नेपालगन्जस्थित यातायात कार्यालय सार्ने प्रक्रिया सुरु



शुभाकर विश्वकर्मा । कोहलपुुर (बाँके) ।

नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय बाँकेलाई उपयुक्त स्थानमा सार्ने प्रक्रिया सुरु भएको छ । हाल भाडाको घरमा सञ्चालन भइरहेको कार्यालयका सम्बन्धमा प्रदेश सरकारले बारम्बार असन्तुष्टि जनाएपछि कार्यालय उपयुुक्त स्थानमा सार्ने प्रक्रिया सुरु भएको हो । यसअघि पुस ९ गते कोहलपुरमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले नेपालगन्जमा रहेको कार्यालयको विषयमा सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

हाल यातायात कार्यालय सञ्चालन गरेको स्थान आफूलाई चित्त नबुझेको मन्त्री न्यौपानेको भनाइ थियो । साँघुरो स्थानमा कार्यालय सञ्चालन भइरहेको र सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भन्दै उनले छिट्टै कार्यालय सार्ने तयारी गरेको बताएका थिए । उक्त अवसरमा आफूले यातायात कार्यालयका हाकिमलाई छिटोभन्दा छिटो कार्यालय सार्न भनिरहेको मन्त्रीको बताएका हुन् ।

एकातिर प्रदेश सरकारको दबाब र अर्कातिर विभागीय मन्त्रीको चर्को असन्तुष्टिपछि नेपालगन्जस्थित कार्यालयले उपयुक्त स्थानका लागि सरोकारवाला निकायलाई गुहारिरहेको छ । यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख लोकबहादुर सुनारले प्रदेश सरकारको निर्देशनबमोजिम कार्यालय सार्ने प्रक्रिया सुरु भएको बताए । उनका अनुसार उपयुक्त स्थान र दीर्घकालीन सेवा उपलब्ध गराउने योजनासहित नेपालगन्ज उप–महानगरपालिकालाई उपयुक्त स्थानका लागि अनुरोध गरिएको थियो । कार्यालयको अनुरोधपछि नेपालगन्ज उपमहानगरले कार्यालय बैठकबाटै कार्यालय स्थानान्तरणका लागि निर्णय गरेको कार्यालय प्रमुख सुनारले बताए ।

‘कार्यालय सार्ने प्रक्रिया सुरु भइसकेको छ । हामीले उपयुक्त स्थान खोजिरहेका छौं । सोही अनुसार नेपालगन्ज उप–महानगरपालिकालाई अनुरोध गरेका थियौँ । नगरपालिका कार्यालयले निर्णय गरेको छ,’ कार्यालय प्रमुख सुनारले मिसन टुडेसँग भने । नेपालगन्ज उप–महानगरपालिकाले साविक सीप विकास तालिम विकास केन्द्रको भवन रहेको स्थानमा यातायात कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको सुनारको भनाइ छ । अब उक्त निर्णय कार्यान्वयन र स्वीकृतिका लागि मुख्यमन्त्री कार्यालयमा डेलिगेसनको लागि जाने तयारी गरिरहेको उनले बताए ।

नेपालगन्ज उप–महानगरका प्रतिनिधिसहित, जिल्लास्थित राजनीतिक दल र कार्यालयको टोलीले केही दिनमै मुख्यमन्त्री र यातायात मन्त्रीलाई भेट्न दाङ जाने तयारी गरेको उनले मिसन टुडेसँग बताए । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट दीर्घकालीन संरचनामा सेवा सञ्चालन गर्नका लागि कार्यपालिका बैठकले निर्णय गरेको बताए ।

उनका अनुसार नेपालगन्जस्थित कार्यालयका विषयमा बेलाबेलामा प्रश्न उठ्ने गरेको र सोही कार्यालयलाई उपयुक्त स्थानमा सञ्चालन गर्नका लागि आफूहरूले कार्यपालिका बैठकबाट निर्णय गरेको उनले बताए ।

कोहलपुरमा सेवा कार्यालय उद्घाटनको तयारी

बाँकेको कोहलपुरमा सञ्चालन हुने यातायात सेवा कार्यालय उद्घाटनको तयारी भइरहेको छ । गत मंसिर १६ गते लुम्बिनी प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले कोहलपुरमा कार्यालय स्थापना गर्ने निर्णय गरेको एक महिनापछि कार्यालय औपचारिक रूपमा उद्घाटन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारको निर्णयबमोजिम कोहलपुरमा कार्यालय उद्घाटन गरेर औपचारिक रूपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।

कार्यालय प्रमुख लालबहादुुर सुनारले कार्यालय उद्घाटन पूर्वको तयारी तीव्र गतिमा भइरहेको बताए । उनका अनुसार आफू सोमबार बिहानमात्रै कोहलपुर पुगेर तयारीको अवस्थाका विषयमा जानकारी लिएको कार्यालय प्रमुख सुनारले मिसन टुडेसँग बताए । ‘कार्यालय सञ्चालनका लागि कोहलपुरमा उपयुक्त स्थान छ । अहिले त्यसको मर्मत र रङरोगन गर्ने काम भइरहेको छ । अन्य केही प्राविधिक कुरासमेत मिलाउनुपर्नेछ । त्यसको पनि व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने ।

कार्यालयको सेवा सञ्चालनका लागि अत्यावश्यक रहेको डिभाइस खरिद गर्नुपर्ने र उक्त मेसिन खरिद प्रक्रिया सकिनेबित्तिकै उपयुक्त समय मिलाएर कार्यालय उद्घाटन गरी सेवा सुरु गर्ने कार्यालयले तयारी गरिरहेको छ । कार्यालय प्रमुख सुनारले उक्त मेसिन १ लाख ५० रुपैयाँ पर्ने र सोको व्यवस्थापनका लागिे जनाएको छ । कोहलपुरस्थित सेवा कार्यालयमा चार जना कर्मचारी खटिनेछन् ।

कार्यालयबाट एक जना अधिृकत, कम्प्युटर, लेखा र एक जना कार्यालय सहयोगीको व्यवस्थापन भइसकेको उनले बताए । यता कोहलपुरर नगरपालिकाले पनि कार्यालय उद्घाटनका लागि कार्यालय रङरोगन गर्ने काम भइरहेको जनाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर प्रहरीलाई परिचालन गरेर कार्यालय सञ्चालन हुने स्थानमा सरसफाइको काम भइरहेको छ । कार्यालयले सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण र पटके सेवा प्रदान गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार