभमार्फत हामीले समाजका प्रबुद्ध वर्गलाई एक ठाउँमा ल्याएर समाजका विभिन्न पाटाहरूबारे बहस गराउन थालेका छौँ ।

यसले नेपालगन्जको सद्भाव खलबलिने सहरको परिचयलाई केही हदसम्म भएपनि छायाँमा पार्न भूमिका खेलेको छ जस्तो लाग्छ । यसैगरी पछिल्लो चोटी हामीले एम्सको वल्र्ड कंग्रेस नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गर्याैँ । त्यसमा एकदमै सम्मानजनक साथ पायौँ । जुन कुरा राज्यको चासो र जिम्मेवारीको कुरा पनि हो । एम्समा देश नभै म्याराथन आयोजकहरू सदस्य बन्ने व्यवस्था छ । त्यहाँ नेपालको तर्फबाट प्रस्तुत दाबेदारीले दोस्रो नम्बरमा साथ पाउनु आफैँमा गर्वको विषय हो भन्ने मलाई लाग्छ ।

४. म्याराथनलाई लिएर यहाँको निजी क्षेत्र र राज्यको बुझाई कस्तो छ ?

निजी क्षेत्रको साथ उत्साहजनक छ । हामीले त यसलाई सबैको साझा थलो बनाउन खोजेका छौँ । यसलाई त हामीले निःशुल्क विज्ञापन गर्ने थलो बनाउनुस भनेर आह्वान नै गरिरहेका छौँ । कर्पोरेट क्षेत्रले हामीलाई विश्वास गरेको छ । म राज्यलाई पनि दोष दिने पक्षमा छैन । तर एक आयोजकका हिसाबले र सृजनात्मक कर्मबाट सहरलाई चिनाउन प्रयत्नरत गरिरहेको टिमको नेतृत्वकर्ताका हिसाबले केही अपेक्षा पनि हुँदो रहेछ ।

जस्तो हामीले वल्र्ड कंग्रेसमा दाबेदारी गरिरहँदा नेपालगन्जको मेयरले ल है हामी साथमा छौँ भनेको भए कति हौसला महसुस हुन्थ्यो होला । हुन त उक्त इभेन्ट नेपालमा गर्दा हामीले ४०, ५० लाख जोहो गर्दा तीन चार करोड रुपैयाँ भित्रिन्थ्यो । तर त्यसमा नेपालगन्जको मेयरको प्रदेशको मन्त्रीको कसैको एक कल फोन वा ढाडस भइदिएको भए अझ निर्धक्कका साथ दाबेदारी राख्न सकिन्थ्यो ।

मानिसहरू विदेशमा घुमेको देखेर अर्कै बुझाई पनि बनाइरहेका होलान् । तर त्यहाँ कसरी गइएको छ र आर्थिक व्यवस्थापन कसरी गरिएको छ भन्ने अहिले यहाँ व्यक्त गरिरहन सकिएन । यसलाई राज्यले देशको ब्राण्डिङ्ग गर्ने र पर्यटकीय दृष्टिकोणले विश्व समुदायको ध्यानाकर्षण गर्ने हिसाबले मात्रै पनि हेरिदिएको भए हुन्थ्यो भन्ने अपेक्षा लागिहाल्दो रहेछ ।

५. म्याराथनबाट लाभ लिनसक्ने नयाँ पुस्ताका लागि अवसर दिन विद्यालयहरू चाहीँ कत्तिको जागरुक छन् ?

यो बहुत महत्वपूर्ण कुरा हो । म्याराथनले आत्मानशासन, मिहिनत र धैर्यको पाठ सिकाउँछ । एकताको भावना जागृत गराउँछ । नयाँ आशा जगाउँछ । अहिलेको एकांकीपन बढ्दै गएको समयमा सामूहिकताको भावना जागृत गराउँछ ।

हामी त भन्छौँ, स्वयंसेवकको रूपमा म्यारानथनमा सहभागि गराउनुभयो भने भविष्यमा तपाईंका नानीबाबुहरूले अन्तर्राष्ट्रिय स्तरमा परिचय दिने एउटा माध्यम पाउँछन् ।

जीवनभरका लागि अनुभव संगाल्न पाउँछन् । त्यसको सदुपयोग गर्नुहोस् । यो अवसर यही सहरका लागि हो । तर विद्यालयहरूको प्राथमिकता अर्कै छ । बालबालिकालाई यो अवसर लिनका लागि स्वतः स्फुर्त भन्दा पनि सम्झाईबुझाई गर्नुपर्ने स्थिति छ ।

६. म्याराथन आयोजकले यसलाई व्यक्तिगत संस्थाजस्तो बनाए र आर्थिक रूपमा पारदर्शी भएनन् भन्ने आरोपबारे कत्तिको जानकार हुनहुन्छ ?

यसमा विश्वभरीको अभ्यास नै के छ भने म्याराथनको आयोजकले यसलाई व्यवसायिक रूपले नै हेर्छन् । तर हामी त अझै भावनात्मक अवधारणाबाट निर्देशित भएका हौँ । हामी आर्थिक रूपले पारदर्शी भएको कुरा त हामीले राज्य तथा तिनका निकायबाट पाउने बजेटलाई फस्र्याैट गरेकै छौँ ।

नियमित अडिट गरेका छौँ । राज्यलाई कर बुझाएका र्छौँ । यति हो कि सार्वजनिक संस्थाजस्तो आयोजक संस्थाको हरहिसाब सार्वजनिक भएन होला । अहिले त हामी घाटामै चलिरहेका छौँ । यस्तो अवस्थामा हरहिसाब सार्वजनिक गरेर पनि के अर्थ छ र ? जब हामी नाफामा जान्छौँ त्यसपछि हरहिसाब पनि सार्वजनिक गर्छाैँ नै ।

७. म्याराथनको दीगोपनाका बारेमा के योजना बनाउनुभएको छ ?

हो, हाम्रा संस्थाहरूको ठूलो समस्या यही हो । त्यस हिसाबले पनि हामी आर्थिक रूपले बलियो बन्ने र सृजनात्मक क्रियाकलापका रूपमा पनि फैलिँदै जाने योजनामा छौँ । यसवर्ष हामीले म्याराथन पूर्व आयोजना गरेका १० वटा क्रियाकलापमध्ये रात्री दौड, ग्रिन रन, कन्क्लेभ लगायतका इभेन्टहरूलाई नियमित गर्दै जान्छौँ । नयाँ पुस्तामा इभेन्ट आयोजनाका लागि नेतृत्व शीप र कौशलको विकास गर्दै पनि जान्छौँ । हामी यसलाई दीगो बनाउन पनि राज्य तथा समाजका सबै तप्काको सहयोगको अपेक्षा गर्दछौँ ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार