कोहलपुर नगर प्रहरीद्वारा आइसक्रिमका ठेला नियन्त्रण



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा दर्ता बिनै सञ्चालन भइरहेका आइसक्रिमका ठेला नियन्त्रणमा लिइएको छ । लामो समयदेखि कोहलपुर नगरपालिका विभिन्न स्थानमा बिना दर्ता व्यवसाय गरिरहेका ठेलाहरू नियन्त्रणमा लिइएको हो । पटकपटक दर्ताका लागि आह्वान गर्दासमेत अटेर गरेपछि सोमबार कोहलपुर नगर प्रहरीले १८ वटा ठेला नियन्त्रणमा लिएको थियो ।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार सोमबार नियन्त्रणमा लिइएका मध्ये विभिन्न ६ वटा कम्पनीद्वारा सञ्चालित ठेला रहेका छन् । उनले तीमध्ये ६ वटा आइसक्रिम कम्पनी नगरपालिकामा दर्ता भएको पाइएको बताए । अन्य ३ वटा कम्पनी भने दर्ता बिनै सञ्चालनमा रहेको पाइएको प्रमुख थापाले बताए ।

कोहलपुरमा हाल सञ्चालन भइरहेका मध्ये कोहलपुर–१० स्थित लक्ष्मी आइसक्रिम उद्योग, कोहलपुर–१० स्थित एभरेस्ट आइसक्रिम उद्योग र कोहलपुर–११ स्थित एभरेस्ट आइसक्रिम उद्योग दर्ता भएको पाइएको थापाको भनाइ छ ।
यस्तै नियन्त्रणमा लिइएकामध्ये कोहलपुर–१० स्थित निराजन आइसक्रिम उद्योग, शान्ति आइसक्रिम उद्योग र रविन्द्र आइसक्रिम उद्योग दर्ता बिनै सञ्चालन भइरहेको पाइएको उनले मिसन टुडेलाई जानकारी दिए । कोहलपुरमा व्यवसाय गर्नको लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्छ । दर्ता बिना सञ्चालन गर्न पाइँदैन् । दर्ता नभएकालाई दर्ता गरेर मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छौँ । उहाँहरू अब दर्ता गरेर मात्रै सञ्चालन हुन्छन् ।’ कोहलपुर नगर प्रहरी प्रमुख थापाले भने ।

कोहलपुरमा फुटपाथ र मुख्य सडक क्षेत्रमा राखेर कुनैपनि व्यवसाय गर्न पाइँदैन । यसैगरी उक्त अवसरमा फुटपाथमा बिक्री गर्नुपर्ने मापदण्ड थाहा नभएको पाइएको र उनीहरूलाई सम्झाइएको उनले बताए । व्यवसायका लागि नगरपालिकामा दर्ता भएका र नभएका आइसक्रिम उद्योगहरूले सार्वजनिक स्थान, फुटपाथ र सडकको भागमा बस्न नमिल्ने उनको भनाइ थियो । यस्तै, राजमार्ग क्षेत्रमा सडकको केन्द्र रेखादेखि २५ मिटर बाहिर खाली ठाउँमा मात्रै व्यवसाय गर्न पाइने उनले जानकारी दिए । दर्ता बिनै राजमार्ग क्षेत्रका मुख्य सडक क्षेत्रमै व्यवसाय गर्दा दुर्घटनाको समेत जोखिम बढेको छ ।

उनले कोहलपुरमा खुलेयाम बिक्रीवितरण भइरहेका आइसक्रिमको गुणस्तरको विषयमा लिखित रूपमै उजुरी आएको बताए । उजुरी आएका कारण आइसक्रिम व्यवसायमा कडाइ गर्न थालेको र स्थलगत रूपमा निरीक्षणको तयारी गरिरहेको नगर प्रमुख थापाको भनाइ छ । त्यतिमात्रै नभएर कोहलपुर क्षेत्रमा प्लाष्टिकमा बिक्रीवितरण हुने फलफूलसमेत गुणस्तरहीन रहेको देखिएको थापाले बताए । ‘मण्डीमा रहेका फलफूल केही दिनमै ड्यामेड हुन्छन् । त्यसपछि फुटपाथमा आउँछन् । ती गुणस्तरहीन छन् । यहाँ सरासर ठगी भइरहेको छ ।’ प्रहरी प्रमुख थापा भन्छन् । यस विषयमा कोहलपुर नगर प्रहरीले गम्भीर रूपमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार