बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ र बालन्याय सम्पादनसम्बन्धी २०८० मा रहेका व्यवस्थाले प्रहरीलाई बालसुधार गृहमा रहेका बन्दीहरूमाथि बल प्रयोग गर्ने छुट दिँदैन् । बालबालिकासम्बन्धी नियमावली २०७८ को नियम ४१ को उपनियम ४ मा सुधार गृहको भित्री क्षेत्रको सुरक्षा व्यवस्था सादा पोशाकमा खटिएका प्रहरीले मात्रै गर्न पाउने भनिएको छ । सुरक्षाकर्मीहरू निहत्था मुकदर्शक भएर बस्नुपर्ने अवस्था कानुनले नै सृजना गरिदिएको छ । अपराधिक मानसिकता भएका अराजक बाल बन्दीहरूले बालबालिकाको अधिकार रक्षाका लागि गरिएको व्यवस्थाको फाइदा उठाउँदै बालसुधार गृहलाई कब्जामा लिने गरेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नाम बालसुधार गृह । तर, यहाँ रहेका २९ प्रतिशत बन्दीहरू १८ वर्ष भन्दामाथि उमेर पुगिसकेकाहरू छन् । तीनै १८ वर्षमाथिका बन्दीहरूले बारम्बार बालसुधार गृहलाई रणमैदानमा परिणत गर्छन् । जिल्लाभरीको प्रहरी जनशक्ति उनीहरूले मच्चाएको उपद्रोलाई नियन्त्रणमा लिनका लागि खटाउनुपर्छ ।
यो अवस्था बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयन्दु बालसुधार गृहको हो । शुक्रबार पनि उक्त बालसुधार गृहमा त्यस्तै अवस्था सृजना गरियो । मध्यराति बालसुधार गृहमा रहेका ६ जना बन्दीमाथि सांघातिक हमला भयो । बिहान प्रहरी पुगेपछि सुधार गृहमा रहेका बालबन्दीहरू बाहिर निस्किए । नजिकैको टोलमा आतंक मच्चाउन थाले र एउटा किराना पसल नै लुटपाट गरिदिए ।
बालसुधार गृहमा एकपटक नभई पटक–पटक रडाको मच्चाइन्छ । अराजक बन्दीहरूका कारण उमेर कम भएका बालकहरू असुरक्षित छन् । २०८० साल असोज ५ गते बालसुधार गृहभित्रै भएको झडपमा परी एक २१ वर्षीय बालबन्दीको मृत्यु भएको थियो । त्यसबाहेक पटक–पटक हुने गरेका झडपमा पनि बालबन्दीहरू गम्भीर घाइते भएका छन् । शनिबार राति भएको हमलामा घाइते भएका बन्दीहरूको पनि टाउकोमा धारिलो हतियारले प्रहार गरिएको छ । उनीहरूकमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । २०८१ फागुन २१ गते सुर्खेतबाट पुर्पक्षका लागि बालसुधार गृहमा राख्न तीनजना बालबन्दीहरू ल्याएर आएका तीनजना प्रहरीहरूमाथि नै बालबन्दीहरूले आक्रमण गरेर घाइते बनाइदिएका थिए ।
बालसुधार गृह रहेको क्षेत्रका स्थानीयबासीहरू पनि उनीहरूको उपद्रोदेखि आजित छन् । उनीहरू पटक–पटक हुने झडपपछि बन्दीहरू भागेर बाहिर आउने गर्दा आफूहरू असुरक्षित रहेको बताउँछन् । ‘आज पनि पसल लुटे, घरको ढोका तोडफोड गरे । राति बाहिर आएर के पो गर्ने हुन् भन्ने डरले हामी जागै बस्नुप¥यो,’ स्थानीय शिवमविर सिंहले पत्रकारहरूसँग भने ।
