सडक मर्मत नभएपछि सडकमै पत्रकार सम्मेलन



गणेश रावत । कोहलपुर ।

नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोहलपुर–नेपालगन्ज सडकखण्ड अबको एक हप्ताभित्र निर्माण कार्य अघि नबढे सडक डिभिजन नेपालगन्जमा तालाबन्दी गर्ने चेतावनी दिएको छ । अलपत्र हवल्दारपुरस्थित सडकखण्डमा बुधबार पत्रकार सम्मेलन गरेर कोहलपुर नगर समितिले कोहलपुर–नेपालगन्ज सडकखण्डका विभिन्न स्थानमा पारिएका खाल्डाखुल्डी तत्काल मर्मत नगरे कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

‘आजको मितिदेखि एकहप्ताभित्र सडकको मर्मत कार्य अघि नबढे सडक डिभिजन नेपालगन्जमा हामी तालाबन्दी गर्ने घोषणा गर्दछौँ,’ नगर अध्यक्ष बलबहादुर खड्काले भने, ‘त्यसपछिका बाँकी संघर्षका कार्यक्रम पनि पार्टीका तर्फबाट घोषणा गर्दै जाने कुरा अवगत गराउन चाहन्छु । र, अहिलेसम्म पनि निर्माण कम्पनीले सडक मर्मत नगर्नु कति लापरवाही गरेको हो भन्ने कुरा स्पष्ट छ ।’ कोहलपुर–नेपालगन्ज सडकखण्ड समयमै निर्माण नहुँदा कोहलपुरका एक जना युवाले ज्यानसमेत गुमाउनु परेको उनी बताउँछन् ।

उनले लामो समयदेखि कोहलपुर–नेपालगन्ज सडकखण्ड मर्मत नहुँदा सवारीसाधन मात्र नभइ पैदल यात्रुहरूले समेत झन्झट व्यहोर्नुपरको बताए । सडक मर्मतका लागि भन्दै खनेर सडक अलपत्र छाडिएका कारण सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । नागरिकको ज्यानसँग खेलबाड गर्न नहुँने बताउँदै तत्काल सडक मर्मत प्रक्रिया सुरु गर्न आग्रह गरे । सडक मर्मतका लागि यसअघि जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन नेपालगन्जलाई समेत ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएको उनले बताए ।

खबरदारी र ध्यानाकर्षण गर्दागर्दै पनि सम्बन्धित निकाय मौन रहेकाले दबाब दिन पत्रकार सम्मेलन गर्न बाध्य भएको नगर अध्यक्ष खड्काले बताए । उनले सडक मर्मतको जिम्मा माँ त्रिपुरा सुन्दरी पञ्चकोशी नाकदेव जेभीले पाएको बताउँदै समयमै काम नसक्दा यात्रु र सवारीसाधनहरूले दुःख पाइरहेको बताए । ‘यो अति महत्वपूर्ण र व्यस्त सडकखण्ड हो,’ उनले भने, ‘प्रत्येक सेकेन्डमा गाडीहरू गुडिरहेका छन् । म स्मरण गराउँन चाहन्छु । दुःखका साथ भन्नुपर्छ नेपालगन्जदेखि आफ्नो डिउटी सकेर घर फर्कने क्रममा जेठ २१ गते कोहलपुर–२ का ३३ वर्षीय सरोज मरासिनीले ज्यान गुमाए । सदाको लागि हामीबाट अस्ताए । आज हामी सारै दुःखी छौँ । महिनौँ बितिसक्दा समेत बाटो बनेको छैन् ।’

सडकजस्तो अति संवेदनशील विषयमा निर्माण कम्पनी र सडक डिभिजनबाटै खेलबाड भइरहेको समेत उनी बताउँछन् । निर्माण गरिसक्नुपर्ने सम्झौता सकिएको ३ महिना पुग्न लाग्दासमेत बाटो निर्माण नहुनु दुःखद् पक्ष रहेको बताउँदै उनले कोहलपुर नगरपालिकाभित्र रहेका विभिन्न समस्याहरू उठान गर्ने र समस्याको समाधानको लागि पहल गर्दै आएको पनि बताए । उक्त सडकखण्डको निर्माणको जिम्मा माँ त्रिपुरा सुन्दरी पञ्चकोशी नाकदेव जेभीले पाएको सडक डिभिजन नेपालगन्जका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए ।

उनका अनुसार कम्पनीले २०८१ साल ७ महिना १४ गते सम्झौता गरेर २०८२ साल १ महिना १५ गते निर्माण सक्नेगरी प्रक्रिया अघि बढाएको थियो । एक करोड २४ लाख १७ हजार तीन सय कूल लागतमा निर्माणको जिम्मा पाएको कम्पनीले हालसम्म १८ लाख दुई हजार आठ सय रूपैयाँ भुक्तानी लिइसकेको उनले जानकारी दिए । समयमै निर्माण गर्न नसक्दा अहिलेसम्म तीन लाख ८४ हजार ६ सय ७ रूपैयाँ जरिवानासमेत निर्माण कम्पनीले तिरेको उनी बताउँछन् ।

‘वर्षाको मौसम छ । यसैमा निर्माण गरे पब्लिकले झन्गुणस्तर माथि पश्न उठाउँछन्,’ उनले भने, ‘पिच पनि राम्रोसँग टिक्दैन । निर्माण कम्पनीको आफ्नै मेसीनरी नभएर समयमै पिच गर्न पाएन । पिच नगरेपछि खाल्डो प¥यो । यसलाई पुनः तलबाट खनेर बनाउन पर्छ । अहिले निर्माण भए तुरुत्तै पानीले बिगार्छ । मौसम सफा भए मात्रै निर्माण अघि बढ्छ ।’ खाल्डाखुल्डी पुरी राख्ने, सम्याउने काम निर्माण कम्पनीले गरिरहने र मौसम राम्रो भए पिच गर्न सहमति भएको उनले बताए ।

अहिले वर्षातको मौसम रहेकाले तत्काल निर्माण गर्न नसकिने उनको भनाइ छ । समयमै काम सक्न ताकेता गरेको बताउँदै उनले ठेक्का तोड्न लागेपछि पुनः काम गर्न आएको बताए । अहिलेसम्म जरिवाना तिराउँदै काम गराउँदै गर्ने गरेको उनले बताए । निर्माण कम्पनीले अहिले निर्माण कार्य सुरु गरे पनि कार्यालयले निर्माण गर्न नदिने उनको भनाइ छ । वर्षाको समय रहेकाले गुणस्तरीय काम नहुने हुँदा अहिले निमार्ण गर्न नसकिने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार