‘क्याफे कविता’मा गुञ्जिदै मञ्जिल र पलक



कोहलपुर (बाँके) ।

हरिबहादुर हरेक रात,
यो गाउँ निदाइसकेपछि खोल्छ
आफ्ना उदासिन आँखा,
निस्पट्ट अँध्यारोमा सल्काउँछ आरान
रातो, तातो दन्किएको
जो आफ्नै छातीभित्र सल्किएको छ ।

प्रस्तुत हरफ कवि कल्पना पलकद्वारा लिखित ‘खुट्किलो’ कविताको अंश हो । सल्यानकी युवा कवि पलक असार ७ गते कोहलपुरमा गुञ्जिदैछिन् । उनीसँगै ‘कविता क्याफे’मा चियाको चुस्कीसँगै कवितामा पोखिनेछन्, अर्का युवा कवि हेमप्रकाश मञ्जिल । जुम्ला घर भइ बाँकेलाई कर्मथलो बनाइरहेका मञ्जिल पनि युवा माझ चर्चित छन् । गजलकारसमेत रहेका कविका रूपमा परिचित छन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा हुन लागेको कविता क्याफेको यो दोस्रो श्रृंखला हो । यसअघि प्रतिष्ठानको आयोजनामा भएको पहिलो श्रृंखलामा दोस्ताज महेश र कवि प्रतिभाले कविता क्याफे तताएका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले सुरु गरेको क्याफे कविता नेपालमै कविता वाचनको नौलो प्रयास हो । जहाँ कविहरू खुला रूपमा कवितामा पोेखिन्छन् । उनीहरूका स्रोता हुने गर्दछन् दर्शकहरू ।

आयोजक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका सदस्य लक्ष्मण मानवका अनुसार कविता क्याफेको पूर्वतयारी तीव्ररूपमा भइरहेको छ । कवितामा भविष्य खोजिरहेका नयाँ पुस्ताका कविहरूलाई अवसर दिने उद्देश्यले कविता क्याफे आयोजना गरिएको उनले बताए ।

क्याफेमा कविता वाचनमात्रै नभएर कवितामा रुचि भएकाहरूका लागिसमेत पाठशालाका रूपमा अघि बढाउन खोजिएको सदस्य मानवको भनाइ छ । कविता क्याफे असार ७ गते सञ्चालन हुँदैछ । एडभान्स ल सेन्टर कोहलपुरको समन्वय र चिया एण्ड चियर्स कोहलपुरमा सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार