बैंकर संघले तेस्रो एमबीएएन स्पोट्र्स मिट गर्दै



काठमाडौँ ।

मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघले तेस्रो एमबीएएन स्पोट्र्स मिट २०२५ आयोजना गर्ने भएको छ । संघले असार ६ र ७ गते उक्त स्र्पोट्स मिट २०२५ आयोजना गर्न लागेको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिए । संघले मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौँको हाडिगाउँस्थित धनयन्तरी स्पोट्र्स फुटसलमा आउँदो शुक्रबार र शनिबार फुटसल, ब्याड्मिन्टन र टेबलटेनिस गरी दुईदिने खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । प्रतियोगिताअन्तर्गत फुटसलमा पुरुष र महिला गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुनेछ । फुटसलमा पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले भाग लिएका छन् । फुटसलको पुरुषतर्फ विजेता टिमले ८० हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।

महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले समान १०÷१० हजार रूपैयाँ प्राप्त गर्नेछन् । ब्याड्मिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलातर्फका विजेता र उपविजेताले क्रमश ः ३० हजार र २० हजार रूपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद हात पार्नेछन् । ब्याडमिन्टनको पुरुषतर्फ ६, महिलातर्फ नौ र भेट्रान्सतर्फ पाँचवटा टिम छन् ।

प्रतियोगितामा टेबलटेनिसतर्फ पनि तीन इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिंगल्समा २५, महिला सिंगल्समा ६ र भेट्रान्स सिंगल्समा सातवटा टिमले भाग लिएका छन् । टेबलटेनिसतर्फ पुरुष र भेट्रान्सका विजेताले समान १५ हजार र उपविजेताले १० हजार रूपैयाँ पाउनेछन् । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

मर्चेन्ट बैंकहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई एकै ठाउँमा उपस्थित गराई खेलकुदको माध्यमबाट एकआपसमा चिनजान गर्ने र उनीहरू सबैलाई स्वस्थ बनाउने स्पोट्र्स मिटको उद्देश्य छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न मर्चेन्ट बैंकबाट पाँचजनाको एमबीएएन स्पोटर््स मिट कमिटी बनाइएको छ । जसमा दयाकृष्ण घिमिरे, अमोद अधिकारी, विपीन नेपाल, सविन बुढाथोकी र विजय पोखरेल छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार