१०६ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित नेपालगन्जबाट चुनकुन पक्राउ



नेपालगन्ज (बाँके) ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ प्रगतिनगरबाट आइतबार बेलुका ६ बजेको समयमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज– १ प्रगतिनगरका ३१ वर्षीय चुनकुन पासीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनकै घर नजिकबाट पक्राउ गरी खानतलासी गर्दा लागूऔषध खैरो हेरोइन १०६ ग्राम ८१० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले मिसन टुडेलाई जानकारी दिए ।

उनका अनुसार पासीले आफ्नो हातमा लिएको बस्ने पीर्काको खुट्टाभित्र लुकाइराखेको अवस्थामा उक्त मात्राको लागूऔषध बरामद गरिएको हो । पासीको साथबाट मोबाइल एक थान, डिजिटल तराजु एक थानसमेत बरामद गरेको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए । उनलाई लागूऔषध ब्यूरोले आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १ गते आइतबार