२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता सार्वजनिक भएको छ । यस वर्ष माध्यमिक शिक्षा परीक्षा दिएकामध्ये ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् । यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । गत वर्ष एसईईमा ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो ।
यस पटक एसईईमा न्यूनतम ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने गरी सरकारी तयारी थियो । ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने सरकारी लक्ष्यभन्दा पनि बढी उपलब्धि हुने देखिन्छ । तरपनि यतिले मात्रै चित्त बुझाउने ठाउँ भने देखिँदैन् । परीक्षा प्रणालीलाई सुधार गरेर आवश्यक कार्ययोजना बनाइ सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनतर्फ लाग्न जरुरी छ । एसईईमा सतप्रतिशत नभए पनि सक्दो बढी विद्यार्थीहरूलाई उत्तीर्ण बनाउका लागि शिक्षा क्षेत्रमा लागेका सबै सरोकारवालाहरू एकठाउँमा भएर आवश्यक रणनीति तयार गर्नुका साथै सरकारले पनि शिक्षामा आवश्यक बजेट छुट्याउनु जरुरी छ । अझैपनि सरकारी विद्यालयमा पढ्ने विद्यार्थी र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई हेर्ने दृष्टिकोण फरक छ समाजमा । सरकारी विद्यालयबाट अधिकांश विद्यार्थीहरूलाई सहभागी गराउन र उत्तीर्ण गराउनका लागि सरकारले अझै धेरै काम गर्न बाँकी देखिन्छ ।
पहिलो कुरा त समाजबाट संस्थागत र सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाबीच हेरिने फरक सोच र गरिने व्यवहारलाई हटाउन जरुरी छ । सरकारले शिक्षा प्रणालीलाई सबै विद्यार्थीहरूको सरल र सहज पहुँचसम्म पुराउनका लागि प्रयोगात्मक शिक्षा र जीवनपयोगी शिक्षा प्रदान गर्न जरुरी छ । एसईईमा अधिकांश विद्यार्थीहरूलाई उत्तीर्ण बनाउनका लागि केवल विद्यार्थीहरूको मात्र हुँदैन् । असल शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, समाजको उत्तीकै महत्वपूर्ण हात रहेको हुन्छ । शतप्रतिशत नभए पनि अत्यधिक विद्यार्थीहरूलाई उत्तीर्ण गराउने गरी परिणाम ल्याउने गरी आवश्यक तयारी गर्न जरुरी छ ।
नीतिगत रूपमा हेर्दा पनि सरकारले लिएको ‘परीक्षाबाट सिकाइतर्फ’को यात्राको घोषणाले सैद्धान्तिक मूल्य राखेपनि व्यवहारमा त्यो घोषणाले कुनै अर्थ राख्दैन् । शिक्षक तालिमविहीन छन्, पाठ्यक्रम अद्यावधिक छैन, पाठ्यपुस्तकहरू ढिला पुग्छन्, र विद्यालयहरूमाझ समान अवसर छैन । स्थानीय तहले शिक्षा हेर्छ भन्ने भनिए पनि, कुनै कार्यान्वयनको स्पष्ट योजना छैन । विद्यार्थीको सिकाइ, अनुसन्धान र सिर्जनात्मक क्षमताको मूल्यांकन गर्न जरुरी छ । यस्तो अवस्थामा अब एसईईको स्वरूपलाई परिवर्तन नगरी शिक्षा प्रणाली सुधार सम्भव छैन । परीक्षा प्रणालीलाई समावेशी, वैज्ञानिक र जीवन उपयोगी बनाउन अब नीतिगत बहस होइन, कार्यान्वयनमै बदलाव आवश्यक छ ।
भविष्यमा एसईई भनेको केवल परीक्षा होइन, विद्यार्थीको व्यक्तिगत क्षमता, सिर्जनात्मक सोच, सामाजिक चेतना र व्यवहारिक सीपको मूल्यांकन होस् । प्रश्नपत्रको भन्दा पनि पोर्टफोलियो, प्रोजेक्ट वर्क, समुदायसँगको अन्तक्र्रिया, सहकार्य, प्रस्तुति र सामाजिक सेवाजस्ता मापदण्डलाई मूल्यांकनमा समावेश गर्नुपर्छ । शिक्षकलाई मूल्यांकन प्रणालीमा तालिम दिइनुपर्छ । पाठ्यक्रमलाई जीवनसँग जोड्नुपर्छ । प्रविधिको प्रयोगमार्फत परीक्षा प्रणाली पारदर्शी बनाइनुपर्छ । डिजिटल उत्तरपुस्तिका, अनलाइन निगरानी, उत्तर विश्लेषणका लागि प्रविधिको प्रयोग गरिनुपर्छ । नेपालको शिक्षा प्रणाली समयानुकुल बनाउँदै विद्यार्थीहरूलाई एसईईमा अत्यधिक सङ्ख्यामा उत्तीर्ण बनाउँदै एसईई नतिजालाई अझै सुधारर्नका लागि सरोकारवाला गम्भीर बन्नु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्