फिचर लेखन तालिम सम्पन्न



बर्दिया ।

पत्रकारहरूका लागि क्षमता विकाससम्बन्धी दुईदिने फिचर लेखन तालिम बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ । बुधबारबाट सञ्चालन भएको फिचर लेखन तालिम बिहीबार सम्पन्न भएको हो । नेपाल पार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा दुईदिने तालिम बर्दियामा सञ्चालन भएको थियो ।

पत्रकारहरूको क्षमता विकास गर्नुका साथै फिचर लेखनमा जोडदिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले बताए । पत्रकारहरूले सामान्य समाचार लेखेर मात्रै नहुने बताउँदै उनले फिचर लेख्न जरुरी रहेको बताए । राम्रोसँग फिचर लेख्न सके थुप्रै अवसरहरू आउने उनले बताए । लेख्न सके पत्रकारिता क्षेत्रमा टिक्न र राम्रो अवसर खोज्न अन्त भौँतारिनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ थियो ।

दुई दिनसम्म सिकेका कुराहरूको भरपुर प्रयोगमा ल्याउन उनले आग्रह गरे । तालिम कत्तिको प्रभावकारी भयो भन्ने कुरा आउने दिनहरूमा सञ्चारमाध्यममा देखिने फिचरहरूले प्रष्ट पार्ने बताउँदै उनले समयअनुसार आफूलाई अपडेट गराउँदै लेखन शैलीलाई निखार्न आवश्यक रहेको बताए ।

दुईदिने तालिममा डा.सुदिप गौतम, टीका बस्नेत र शंकर खनालले फिचर लेखनको तरिका, महत्व, लेखन शैली लगायतका बारेमा प्रशिक्षण दिएका थिए । फिचर लेखन पत्रकारहरूका लागि अतिआवश्यक पर्ने कुरा रहेकाले सबैले लेख्न सक्नुपर्ने उनीहरूले जोड दिएका थिए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार