एक हप्तामा २२ फरार प्रतिवादी पक्राउ



कोहलपुर (बाँके) ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एक हप्तामै २२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन २३ गतेदेखि २९ गतेसम्म विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरले पक्राउ परेका २२ जनाबाट कूल रु. १ लाख ६७ हजार २०० जरिवाना असुल गरिएको छ । उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए । पक्राउ परेकाहरूलाई अदालतले कूल ४ वर्ष १ महिना १५ दिन कैद सजाय तोकेको छ ।

‘प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको छ । फैसला कार्यान्वयनमा सक्रियता बढेसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रम पनि बढेको छ । यो अभियानलाई बाँके प्रहरीले निरन्तर जारी राख्नेछ,’ डीएसपी राठौरले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार