सुुर्खेत ।
वीरेन्द्रनगरमा बढ्दो अटो रिक्सा आवागमनसँगै सडक सुरक्षाको चुनौती पनि बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै अटो चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउने उद्देश्यले सचेतना कार्यक्रमसँगै सेफ्टी ज्याकेट वितरण गरिएको छ । चालकको पहिचान सहज बनाउने मात्र नभई रातको समयमा सवारी दुर्घटनाको जोखिम घटाउने ध्ययले ज्याकेट वितरण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टर वीरेन्द्रनगरको सहयोगमा आयोजित कार्यक्रममा वीरेन्द्रनगरमा अटो सञ्चालन गर्दै आएका करिब १३० जना चालक सहभागी भए । सो अवसरमा चालकलाई सेफ्टी ज्याकेट वितरण गर्नुका साथै सडक सुरक्षा, ट्राफिक नियमको पालना, यात्रुको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।
वीरेन्द्रनगरमा सार्वजनिक यातायातका रूपमा अटो रिक्सा सर्वसाधारणको दैनिक आवागमनको महत्वपूर्ण साधन बन्दै गएको छ । छोटो दूरीको यात्राका लागि सहज र पहुँचयोग्य मानिने अटोको सङ्ख्या बढेसँगै यसको व्यवस्थित सञ्चालन र चालकको जिम्मेवारी पनि सडक सुरक्षाको महत्वपूर्ण विषय बनेको हो । यही अवस्थालाई ध्यानमा राखेर चालकलाई नियमको जानकारी दिनेभन्दा व्यवहारमै सडक सुरक्षालाई प्राथमिकता दिन प्रेरित गर्ने कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी निरीक्षक रोहितकुमार शाहीले सेफ्टी ज्याकेटले चालकलाई अन्य सवारी तथा सडक प्रयोगकर्ताले सहजै पहिचान गर्न सक्ने वातावरण बनाउने बताए । विशेषगरी रातिको समयमा कम दृश्यता हुने अवस्थामा ज्याकेटले चालकको दृश्यता बढाउने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
‘सेफ्टी ज्याकेट प्राप्त गर्नु सुविधा मात्रै नभई चालकको जिम्मेवारीसँग पनि जोडिएको छ’ उनले भने, ‘ट्राफिक नियमको पालना, सवारीको अवस्था ठीक राख्ने, क्षमताभन्दा बढी यात्रु नराख्ने, तीव्र गतिमा सवारी नचलाउने तथा यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिन चालकहरू सचेत बन्नुुपर्छ ।’ यससँगै चालकको व्यवहार, अनुशासन र ट्राफिक नियमप्रतिको प्रतिबद्धता पनि उत्तिकै आवश्यक हुने उनले बताए ।
अटो चालकको लापरबाहीले चालक स्वयंसँगै यात्रु र अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत असर पार्न सक्ने भएकाले चालकलाई सडकको अवस्था, मौसम र यातायातको चापअनुसार सावधानी अपनाएर सवारी सञ्चालन गर्न उनले आग्रह गरे । ट्राफिक प्रहरी र चालकबीच सहकार्य बलियो भएमा दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा थप प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो । ट्रस्ट एजुकेशनल सेन्टरका सञ्चालक हरि कँडेलले सडक सुरक्षा राज्यका निकायको मात्र जिम्मेवारी नभएको बताए ।
ट्राफिक प्रहरी, चालक, यात्रु, व्यवसायी तथा आम नागरिक सबैले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गरे मात्रै सडकलाई सुरक्षित बनाउन सकिने उनको भनाइ छ । अटो चालकको आम्दानीसँग उनीहरूको परिवारको दैनिक जीवन र भविष्य प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै चालक स्वयं सुरक्षित रहनु सबैभन्दा महत्वपूर्ण भएको उनले बताए ।
सडक सुरक्षासँगै सामाजिक उत्तरदायित्वसँग जोड्दै ट्रस्ट एजुकेशनल सेन्टरले अटो चालक तथा उनीहरूका परिवारका सदस्यका लागि वैदेशिक भाषा तथा विभिन्न तयारी कक्षामा २० देखि ५० प्रतिशतसम्म विशेष छुट दिने घोषणा गरेको छ । चालकको आर्थिक तथा सामाजिक अवस्थालाई ध्यानमा राखेर शिक्षा र सीप विकासमा सहयोग पु¥याउने उद्देश्यले छुटको व्यवस्था गरिएको कँडेलले बताए ।
चालकको पेशागत सुरक्षासँगै उनीहरूका परिवारका सदस्यलाई शिक्षा र सीप हासिल गर्ने अवसर प्रदान गर्दा दीर्घकालीन रूपमा परिवारको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्न सक्ने उनको अपेक्षा छ । कार्यक्रममा सहभागी अटो चालकहरूले ट्राफिक सचेतनासँगै सेफ्टी ज्याकेट वितरणले आफूहरूलाई सडक सुरक्षाप्रति थप गम्भीर बन्न प्रेरित गरेको बताए ।
उनीहरूले ट्राफिक नियमबारे समय–समयमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । चालकहरूले ट्राफिक नियमको जानकारी भए पनि व्यस्त सडक, यात्रुको चाप, साँघुरा सडक तथा अन्य सवारीको अव्यवस्थित आवागमनका कारण व्यवहारमा समस्या आउने गरेको बताएका थिए । अटो चालकलाई मात्र लक्षित नगरी पैदलयात्रु र अन्य सवारी चालकलाई समेत सडक सुरक्षा तथा ट्राफिक अनुशासनबारे सचेत गराउनुपर्ने उनीहरूले सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्