कैलाली ।
थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या कैलाली तथा कञ्चनपुर जिल्लामा बढ्दै गएको छ । खास गरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । सेती प्रादेशिक अस्पतालका हरिबहादुर थापाले कैलाली र कञ्चनपुरमा एक हजार ३४ जना सिकलसेलका बिरामीको उपचार भइरहेको बताए ।
त्यो अझै बढ्ने क्रममा रहेको उनले बताए । उनले कैलालीमा ७५६ कञ्चनपुरमा २७८ जना बिरामी रहेको बताए । त्यसमा महिलाको सङ्ख्या ५३६ रहेको छ भने पुरुषको सङ्ख्या ४९८ रहेको जानकारी दिए । अहिले एक हजार ३४ जना बिरामीमध्ये ३९२ जना घोडाघोडी अस्पतालमा र आठ जना कञ्चनपुरको महाकाली अस्पताल र बाँकी ६३४ जनाले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गरिरहेका छन् ।
सरकारले सिकलसेलको उपचार तथा सेवा सुविधाका लागि भनेर कैलालीको सेती प्रादेशिक अस्पताल, घोडाघोडी अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालबाट सेवा दिइरहेको छ भने कैलालीको टीकापुरबाट सेवा दिने तयारीमा रहेको सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक चिकित्सक डाक्टर चेतराज जोशीले जानकारी दिए ।
सरकारले पश्चिम तराईमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारलाई सर्वसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ । परीक्षण र उपचार दुवै निःशुल्क छ र एउटा बिरामीलाई एक लाख बराबरको औषधी दिने सरकारले घोषणा गरेको छ । सरकारले उपचारमा एक लाख रूपैयाँसम्म दिने सेवा सुविधा लिने प्रक्रिया जटिल भएको थारू अगुवा माधव थारूको भनाइ छ ।
सिकलसेल रोगको उपचार र परीक्षण महँगो तथा घरका सम्पूर्ण सदस्यलाई उपचार गर्नुपर्ने कारणले थुप्रै मानिस रगत परीक्षण नै नगराई रोग लुकाउने गरेको उनले बताए । उनले सरकारले एक लाखसम्म मात्र नभएर सिकलसेलका बिरामीलाई आजीवन उपचारको ग्यारेन्टी गर्नुपर्ने बताए । उनले धेरै बिरामी देखिएका क्षेत्र र समुदायमा रहेका गर्भवतीको गर्भमा रहेका बच्चामा सिकलसेल हुन सक्ने जोखिमबारे परीक्षण गर्न सकिने व्यवस्था गर्न सके भविष्यमा यस संक्रमण लिएर जन्मने बिरामीलाई कम गर्न सकिने बताए ।









प्रतिक्रिया दिनुहोस्