कैलालीका किसान सस्तोमा धान बिक्री गर्न बाध्य



धनगढी ।

सरकारले चालू आर्थिक वर्ष २०८३–०८४ मा धान खरिद बिक्रीका लागि धानको समर्थन मूल्य पहिले नै निर्धारण गरे पनि कैलालीका किसान सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् । समर्थन मूल्य अनुसार निजी व्यापारीहरूले धान खरिद नगरेपछि उनीहरू सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् । सरकारले चालू आव मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय रूपैयाँँ निर्धारण गरेको छ । यसैगरी मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० तोकिएको छ । गत वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ तोकिएको थियो ।

सरकारले गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढाएर निर्धारण गरे पनि किसानले भने विगतकै भाउदरमा निजी व्यापारीलाई धान बिक्री गरिरहेका छन् । गाउँतिर व्यापारीहरूले प्रतिक्विन्टल दुई हजार ६०० रूपैयाँँमा धान खरिद गरिरहेको कैलारी गाउँपालिकाका रेवन्त बोहराले बताए । उनले धानको मूल्य बढ्दा पनि किसानको नियति भने उस्तै रहेको उनको भनाइ छ । केही वर्षयता भारतीय बजारभन्दा नेपालमा धानको मूल्य बढी भए पनि यस पटक त्यहाँभन्दा सस्तो रहेको उनले बताए ।
छिमेकी भारतीय बजारमा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९०५ रूपैयाँँ रहेको छ । भारतमा निजी व्यापारीहरूले पनि प्रतिक्विन्टल तीन हजार ३६० रूपैयाँँ (दुई हजार १०० भारु)मा धान खरिदबिक्री गरिरहेका छन् ।

नेपालमा भने किसानले न्यूनतम समर्थन मूल्यभन्दा एक हजार ६० रूपैयाँँ कममा धान बिक्री गरिरहेका छन् । धान बिक्री गरेर तोरी, गहुँका लागि मल, बीउबिजनसहित अन्य कृषि सामग्री खरिद गर्नुपर्ने भएकाले किसानले सस्तैमा भए पनि धान बेचिरहेको जनाएका छन् । गहुँ बालीका लागि आवश्यक खर्च जुटाउन किसानले सस्तोमै धान बेच्नु परेको कृषक जित रावतको ठम्याइ छ । जिल्लामा धान भित्र्याइसकेपछि किसान तोरी छर्ने तयारीमा छन् । यसैगरी गहुँका लागि मल, इन्धनको जोहोमा उनीहरूको दौडधुप बढेको छ । यो बेला किसान धान बेच्न बाध्य रहेकाले सरकारले मूल्य तोक्ने कार्य मात्रै नगरी त्यसलाई कार्यान्वयन पनि गर्नुपर्ने कृषक देवेन्द्र चौधरीले बताए । उनले किसानलाई उचित मूल्य दिलाउन नसक्नु सरकारकै कमीकमजोरी रहेको औँल्याए । कैलालीमा यस वर्ष ६३ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो । कृषि ज्ञान केन्द्रले यस वर्ष धान उत्पादन बढ्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार