खुम्चियो जल तथा मौसम कार्यालय कोहलपुरको कार्यक्षेत्र



कोहलपुर (बाँके) ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको कार्यक्षेत्र खुम्चिएको छ । यसअघि तीन प्रदेशमा कार्यक्षेत्र रहेको कार्यालयको कार्यक्षेत्र खुम्चिएको हो । २०७६ सालमा स्थापना भएको कार्यालयको यसअघि लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश कार्यक्षेत्र थियो । संघीय सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको कार्यालयको सेवाक्षेत्र कटौती गरेर एक प्रदेशमा मात्रै सीमित गरिएको हो ।

विभागको संगठित संरचनात्मक सुधार योजना अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप कार्यालय सञ्चालन गरिएपछि कोहलपुरस्थित कार्यालयको सेवाक्षेत्र कटौती गरिएको छ । अब कोहलपुरमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा मात्रै सेवा प्रवाह गर्नेछ । उता, कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदूरपश्चिम प्रदेशको अत्तरियामासमेत जल तथा मौसम विज्ञान कार्यालय स्थापना गरिएको छ । कार्यालय सञ्चालनका लागि आवश्यक संरचना, जनशक्ति लगायतका सम्पूर्ण तयारी पूरा गरेर दुवै प्रदेशमा कार्यालयहरू स्थापना गरेर सेवासमेत सञ्चालन भइसकेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका हाइड्रोलोजिष्ट इन्जिनियर भिमलाल पाण्डेले कोहलपुरबाट जल तथा मौसमको कार्यालय अन्य प्रदेशमा नसरेको जानकारी दिए । उनकाअनुसार जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको कार्यक्षेत्र मात्रै परिवर्तन भएको हो । ‘यसअघि तीनवटै प्रदेशको सेवा एउटै कार्यालयबाट दिँदै आएका थियौँ । अब सुर्खेत र अत्तरियामा कार्यालय सञ्चालनमा आएका छन् । पहिला हामीले यहाँबाट दिएको सेवा जस्तै तीन कार्यालयले उतैबाट सेवा दिन्छन्,’ उनले मिसन टुडेसँग भने ।

हाल सुर्खेतमा पुनःसेवा भएको कार्यालय २०७६ मा कोहलपुर स्थानान्तरण गरिएको थियो । केही वर्षदेखि कोहलपुरबाटै सेवा प्रदान गर्दै आएपनि अब भने उक्त कार्यालय सुर्खेतमा सेवा सारिएपछि उतैबाट सेवा प्रवाह गर्ने भएको हो । यस्तै, अत्तरियामा पनि जल मापन केन्द्रमात्रै थियो । अहिले अत्तरियामा पनि जल तथा मौसम विज्ञान कार्यालय स्थापना गरिएको छ । दुवै कार्यालयले अब सम्बन्धित प्रदेशका सबै जिल्लामा सेवा दिनेछन् । उनले भने, ‘कोहलपुरको कार्यालयले दिने सेवा अब सुर्खेत र अत्तरियाले दिनेछन् ।

जल र मौसम सम्बन्धि सम्पूर्ण जानकारी दिन सक्नेछन् । सेवा विस्तार हुँदा सम्बन्धित प्रदेशका नागरिकलाई मौसम सम्बन्धि जानकारी लिन सजिलो हुनेछ ।’ कोहलपुरको कार्यालय नसरेको भन्दै साविक रूपमै सेवा प्रवाह गरिरहेको पाण्डेको भनाइ छ । यसैगरी, कर्णाली प्रदेशको जुम्लामा बेसिन कार्यालय सञ्चालन भएको छ । जुम्लाको कार्यालय जल सम्बन्धि तथ्यांक राख्ने र जानकारी दिने काम गर्नेछ । लुम्बिनी प्रदेशको भैरहवामा रहेको बेसिन कार्यालयको संरचना भने कोहलपुरस्थित कार्यालयमा गाँभिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले यसअघि जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृति दिएको थियो । सोही बमोजिम तत्कालीन प्रदेश नं. १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुर कार्यालय स्थापना भएको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले मौसमी तथ्यांक संकलन, जल तथ्यांक सञ्चालन, प्रशोधन र प्रवृष्ठ, अनुसन्धान लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कोहलपुरस्थित कार्यालय अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा साना तथा ठूलागरी २१ वटा जल मापन केन्द्र रहेका छन् ।

यसैगरी ८७ वटा मौसम मापन केन्द्र रहेका छन् । नियमअनुुसार केन्द्र प्रत्येक पालिकामा हुनुपर्ने हो । तर, अहिलेसम्म प्रत्येक पालिकामा केन्द्र राख्न नसकेको कार्यालयले जनाएको छ । सरकारले जल मापनको लागि करारमा कर्मचारी नियुक्त गरेको हुन्छ । हरेक तीनपटक जल मापन हुने गर्दछ । हरेक दिन बिहान ८ बजे, दिउँसो १२ बजेर र साँझ ४ बजे जल मापन हुने गरेको छ ।

यसैगरी हरेक बिहान र साँझ मौसम मापन हुने गरेको छ । कोहलपुरस्थित जल तथा मौसम विज्ञान कार्यालयमा कार्यालय प्रमुखसहित राजपत्रांकित तृतीय दुईजना, मेट्रोलोजिष्ट र हाइड्रोलोजिष्ट, मौसम विज्ञान सहायक दुईजना, जल विज्ञान सहायक दुईजना, नायब जल विज्ञान सहायक, नायब मौषस विज्ञान सहायक, लेखापाल, सुब्बा प्रशासन र कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार