हरियाणा, चैत ११ । भारतको हरियाणा राज्यस्थित कुरुक्षेत्र निवासी अमनदीप सिंहको शरीरमा प्रकार गरिएका कयौं फलामे रडका आकार परिवर्तन भए, कयौं लाठी भाँचिए तर उनी जस्ताको तस्तै छन् । भनिन्छ, उनको शरीर फलामभन्दा पनि बलियो छ ।
खतरासँग खेल्नुलाई नै आफ्नो रुची बनाएका ३४ वर्षीय सिंहको शारीरिक सामथ्र्यको चर्चा अहिले सर्वत्र
भइरहेको छ । उनी आफ्नो शरीरमा रड र लाठीले प्रहार गर्न लगाउँछन्, मोटरसाइकललाई खेलौनाजस्तै गरी उठाउँछन्, कारलाई आफ्नो शरीरमाथि गुडाउन लगाउँछन् ।
१२ कक्षामा पढ्दै गर्दा पिताको देहान्त भएपछि घरको आर्थिक भार आफ्नो काँधमा आएको बताउने सिंहले भने, ‘घर खर्च चलाउनका लागि सुरुमा मैले एक गिफ्ट ग्यालरी खोलेको थिएँ ।’ सोही क्रममा शारीरिक सुगठनतर्फ चासो देखाउँदै उनले अभ्यास पनि गरे । सन् २००८ मा उनी व्यावसायिक रुपमा यस क्षेत्रमा लागे ।
अहिले उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रहेका विभिन्न कीर्तिमानलाई निशाना बनाएर तयारी गरिरहेका छन् । उनले आफ्नो कलालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाइसकेका छन् । यसै वर्षको नोभेम्बरमा उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि औपचारिक रुपमा आफ्नो कला देखाउने मौका पाउँदैछन् ।
उनले दुई हजार पाँच सयभन्दा बढी स्टन्टमा आफू पोख्त भएको दाबी गरेका छन् । (एजेन्सी)

















प्रतिक्रिया दिनुहोस्