सिद्धार्थनगरमा मेयर आवास कार्यक्रमअनुसार घर बन्दै



बुटवल : मेयर आवास कार्यक्रमअन्तर्गत रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाले उक्त कार्यक्रमअन्तर्गत ७ परिवारका लागि घर निर्माण गर्दै छ ।
सात परिवारका लागि ठेक्का सम्झौताअनुसार घर निर्माणको कामले तीव्रता पाएको नगरपालिकाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिएका छन् ।
आवास कार्यक्रमका लागि लागि सिनापा १ को नौडीहवामा मुन सरिफ, रानीगाउँमा राम शेवक अहिर, वडा नं ४ को दोघारामा जगदीश पाण्डे, एयरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलियामा घनश्याम कहाँर र वडा नं ११ को भुजौलीमा अयोध्या भुइँहारका लागि घर बन्दै छ ।

आउने चैत मसान्तभित्र घरहरू सम्पन्न गरी घर धनीलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।
कुल ३७ लाख ६२ हजारको लागतमा केटीएस बिल्डर प्रालिले निर्माणको काम गरिहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुमसहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त घर बनाएर घरधनीलाई हस्तान्तरण गर्ने नगरपालिकाको तयारी छ ।
मेयर आवास कार्यक्रमअन्तर्गत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक वर्ष सूचना प्रकाशित गरी विपन्न व्यक्ति छनोट गर्ने गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार