रक्तदान गरेर जन्मोत्सव मनाउने डाक्टर



वीरेन्द्रनगर ।

जन्मोत्सव मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले होटलमा पार्टी गरेर त कसैले फलफूल वितरण गरेर जन्मदिन मनाउँछन् । तर डाक्टर धर्मराज रेग्मी भने आफ्नो जन्मोत्सव रक्तदान गरेर मनाउँदै आएका छन् । जन्मदिनमा प्रायः मानिसहरूले साथीभाइसँग रमाइलो गर्ने, पार्टी गर्ने अथवा परिवारमा मिठा परिकार बनाएर खाने गर्दछन् । तर यस्ता परम्परागत शैलीलाई चुनौती दिँदै डाक्टर धर्मराज रेग्मीले आफ्नो जन्मोत्सव पृथक र अर्थपूर्ण ढंगले मनाउँदै आएका छन् ।

हाल प्रदेश अस्पताल सुर्खेतमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ कन्सल्टेन्टका रूपमा कार्यरत डा. रेग्मीले यसपटक पनि शुक्रबार आफ्नो जन्मोत्सव रक्तदान गरी मनाएका हुन् । २०६९ सालयता उनले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्दै आएका छन् । ‘एमबीबीएसको इन्टनसिपमा म इलाम जिल्ला अस्पतालमा काम गरिरहेको थिएँ । त्यहाँ मेरो जन्मदिनको अवसरमा पहिलोपटक एकजना सुत्केरी महिलालाई रगत दिएँ,’ उनले भने, ‘आफ्नो विज्ञता अनुसारको काम गर्दैगर्दा प्रायः गर्भवती र सुत्केरीलाई रगतको आवश्यकता पर्ने भएकोले यसको महत्व बुझेर मैले जन्मदिनको अवसरमा रगत दिँदै आएको छु ।’

तर आवश्यकताअनुसार अन्यबेला पनि रक्तदान गर्दै आएको उनले बताए । जन्मदिनलाई भट्किलो र खर्चिलो गर्नुभन्दा समाजिक रूपमा उपलब्धि हुने तरिकाले मनाउनुपर्ने उनको भनाइ छ । उनले थपे, ‘जन्मदिनको साँचो अर्थ केवल आत्मसन्तुष्टि मात्रै होइन, समाजप्रति उत्तरदायित्व पु¥याउने अवसर पनि हो । जन्मको खुसीका रूपमा अरुको जीवन पनि बचाउन सकुँ भन्ने मेरो चाहना हो ।’

डा. रेग्मीले रक्तदान जस्तो मानवतावादी कार्यमार्फत जन्मोत्सव मनाउने यो परम्पराले समाजमा सकारात्मक सन्देश फैलाएको छ । उनको यो कार्यले धेरैलाई प्रेरणा दिनसक्छ भने विशेषगरी पछिल्लो युवा पुस्ताहरूमाझ अब जन्मदिनलाई केवल रमाइलो दिनको रूपमा मात्रै होइन, सेवाको अवसरका रूपमा पनि हेर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ । डाक्टर रेग्मीजस्ता व्यक्तित्वहरू समाजका लागि आशाको किरण पनि बन्नुपर्छ । जो आफ्ना व्यक्तिगत क्षणलाई पनि अरूका लागि उपयोगी बनाउन तत्पर रहुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार