दाङ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालनमा रहेका बैंक खाताहरू धमाधम बन्द भएपछि संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कारोबार प्रभावित भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा सञ्चालनमा रहेका खातामध्ये पछिल्लो पटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खातासमेत बन्द भएको छ ।संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी व्यक्तिगत बैंकिङ कारोबारका क्रममा कालो सूचीमा रहेको नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख भएपछि संस्थाका बैंक खाताहरू सञ्चालनमा समस्या आएको हो । हालको कार्यसमिति २०८१ माघ २७ गते निर्वाचित भएको भए पनि राष्ट्र बैंकको पत्रअनुसार भण्डारी उक्त मितिभन्दा अगावैदेखि नै कालो सूचीमा रहेको देखिएको संस्थासँग सम्बन्धित स्रोतले जनाएको छ ।
कालो सूचीमा रहेको व्यक्ति संस्थाको कोषाध्यक्ष बनेपछि पनि करिब १८ महिनासम्म संस्थाका बैंक खाता सञ्चालनमा रहनुले सम्बन्धित बैंक शाखाहरूको प्रक्रियामाथि समेत प्रश्न उठेको छ । यद्यपि बैंक तथा सम्बन्धित निकायको मिलेमतो भएको भन्ने विषयमा आधिकारिक पुष्टि भने भएको छैन । विभिन्न बैंकमा खाता सञ्चालन हुँदै आएको र पछिल्लो समय क्रमशः खाता बन्द भएको संस्थाले जनाएको छ । खाता बन्द भएपछि संस्थाको नियमित आर्थिक कारोबारमा प्रत्यक्ष असर परेको छ ।२५ जना कर्मचारी कार्यरत रहेको संस्थामा मासिक करिब ९ लाख १ हजार रुपैयाँ तलब खर्च हुने गरेको छ । हाल कर्मचारीको चालू महिनाको तलबसमेत भुक्तानी हुन बाँकी रहेको जनाइएको छ । त्यसैगरी संस्थाले नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ लाख ७८ हजार रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी रहेको छ । यो रकम चालू महिनाभित्र भुक्तानी हुन नसके नियमानुसार ५ प्रतिशत जरिबाना लाग्ने संस्थाकी कार्यवाहक प्रमुख कल्पना जिसीले बताइन् ।
उनका अनुसार त्यसबाट करिब २३ हजार ९ सय रुपैयाँ थप जरिबाना लाग्न सक्छ । लामो समयसम्म बक्यौता रहे विद्युत् प्राधिकरणले नियमअनुसार विद्युत् लाइनसमेत काट्न सक्ने अवस्था रहेको उनले बताइन् ।कालो सूचीसम्बन्धी विषय संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई जानकारी हुँदाहुँदै पनि समयमै आवश्यक निर्णय नलिँदा अहिलेको अवस्था आएको भन्दै संस्थाभित्रै प्रश्न उठेको छ । भण्डारी तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन् । समस्या समाधानका लागि संस्थाले भदौ २५ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएको थियो ।बैठकमा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण चौधरी लगायतका संस्थाका पदाधिकारी, सदस्य, पूर्वअध्यक्षहरु तथा सल्लाहकारसहित रास्वपा लमही नगर सभापति रोशन खनाल, नेपाली काँग्रेस लमही सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका रतनकुमार केसी लगायतको सहभागिता थियो ।
बैठकमा व्यापक छलफल भए पनि तत्काल कुनै निष्कर्ष ननिस्किएपछि बैठक स्थगित गरिएको संस्थाका अध्यक्ष सनमकुमार पौडेलले बताए । बैठकमा कोषाध्यक्ष भण्डारीले आफू आफ्नै कारणले नभई सहोदर दाइको ऋणमा साक्षी बसेका कारण कालो सूचीमा परेको दाबी गरेका थिए । उनले समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको भन्दै एक साताको समय मागेका थिए । साथै, संस्थाको नामबाट ‘स्टे अर्डर’ माग गरेपछि बैंकिङ कारोबार सहज हुने दाबी गर्दै एक साताभित्र समस्या समाधान गर्न नसके स्वतः राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
तर व्यक्तिगत बैंकिङ समस्याका सन्दर्भमा संस्थाले नै अदालतबाट आदेश माग्ने विषयमा सहमति जुट्न नसकेपछि कानुनी पक्षमा थप छलफल गर्न बैठक स्थगित गरिएको हो । पुनः बैठक बस्ने निर्णय गरिएको छ । यसैबीच, संस्थाको विधानमा पदाधिकारीको पद रिक्त भएमा पदपूर्तिको स्पष्ट व्यवस्था रहेको देखिन्छ ।
विधानको सम्बन्धित प्रावधानअनुसार अध्यक्षको लिखित राजीनामा, अविश्वासको प्रस्ताव वा विधानको दफा ४ बमोजिम पद रिक्त भएमा तीन वर्षे कार्यकालमा ६ महिना मात्र बाँकी रहेको अवस्थामा उपाध्यक्षले अध्यक्षको काम गर्ने तथा सोभन्दा बढी कार्यकाल बाँकी भए नयाँ निर्वाचनबाट पदाधिकारी पूर्ति गर्ने व्यवस्था छ । त्यस्तै, अन्य पद राजीनामा वा दफा ४ बमोजिम रिक्त भएमा बाँकी कार्यकालका लागि कार्यसमितिको बैठकको बहुमतबाट योग्य सदस्यलाई मनोनित गर्न सकिने व्यवस्था विधानमा उल्लेख छ ।यस व्यवस्थाले संस्थाको नियमित कारोबार नै प्रभावित हुने अवस्था सिर्जना हुँदा समस्या समाधानका लागि पदाधिकारीको व्यक्तिगत बैंकिङ अवस्थाभन्दा संस्थाको हित र विधानअनुसार तत्काल निर्णय लिन सकिने बाटोसमेत देखाएको छ । अबको बैठकले कोषाध्यक्षको विषयमा कानुनी तथा संस्थागत रूपमा के निर्णय गर्छ भन्ने विषय लमही खानेपानीका उपभोक्ता, कर्मचारी र सरोकारवालाको चासोको विषय बनेको छ ।







प्रतिक्रिया दिनुहोस्