विद्यालय पोसाकबारे नेपालगन्जको निर्देशन



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरुलाई विद्यालय पोसाकसम्बन्धी निर्देशन जारी गरेको छ । उपमहानगरपालिकाले उपमहानगर अन्तर्गतका सबै विद्यालयका नाममा जारी निर्देशनमा विद्यालय पोसाकमा स्वदेशमा उत्पादित कपडाको प्रयोग गर्न भनिएको छ । पमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जारी गरेको पत्रमा विद्यालय पोसाक परिवर्तन गर्नुपरेमा वार्षिक अन्तिम परीक्षाअगावै सूचना पार्टीमा नमुनासहित टाँस्न पनि भनिएको छ ।

यसैगरी पोसाक सिलाउनका लागि विद्यालयहरुले गोप्य सम्झौता गर्ने गरेको भन्ने गुनासो आएकाले त्यसको अन्त्य गर्न र व्यवसायीहरुसँग कमिसनमा कारोबार गर्ने गरेको भन्ने सूचना आएकोले उक्त कार्य बन्द गर्न पनि निर्देशन दिइएको छ । उपमहानगरबाट जारी यस्तो निर्देशन भने जिल्ला प्रशासन कार्यालयको पत्रानुसार गरिएको उल्लेख छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ जिल्ला कार्यसमिति बाँकेले पेश गरेको ज्ञापनपत्रको मागलाई कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयबाट असार २५ गते लेखिआएअनुसार जानकारी गराइएको पत्रको व्यहोरामा उल्लेख छ ।

बाँकेका विद्यालयहरुले हरेक शैक्षिक सत्रमा अभिभावकलाई निश्चित व्यवसायीसँग मात्रै विद्यालय पोसाक खरिद गर्नका लागि दबाब दिने गरेका छन् । त्यसमा पनि अधिकांश विद्यालयहरुले अभिभावकलाई सीमापार भारतीय बजार रुपैडिहामा रहेका व्यापारीकहाँ पठाउने गरेका छन् । त्यहाँ रहेका केही खास व्यवसायीहरुले विद्यालय सञ्चालकहरुलाई कमिसन दिएर गोप्य सम्झौता गराई अभिभावकलाई एकै ठाउँबाट पोसाक किन्न बाध्य पार्ने गरेको अभिभावकको गुनासो हरेक वर्ष सार्वजनिक हुने गरेको छ ।

उपमहानगरको निर्देशन कक्षा १० सम्मको शैक्षिक सत्र सकिएपछि आएकोले यसको औचित्यमाथि भने प्रश्न उठेको छ । भरत पोखरेल नाम रहेका एकजना सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘अल्ली चाँडो आयो कि सुचना, दशैँताका आएको भए उत्तम हुने थियो होला । शैक्षिक सत्रको चार महिनापछि, गजब !’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार