नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नेपालगन्जमा १६ महिनादेखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका छन् । उपमहानगरका सबै २३ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भैसकेका छन् ।
घरधुरी सर्वेक्षणका क्रममा खोप लगाउने उमेरका तीन हजार तीन सय ५७ जना बालबालिकाहरूमध्ये तीन हजार एक सय ११ जना बालबालिकाले पूर्णखोपको मात्रा प्राप्त गरेका छन् । यसैगरी छुटेका दुई सय १८ जना र शून्य डोज बालबालिका २८ जना फेला पारी पूर्णखोपका लागि नियमानुसार वडा स्वास्थ्य संस्थामार्फत समय तालिका बमोजिम सबै जना खोप लिने क्रममा रहेको स्वास्थ्य महाशाखा प्रमुख चन्दले जानकारी दिए ।
त्यसका लागि २३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई महिला स्वास्थ्य स्वयंसेविकासहित घरधुरी सर्वेक्षणका लागि परिचालन गरिएको थियो । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले सबै खोपको मात्रा लगाए नलगाएको यकिन गरिएको थियो ।
घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजकसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना गराउन स्वास्थ्यकर्मीको भूमिकाको प्रशंसा गरेका थिए ।
नेपालगन्ज २०७६ सालमा पूर्णखोप घोषणा भएको थियो । तर, प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्नुपर्दछ । त्यसै अनुसार यस पर्ष पनि पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । योसँगै यस वर्ष बाँकेमा सात वटा पालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा भएका छन् । अब नरैनापुर गाउँपालिका मात्र घोषणा हुन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्