सल्यान ।
जिल्लामा निर्माण भएको श्रीनगर आधुनिक बसपार्क सञ्चालनमा आउने भएको छ ।
शारदा नगरपालिकालेको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित निर्माण सम्पन्न बसपार्क आगामी आर्थिक वर्ष २०८२–०८३ को प्रारम्भ तथा साउन महिनादेखि सञ्चालन हुने भएको हो । बसपार्क औपचारिक रुपमै सञ्चालन गर्ने तयारी छ । उक्त आधुनिक बसपार्क निर्माणमा हालसम्म ५ करोड ६० लाख खर्च भएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले बताए । उनका अनुसार अब नयाँ आर्थिक वर्षको प्रारम्भदेखि नै बसपार्क औपचारिक रूपमा सञ्चालन हुनेछ ।
बसपार्क सञ्चालनका लागि नगरपालिकाले विभिन्न यातायात व्यवसायीहरूसँग छलफल सम्पन्न गरेको छ । बसपार्कमा सहज यातायात व्यवस्थापन र सञ्चालनका लागि पार्किङ तथा टिकट घर सञ्चालन र लाग्ने शुल्कका विषयमा सल्यान र रूकुमका यातायात व्यवसायी समितिसँग छलफल गरिएको हो । नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८०–०८१ बाट निर्माण सुरु गरिएको यो बसपार्क करिब सात हजार वर्ग मिटर क्षेत्रभित्र अविस्थत छ । बसपार्क क्षेत्रमा २ वटा १७–१७ कोठाका व्यापारिक भवन तयार भइसकेका छन् । जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा छुट्टाछुट्टै सटर रहेका छन् ।
नगरपालिकाका इन्जिनियर खकेन्द्र मल्लका अनुसार व्यापारिक भवनसँगै सार्वजनिक शौचालय, गेट, पार्किङ, फुटपाथ, नाला लगायतका संरचना तयार गरिएको छ । नगरपालिकाको दीर्घकालीन योजनाको रूपमा रहेको आधुनिक बसपार्क संघीय सरकार र कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले निर्माण गरेको हो ।
नगरपालिकाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार बसपार्कलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने योजना बनाएको छ । व्यापारिक सटर, स्टल र भवनहरू भाडामा दिएर नियमित आम्दानी लिन सकिने उनले बताए । यसबाट उठ्ने राजस्व नगरको अन्य विकास योजनामा लगानी गर्न सकिने उनको भनाइ छ ।
जिल्लाकै व्यस्त बजारको रूपमा रहेको श्रीनगर बजार क्षेत्रको अव्यवस्थित पार्किङको व्यवस्थापनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ । बसपार्क बनाउने क्रममा जग्गा खाली गराउँदा विस्थापित भएका व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर स्टल वितरण गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले बताइन् ।
आधुनिक बसपार्कले यातायात व्यवसायमा ठूलो परिवर्तन ल्याउने सल्यान रूकुम यातायात प्रालिका अध्यक्ष अरविन्दकुमार राईको अपेक्षा छ । तर बसपार्क निर्माण गरेर मात्र नहुने भन्दै यसको दिगोपना, सुरक्षा, नियमित सरसफाइजस्ता कुरामा ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् । गाडी, यात्रु र सामानको सुरक्षा, उचित व्यवस्थापनका लागि नगर प्रहरीसँगै अन्य राज्यका सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने माग छ । आधुनिक बसपार्कले श्रीनगरमा थप व्यापारिक आकर्षण बढाउने स्थानीय व्यापारीहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्