कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) कोहलपुरले कोहलपुर नगर संस्कृतन कार्यक्रम आयोजना गरेको छ । कोहलपुर नगरका विभिन्न क्षेत्रमा इस्कोनको आयोजनमा नगर संस्कृतन कार्यक्रम आयोजना गरिएको हो । विमल गौरचन्द दासको नेतृत्वमा इस्कोनसँग आवद्ध भक्तजनहरूको सहभागितामा संस्कृतन कार्यक्रम सम्पन्न भएको हो ।
संस्कृतनमा सहभागीहरूले ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे’ लेखिएका पम्पेट बोकेका थिए भने धार्मिक भजन बजाउँदै नाचगानसमेत गरेका थिए । इस्कोन कोहलपुरको नेतृत्व गरिरहेका विमल गौरचन्द दासले इस्कोलनको भगवान श्रीकृष्णका विषयमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनका अनुसार कृष्ण भक्तहरूको उपस्थितिमा हरेक दिन विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । उनले भने, ‘प्रत्येक दिन श्रीमत्भागवद् हुने गरेको छ । भगवानको नाम जप हुन्छ । श्रीमत्भागवद् कथामा नृत्य कथावाचन हुने गरेको छ ।’
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ कोहलपुरले दैनिक रूपमा भगवान श्रीकृष्णको विषयमा चर्चा परिचर्चा गर्दै आएको छ । गतिविधि भगवान श्रकृष्णका प्रचारप्रसार र हरेक नागरिकलाई सुख, शान्ति र समृद्धि होस् भन्ने उद्देश्यले गतिविधि सञ्चालन गर्दै आएको उनले बताएका छन् । संघले भक्तजनहरूको सहभागितामा विहानपख नियमित रूपमा अखण्ड भागवद् वाचन र साँझपख श्रीमत्भागवद् कथा श्रवण कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस्तै कृष्णभक्त कृष्ण बहादुर रोकायाले कोहलपुरमा आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा कोहलपुरमा बृहत कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । कोहलपुर नगर संस्कृतन कार्यक्रममा कृष्णका अनुयायीहरूको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन),नेपाल भगवान श्रीकृष्णको शिक्षा र भक्तियोग प्रचार गर्ने आध्यात्मिक संस्था हो । यसको स्थापना सन् १९६६ मा न्युयोर्कमा स्वामी प्रभुपादले गरेका थिए । नेपालमा यसका मन्दिर, समुदाय र शाखाहरू रहेका छन् जसले हरेक कृष्ण मन्त्रको प्रचार, सत्संग र सामाजिक कार्य गर्छन् ।
संघका नेपाल संस्थापक भने कृष्णकृपामूर्ति श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद हुन् । नेपालमा भगवद्गीता र भागवत पुराणको ज्ञान बाँड्ने उद्देश्यले संघको स्थापना गरिएको हो । संघमार्फत नेपालभर भजन–कीर्तन, मन्दिर सञ्चालन, र धार्मिक उत्सवहरू मनाउने जस्ता गतिविधि हुँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्