शिक्षक आन्दोलनको निकास निकाल्न माग



नेपालगन्ज : नेपालगन्जका मानवअधिकारकर्मी तथा कानुन व्यवसायीहरुले विगत ३ हप्ता अघि देखि जारी शिक्षक आन्दोलनका कारण बालबालिकाहरूको पढ्न पाउने हकबाट बञ्चित हुने देखिएकोले तत्काल निकास निकाल्न माग गरेका छन् । उनीहरुले यंयुक्त विज्ञप्ति जारी गर्दै वार्ताका माध्यामबाट तत्काल निकास निकाल्न सरकार र आन्दोलनरत शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा सर्वोच्च अदालतले समेत आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधनका लागि उचित र आवश्यक निर्णय गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको स्मरण गराइएको छ । लामो समय देखि शिक्षकहरुको आन्दोलन हुँदा सरकारी बिद्यालयहरुको रिजल्ट प्रकाशन, एसइइको उत्तर पुस्तिका परिक्षण, पढन पाठन, सामुदायिक बिद्यालयहरुमा भर्ना अभियान प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकको मागबारे विधिसम्मत उचित निर्णय लिन र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्किइ नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न उनीहरुको अनुरोध छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा नभई लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्ने देखिएको र एसईईको परीक्षाफल समयमै प्रकाशित हुन नसक्ने अवस्था आउन नदिई समयमै परिक्षाफल प्रकाशित गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

उक्त विज्ञप्ति सार्वजनिक सरोकार कानून व्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सह संयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी लगायतले संयुक्त रुपमा जारी गरेका हुन् । यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश संयोजक भोला महत, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका अधिवक्ता बल बहादुर चन्दको तर्फबाट समेत उक्त संयुक्त विज्ञप्ति जारी गरिएको जनाइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार