नेपालगन्ज ।
कोहलपुरमा क्याफे कविताको दोस्रो श्रृंखलामा कविद्वय हेमप्रकाश मन्जिल र कल्पना पलकले कविता सुनाएका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गर्दै आएको क्याफे कविताको दोस्रो श्रृंखलामा कविद्वयले पाँच–पाँचवटा कविता सुनाएका थिए ।
कवि मन्जिलले ‘म कर्णाली’, ‘बाटो’, ‘म सहर आइपुगेको छु’, ‘एस्ट्रेमा फ्याँकिएको सुनगाभाको जिन्दगी’ शीर्षकका कविता सुनाए भने कल्पनाले ‘नयाँ इतिहास’, ‘सपना’, ‘मेरो पौरख मेरो गौरव’, र ‘हरिबहादुर’ शीर्षकको कविता वाचन गरिन् ।
कोहलपुर निवासी मन्जिल नेपाली कवितामा परिचित भइसकेका कवि हुन् । उनी कवितामा समाजको कुरुपता र शक्ति संरचनाको उपल्लो संरचनामा रहेकाहरूको अत्याचारलाई प्रहार गर्न कविता लेख्ने गरेको बताउँछन् । उनका कवितामा संरचनाको पिँधमा रहेका वर्गको विद्रोहप्रधान आवाजको प्रतिनिधित्व छ ।
सल्यान निवासी कल्पना भने पहिलोपटक कविता वाचनको मन्चमा प्रस्तुत भएकी हुन् । उनका कवितामा दलित पात्रको जीवन चित्रणमार्फत ग्रामीण जीवनका पीडाबोध र आत्मचेतनाको स्वर प्रधान भएर आएको छ ।
उनले पहिलोपटक मन्चमा कविता सुनाउन पाउँदा आफूलाई हौसला मिलेको बताइन् । पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा.पुस्कर रिजालले क्याफे कविताको कार्यक्रम हरेक दुई महिनामा गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्