सरला सुवेदी
कोहलपुर चपरगौडीको भण्डारी टोल, जहाँ म हुर्कंे । हाम्रो परिवार ५५ सालमा बर्दियाबाट बसाइँ सरेर आएको थियो । हामीजस्तै अरू परिवारहरू पनि दाङ, सुर्खेत, बाजुरा, सल्यान, हुम्ला, बर्दिया रकाठमाडौँलगायतका विभिन्न ठाउँबाट बसाइँसराइ गरेर आएका थिए ।
त्यो टोलमा जम्माजम्मी दुई सय घरधुरी थियौँ । बाहुन, क्षत्रीहरूको बाहुल्यता रहेको टोलमा केही घर ठकुरी र थारूहरूको बसाइ थियो । जम्मा एक घर दलित समुदायका बुद्धिबहादुर सार्कीको घर थियो ।
उहाँ पनि बर्दियाबाटै बसाइँ सरेर आउनुभएको थियो । सायद, हामी सबै विभिन्न ठाउँहरूबाट आएकैले हुनसक्छ, आपसमा आत्मीय सम्बन्ध बिस्तार हुँदै गयो । अहिले त्यो जानकीनगर टोलले परिचित छ भने करिब चार सय बढी घरधुरी यहाँ छन् । म यस्तै ५ र ६ कक्षामा पढ्थे हुँला । म सँगैकी बुद्धिबहादुर बुबाको छोरी थिइन् । उनी भर्खरै कक्षा १ मा पढ्न जाने गर्थिन् । हामी सँगै स्कुल जाने आउने गथ्र्यौं । उनको घरमा मिठो खानेकुरा पाक्दा बासनाले तानेर लान्थ्यो । म जान्थेँ, आनन्दले खाएर फर्किन्थेँ । मसँगसँगै अरू दौँतरीहरू पनि जान्थे, मैले जसरी नै खाएर फर्किन्थे । हामी सबै दौँतरीहरू एकसाथ खेल्थ्यौँ ।
मलाई याद भएअनुसार, हामी केटाकेटीहरू मात्रै नभएर हाम्रा बाआमाहरू पनि एकापसमा मिलेर बस्नुहुन्थ्यो । अर्मपर्म चलाउनुहुन्थ्यो । ऐँचोपैचो, सरसापट गर्नुहुन्थ्यो । पानी पधेँरो सबै साझा थियो । जसको घरमा पूजा राखिए पनि सबै जना सरिक हुने, उत्सव मनाउने गथ्र्यौं ।
हामी बसाइँ सरेर आएपछि सार्की बुबाले नै सबै घरहरू बनाउनुभएको थियो । उहाँ आफ्नो काममा एकदम अब्बल हुनुहुन्थ्यो ।
उहाँलाई सबैले ‘मिस्त्री’ बुबा वा दाइ भन्ने गर्थे । माटाका गारा, काठका झ्याल ढोका, जस्तापाता, खर र टायलले छानो हालिएका घरहरू बनाइएका थिए । मलाई सानैदेखि सफा र चिटिक्कका घरहरू असाध्यै मन पथ्र्याे । हाम्रा घरहरू लिपपोत गरिएको हुन्थ्यो । टोलभरिमै सार्की बुबाको घर सानो र साह्रै आकर्षक लाग्थ्यो । एकदमै सफासुग्घर थियो ।
उहाँको त्यो घरजस्तै हाम्रो घर पनि आकर्षक होस् भन्ने सोच्थेँ । घर आकर्षक बनाउन मैले पनि माटो र गोबर मिसाएर घर लिप्थे । आँगन लिप्थेँ । बाटोसमेत लिप्थेँ । लिपेको नसुकीकन कोही हिँडेमा म रिसाउँथे । मैले लिपेको आँगन र बाटोको लिपपोतसँगै साँझ दर्केको पानीले सबै बिगाथ्र्याे । साह्रै चित्त दुख्थ्यो अनि रुन मन लाग्थ्यो । फेरि सफा चिटिक्क देखियोस् भनेर लिप्ने गर्थें । घरकाले र छिमेकीले समेत ‘यसले कत्ति लिपेकी ? यसले घर लिप्यो कि पानी पर्छ’ भन्थे ।
ठ्याक्कै थाहा त भएन सायद २०६१ सालतिरको कुरा हो, मिस्त्री बुबाको छोराले क्षेत्रीको छोरी भगाएर ल्याउनुभयो ।
छोरोको बिहे धुमधामसँग गर्ने मिस्त्री बुबाको ठूलो धोको रहेछ । छोराले भने केटी सुटुक्कै भगाएर ल्याएपछि बुबामा केही असन्तुष्टि छायो । तर उहाँले गाउँका सबैलाई बिहे भोज खुवाउने निधो गर्नुभयो । गाउँमा सबैको बिहे, ब्रतबन्ध, पूजाआजाको निम्तो मान्दै आएको बुबालाई आफ्नो घरको तर्फबाट बिहेको भोज खुवाउने धोको पूरा गर्नु थियो ।
उहाँले दुलही भित्र्याउने, बिहेको भोज खुवाउने प्रण गर्नुभयो । अनि बिहेको तयारीमा लाग्नुभयो । तयारी चलिरहेकै एक बिहान मिस्त्री बुबा हाम्रो घरमा आउनुभयो । मेरो बुबासँग उहाँले सहयोगको अनुरोध गर्नुभयो । ‘छोरोको बिहेको भोज हजुरको घरमा गर्नुप¥यो ।’ ‘किन र ?’
‘मेरो घरमा सबै नआउलान् कि भोज खान ?!’ ‘आउने जति आउँछन्, नआउने जति आउँदैनन् । किन कर गरिगरि बोलाउनू ?’
उहाँहरूले यस्तो भनेको सुनेर मलाई अचम्म लाग्यो । उहाँहरूबीचको यो संवादपछि बिहे भोजका निमित्त पकाउने, खाने र खुवाउने बन्दोबन्द हाम्रो घरमा गरियो । मिस्त्री बुबाले आफ्नो घरमा धूमधामसँग बुहारी भित्र्याउनुभयो । हाम्रो घरमा सबैलाई भोज खुवाउनुभयो । त्यो दिन मैले थाहा पाएँ, विभिन्न ठाउँहरूबाट आएर बसालेको नयाँ बस्ती, सुन्दर र आकर्षक टोल बसाल्नका निमित्त घर निर्माण गर्ने दक्ष मिस्त्री बुबाको घर ‘अछूतको घर’ मानिने रहेछ । किशोरअवस्थाभरि मैले देख्न नसकेको छुवाछुत बल्ल वयस्क लाग्दा मैले देख्न सकेँ ।
प्रतिक्रिया दिनुहोस्