यस्तो उपद्रो हुँदापनि सुरक्षा निकाय मुकदर्शक भएर बस्नुपर्ने अवस्था छ । शनिबार पनि त्यस्तै अवस्था देखिन्थ्यो । राति ६ जनामाथि आक्रमण गरेर प्रहरीकै मोटरसाइकल लगेर दुई जना बन्दी फरार भए । बिहान सुधारगृहको गेट पार गरेर सबैजसो बन्दीहरू बाहिर निस्केपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको साटो भाग्नुपर्ने अवस्था आयो । सुधार गृह प्रमुखको स्कुटरमा तोडफोड गरे । नजिकै टोलमा पसेर उनीहरूले स्थानीय एक किराना पसलमा तीन लाख बढीको सामान लुटपाट गरे । प्रहरीको भने भागाभाग । एक प्रत्यक्षदर्शी भन्दै थिए, ‘उनीहरूले झ्याल फोडेर काँचलाई हतियारको रूपमा हातमा समाएका थिए । प्रहरी बिचराहरू भागिरहेका थिए । स्थिति हेर्दा साह्रै डरलाग्दो थियो ।’
यतिमात्रै होइन् सुधारगृहको आफैँ बस्ने भवनको भुइँतलामा बन्दीहरूले आगजनी गरे । आफूहरू माथिल्लो तलामा चढेर हथौडाले घरको भित्ता फोर्दै तल रहेका सुरक्षाकर्मीमाथि इट्टा लगायतका साम्रगीले प्रहार गर्न थाले । भवन तोडफोड गरे । ओढ्ने ओछ्याउनेदेखि लिएर सरसामानहरू जलाएर र तोडफोड गरे सखाप पारे । पानी ट्यांकी नै खसालीदिए ।
बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ र बालन्याय सम्पादनसम्बन्धी २०८० मा रहेका व्यवस्थाले प्रहरीलाई बालसुधार गृहमा रहेका बन्दीहरूमाथि बल प्रयोग गर्ने छुट दिँदैन् । बालबालिकासम्बन्धी नियमावली २०७८ को नियम ४१ को उपनियम ४ मा सुधार गृहको भित्री क्षेत्रको सुरक्षा व्यवस्था सादा पोशाकमा खटिएका प्रहरीले मात्रै गर्न पाउने भनिएको छ । ऐनको दफा ४२ मा बालसुधार गृहमा रहेका बन्दीहरूलाई नेल र हत्कडी पनि लगाउन नपाइने भनिएको छ । सुरक्षाकर्मीहरू निहत्था मुकदर्शक भएर बस्नुपर्ने अवस्था कानुनले नै सृजना गरिदिएको छ ।
अपराधिक मानसिकता भएका अराजक बाल बन्दीहरूले बालबालिकाको अधिकार रक्षाका लागि गरिएको व्यवस्थाको फाइदा उठाउँदै बालसुधार गृहलाई कब्जामा लिने गरेको त्यहाँ खटिने सुरक्षाकर्मीहरूले बताए । बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४३ को उपदफा ४ मा बालक उमेरमै कानुनी विवादमा फसेर सुधार गृहमा राखिएका तर १८ वर्ष उमेर पुगेका बन्दीहरूलाई पनि बालसुधार गृहमै राख्नुपर्ने व्यवस्था गरेको छ । सँगै उक्त ऐनले १८ वर्ष उमेर पुगेका बाल बन्दीहरूलाई अरु बाल बन्दीहरूबाट अलग्गै हुनेगरी राख्नुपर्ने पनि व्यवस्था गरेको छ ।
तर, जयन्दु बालसुधार गृहमा १८ वर्ष उमेर पुगेका बाल बन्दीहरूलाई पनि सानो उमेर बाल बन्दीहरूसँगै राख्ने गरिएको छ । उनीहरूका लागि अलग्गै राख्ने व्यवस्थाका लागि बाँकेकै नौबस्तामा अर्काे बालसुधार गृह सञ्चालनमा ल्याइएको छ । तर, जयन्दुमा राज गर्दै आएका त्यस्ता बाल बन्दीहरू नौबस्ता सार्न खोज्दा प्रहरीलाई अवरोध पु¥याउँछन् । उनीहरू अरु बाल बन्दीहरूलाई पनि बहकाएर प्रहरीको प्रतिरोध गर्न लगाउँछन् । आगजनी र तोडफोडमा उत्रिन्छन् ।
जयन्दु बालसुधार गृहका प्रमुख विमला काउचामगरका अनुसार शनिबारसम्म सुधार गृहमा रहेका दुई सय ६५ जना बन्दीहरूमध्ये ७६ जना १८ वर्ष उमेर पुगिसकेकाहरू छन् । उनीहरू बाल उमेरमा कानुनी विवादमा परेपनि अहिले युवा उमेरमा पुगेका छन् । ‘उनीहरू नै पटक–पटक अनेक निहुँमा आतंक मच्चाउँछन् । उनीहरूकै कारण सानो उमेर बालकहरू असुरक्षित छन्,’ काउचामगरले मिसन टुडेसँग भनिन् ।
जयन्दु बालसुधार गृहमा हाल एक सय ९० जना राख्न सकिने क्षमता छ । तर, ७५ जना बढी बाल बन्दीहरू राख्नुपरिरहेको छ । मेस हल, लाइब्रेरी हल, कन्फ्रेन्स हल, काउन्सिलिङ हल भनेर निर्माण गरिएका कक्षहरू पनि बाल बन्दीहरूका लागि बस्ने र सुत्ने व्यवस्थाका लागि प्रयोग गर्नु परिरहेको प्रमुख काउचामगर बताउँछिन् ।
१८ वर्ष उमेर पुगेका बाल बन्दीहरूको आतंक कति छ भने सुधार गृहको एउटा कक्ष काउन्सिलिङ कक्ष भनेर व्यवस्था गरिएको थियो । एक सुरक्षाकर्मीका अनुसार उक्त कक्षलाई अराजक मानसिकताका बाल बन्दीहरूले ‘डेन्जर रूम’को नाम दिएर अरु बन्दीहरूलाई यातना दिने कक्ष बनाएका छन् । शनिबार उपद्रो मच्चिइरहेका बेला सुधारगृहमा पुगेकी एक बन्दीकी अभिभावकले भनिन्, ‘बदमासहरूका कारण मेरो छोरा असुरक्षित छ । सरकारले सुरक्षाको व्यवस्था गर्न सकेन् ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी कानुनमै १८ वर्षमाथिका बन्दीहरूको सम्बन्धमा सुधार नगरीकन बालसुधार गृहको समस्या समाधान नहुने बताउँछन् । उनले भने, ‘१८ वर्ष उमेर पुगेपनि सुधार गृहमै राख्नुपर्ने कानुनी व्यवस्थामा केही सुधार जरुरी देखिएको छ । सँगै जे गरेपनि प्रहरी हेरेर बस्नुपर्ने अवस्था छ । यसको सुधार नगरेसम्म समस्या समाधान हुने देखिँदैन् ।’
शनिबार प्रहरीले आगलागीले बालकहरूको ज्यान नै जोखिममा पर्ने स्थिति आएपछि सुधार गृहभित्र प्रवेश गरेर सामान्य बल प्रयोग गर्दै नियन्त्रणमा लिन बाध्य भएको प्रजिअ जोशीले बताए । प्रहरीका अनुसार त्यसक्रममा तीन जना प्रहरीसहित करिब २० भन्दा बढी बन्दीहरू घाइते भएका छन् । करिब ४० भन्दा बढी बन्दीहरूलाई नौबस्ता कारागारमा सारिने भएको छ ।
सुधार गृहभित्रै कसरी पुग्छ लागूऔषध र हतियार ?
सुधार गृहका बन्दीहरूले उपद्रो मच्चाउनुको अर्काे कारण लागूऔषधको पहुँच रहेको पनि स्थानीयहरूले बताए । स्थानीयबासीहरूका अनुसार सुधार गृहमा रहेका बाल बन्दीहरू लागूऔषधका दुव्र्यसनीहरू छन् । उनीहरूसम्म सुधारगृहभित्रै लागूऔषध पुग्छ । बन्दीहरूका अनुसार भित्रबाटै उनीहरूले टेलिफोन सम्पर्कबाट लागूऔषध मगाउने गरेका छन् । सुरक्षाकर्मीले आगन्तुकहरूले ल्याएका सामानहरू चेकजाँच गर्दैनन् ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की शनिबार पनि बन्दीहरूबाट हथौडा, रड र रेलिङ भाँचेर बनाइएका घरेलु हतियारहरू बरामद भएको बताउँछन् । बालबालिकालाई सुधार गर्ने भनेर सञ्चालनमा ल्याइएको सुधारगृहमा लागूऔषध र घरेलु हतियार कसरी पुगे त ? बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी यस विषयमा छानबिन हुने बताउँछन् । उनले भने, ‘रड पुगेको छ भित्र । हथौडाहरू लिएका छन् । अन्य नलैजानुपर्ने चिजहरू पनि लिएको आशंका छ । कहाँबाट पुग्यो त भन्नेबारेमा छानबिन हुन्छ ।’
तर समस्या देखिएका बेला छानबिनको कुरा गर्ने तर बिर्सँदै जाने पटक–पटक भइरहेको हुन्छ । जयन्दु बालसुधार गृहमा खटिएका एक प्रहरी कर्मचारीले भने, ‘हामी बन्दी भेट्न आउनेहरूले ल्याइदिएको सामान चेकजाँचसमेत गर्न पाउँदैनौँ । उनीहरूको कोठामा पसेर चेकजाँच गर्ने त परै जाओस् ।’
बालसुधार गृहको चारै कुनामा वाच टावर वा अन्य संरचना बनाएर प्रहरी कर्मचारी खटाएर सुरक्षा दिने व्यवस्था मिलाउनुपर्ने व्यवस्था बालबालिकासम्बन्धी नियमावली २०७८ मा गरिएको छ । तर, जयन्दु बालसुधार गृहमा त्यस्तो खालको व्यवस्था नै छैन् । सुधार गृहको सुरक्षाका लागि भनेर १२ जना प्रहरी सादा पोशाकमा खटाइने गरेको छ ।
सरकारको लापरबाही र बेवास्ता
बालक उमेरमा कानुनी विवादमा परेका बालबालिकालाई सुधार गरी असल नागरिक बनाउने नियतका साथ बालसुधार गृहको परिकल्पना गरिएको थियो । तर, अहिले सरकारले बालसुधार गृहकै सुधार गर्न नसक्दा कानुनी विवादमा परेका बालबालिकाहरू सुधार गृहमा बसेर सुध्रिनुको साटो झन् बिग्रने र असुरक्षित जीवन जिउन बाध्य हुने स्थितिमा पुगेका छन् ।
बालसुधार गृहमै रहेका बालबालिकाहरूलाई उचित शिक्षाको अवसर दिनुपर्ने व्यवस्था बालबाबालिकासम्बन्धी ऐनमा गरिएको छ । तर, जयन्दु बालसुधार गृहभित्र कक्षा ५ देखि माथिको विद्यालयको अनुमतिका लागि गाउँपालिकासँग माग गरिएपनि अहिलेसम्म अनुमति नपाइएको सुधार गृह प्रमुख काउचामगर बताउँछिन् । उनले भनिन्, ‘गाउँपालिकालाई हामीलाई कक्षा ५ भन्दा माथिको विद्यालय मात्रै आवश्यक छ भनेर अनुमति मागेका थियौँ । तर, उहाँहरू कक्षा १ बाटै अनुमति हुन्छ नभए हुँदैन भन्नुहुन्छ । अहिलेसम्म अनुमति पाइएको छैन् ।’
अर्काेतिर बालबालिकामा सीप विकास गरी उनीहरूलाई समाजमा पुनस्र्थापित हुन सहजीकरण गर्ने योजना बनाएर काम गर्नुपर्ने पनि कानुनले व्यवस्था गरेको छ । तर, बालबालिकाहरूले अहिलेसम्म त्यस्ता सीप सिक्न पाएका छैनन् । बालबालिकाको नियमित स्वास्थ्य जाँच र औषधोपचार पनि हुँदैन् ।
सुधार गृहमा मनोरञ्जनका लागि पनि उपयुक्त व्यवस्था छैन् । शुक्रबार र शनिबार भएको उपद्रोका पछाडि पनि होलीको लागि भनेर पर्याप्त रङ नपाइएपछि सुरु भएको विवाद कारण रहेको बालबन्दीहरूले बताएका छन् । उनीहरूका अनुसार पाँच किलो रङमात्रै नपुगेपछि थप मगाउन भनिएको थियो ।
यसैगरी गीतसंगीतको व्यवस्था गर्न पनि बन्दीहरूले माग गरेका थिए । उक्त व्यवस्था नभएपछि सुरु भएको विवादले बन्दीहरू दुई समूहमा बाँडिएर आक्रमणमा उत्रिएको पाइएको छ । क्षमताभन्दा बढी बन्दी हुनु, काउन्सिलिङ र बाल बन्दीहरूको समाजमा पुनस्र्थापनाको कार्ययोजना नहुनु पनि सुधारगृहमा समस्या उत्पन्न हुने कारणहरू हुन् ।
प्रतिक्रिया दिनुहोस्