सिद्धार्थनगर ।
सिद्धार्थनगर नगरपालिका–९ को आयोजनामा गत शुक्रबार एक दिवसीय “लागू औषध रोकथाम, वैदेशिक रोजगार तथा साइबर अपराधसम्बन्धी” चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयकी प्रमुख रञ्जु के।सी। थिइन्।
कार्यक्रममा उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि कृष्णप्रसाद मरासिनी, वडा सचिव, टोल सुधार समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक कार्यकर्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रशिक्षणमा प्रहरी प्रशिक्षक नेत्र बुढा र प्रशिक्षक अधिकृत सीता पन्तले लागू औषधको असर, वैदेशिक रोजगारीका अवसर तथा जोखिम, र साइबर अपराधका चुनौतीबारे सहभागीहरूलाई जानकारी दिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले आजको युवापुस्ताको बढ्दो दुब्र्यसनप्रति समाज, परिवार र स्थानीय तह सबैको साझा जिम्मेवारी रहेको बताए। उनले भने, “हामी आफ्ना सन्तानभन्दा अरूका सन्तानतर्फ बढी चासो दिन्छौं। सानो कुरामा नकारात्मक टिप्पणी गर्ने, साथीको चयनप्रति बेवास्ता गर्ने, र पकेट खर्च कहाँ जान्छ भन्ने थाहा नपाउने प्रवृत्तिले नै अहिलेको पुस्ता गलत बाटोमा हिँड्न बाध्य भइरहेको छ।”
उनले युवाको कमजोरीलाई प्रचार गर्नुको सट्टा मार्गदर्शन दिने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनका अनुसार, “सकारात्मक सोच र सशक्त सहयोग बिना सही बाटो देखाउने प्रयास सफल हुँदैन।” वक्ताहरूले लागू औषध, बेरोजगारी र साइबर अपराधलाई आजको समयका जटिल र बहुआयामिक समस्या मानेर यसको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।
सहभागीहरूका अनुसार, लागू औषधको बढ्दो समस्या, वैदेशिक रोजगारमा देखिएका ठगी तथा विसंगति, र साइबर अपराधको फैलँदो जोखिमसँग जुझ्न सामुदायिक तहमा निरन्तर चेतनामूलक कार्यक्रम आवश्यक छन्। उनीहरूले विद्यालयस्तरमै लागू औषधसम्बन्धी शिक्षा, डिजिटल सुरक्षा सचेतना, र रोजगारपरक परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिए।
कार्यक्रमले युवाहरूलाई सही मार्गमा हिँड्न उत्प्रेरणा दिने, परिवार र समाजलाई उत्तरदायी बनाउने र सकारात्मक परिवर्तनको बाटो खोल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए। उनीहरूले दीर्घकालीन रणनीति निर्माण र कार्यान्वयनका लागि सबै सरोकारवालाबीच समन्वय र प्रतिबद्धता अपरिहार्य रहेको निष्कर्ष थियो।









प्रतिक्रिया दिनुहोस्