बुटवल ।
ट्राफिक लाइटको अभावका कारण असहज बुटवलको मुख्य सडक अहिले सहज बन्दै गएको छ । बुटवलको मुख्य सडकमा ट्राफिक लाइट नहुँदा सडकमा जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता र दुर्घटनाको डर थियो । अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरेपछि यात्रुले केही सहजता महसुस गरेका छन् ।
ट्राफिक लाइटको प्रयोगबाट यातायात व्यवस्थापन सहज भएको गाडी चालक कमल जीसीले बताए । पहिला ट्राफिक लाइट नहुँदा सडकमा जथाभावी चल्ने सवारी साधनका कारण दुर्घटना हुने र आफ्नो कारणले भन्दा अरूको कारणले पनि दुर्घटना हुने सम्भावना कम भएको र ढुक्कसँग चलाउन थालिएको उनले बताए ।
सडक दुर्घटनामा कमी ल्याउन र बुटवललाई व्यवस्थित, मर्यादित र उज्यालो बुटवल बनाउनका लागि हाइमस्ट लाइटदेखि ट्राफिक लाइटको व्यवस्था गरिएको बुटवल उपमहागरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बुटवलको मुख्य सडकका ४ स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । चालू आर्थिक वर्षको बजेटबाट बुटवल उपमहानगरपालिकाले ट्राफिक लाइट जोडेको हो । ट्राफिक चोक र कालिकानगरमा ट्राफिक लाइट जडान गरिएको छ । उपमहानगरपालिकाका अनुसार सडक विस्तार सकिएपछि गोलपार्क र मिलनचोकमा ट्राफिक लाइट जडान गरिनेछ ।
ट्राफिक लाइट, लाइटसँगै सीसी क्यामेराको कन्ट्रोलका कारण बुटवलको सडकमा दुर्घटना न्यूनीकरणमा कमी आउन सक्ने दुर्घटना न्यूनीकरणको क्षेत्रमा काम गर्ने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलवासेले बताए ।
उपमहानगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९ सय २५ रूपैयाँको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टिपर्पोज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको थियो ।
बुटवल उपमहानगरपालिकाले बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४, ५, ६ र ९ को बसपार्क क्षेत्रमा १ सय २५ सीसीटीभी क्यामेरा जडान गरिसकेको छ ।
उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलका अनुसार दुर्घटना न्यूनीकरणसँगै अटो सेन्सरसहितको ट्राफिक लाइट जडान हुने भएका कारण यसले दुर्घटनापछि हुने सम्भावित भवितव्यलाई पनि न्यून गर्ने बताए ।
ट्राफिक लाइट जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने र सीसी क्यामेराको कन्ट्रोलका कारण दुर्घटना गराएर कोही पनि भाग्न नसक्ने अपेक्षा गरिएको छ । ट्राफिक लाइट जडान नहुँदा र सीसी क्यामेराको कन्ट्रोल नहुँदा दुर्घटना गराएर सवारी चालकसँग भाग्ने गर्दथे अब यो कार्यको पूर्णरूपमा अन्त्य हुने जानकार बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्