शुभाकर विश्वकर्मा,कोहलपुर :
कोहलपुर नगरपालिकाले ‘समृद्ध कोहलपुर नगर’ विकासको प्रस्थान विन्दुको रुपमा आठ वटा मार्गनिर्देशक सिद्धान्तलाई प्राथमिकता दिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा कूल ८ वटा मार्गनिर्देशक सिद्धान्त उल्लेख गरिएको छ । सिद्धान्तको पहिलो नम्बरमै ‘गुणस्तरीय शिक्षामार्फत सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन’ गर्ने भनिएको छ ।
सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चितता, उत्पादनमा आधारित व्यावसायिक र आधुनिक कृषि प्रणाली अवलम्बन र दीगो, पर्यावरणमैत्री, योजनाबद्ध पूर्वाधार विकास रहेका छन् । यस्तै सामाजिक, न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण, विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, साझेदारी र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह तथा प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवस्थापन मार्गनिर्देशक सिद्धान्तका रुपमा रहेका छन् ।
यस्तै नगरपालिकाका १४ वटा क्षेत्रगत नीति रहेका छन् । आर्थिक विकास, कृषि, पशु सेवा, रोजगार प्रवद्र्धन, उद्योग र सहकारीपछि शिक्षा क्षेत्रको विकासलाई तोकिएको छ । क्षेत्रगत नीतिमध्ये एक शिक्षा शीर्षकमा ३३ वटा बुँदा समावेश छन् । नगरपालिकाले तय गरेका तीन नीति तथा कार्यक्रम व्यवहारिक भन्दा नारामुखी छन् । सुन्दर नारासहित नीति तथा कार्यक्रममा लिपिबद्ध गरिएका ती बुँदा कागजमा मात्रै सीमित छन् ।
तीनको कार्यान्वयनका लागि नगरपालिकाले बेवास्ता गरेको देखिन्छ । नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको प्रमुख जिम्मेवारी प्राप्त शिक्षा तथा खेलकुद विकासमा उल्लेख गरिएका नीति तथा कार्यक्रम कार्यान्वनमा असफल देखिएको छ । चालू आर्थिक वर्षको विगत ६ महिनामा ती नीति कार्यान्वयनमा शाखा चुकेको देखिएको हो ।
नीति तथा कार्यक्रममा हाइलाइट्सका रुपमा उल्लेख गरिएका कतिपय कार्यक्रमहरुले अहिलेसम्म कार्यान्वयननै नभएको पाइएको छ । नीतिमा ‘विद्यार्थी र अभिभावकसँग जनप्रतिनिधि’, ‘साथीबाट सिक्छु, साथीलाई सिकाउँछु’, ‘म कस्तो छु’, ‘मेरो विद्यालयलाई म स्मार्ट बनाउँछु’ जस्तो नारामुखी कार्यक्रम गर्ने भनिएको छ । तर ती कार्यक्रम अहिलेसम्म कागजमा मात्रै सीमित छन् ।
विद्यालय तहको शिक्षामा पहुँच, समता, गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्ने, विद्यालयको टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था र मौसम अनुकूलताका लागि आवश्यक व्यवस्थापन गरिने जस्ता महत्वाकांक्षी कार्यक्रमबारे त शाखानै बेखबर देखिन्छ । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि गर्ने भनिएको ‘विद्यार्थी तथा अभिभावकसँग जनप्रतिनिधि’ अहिलेसम्म एकपटकपनि नभएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल स्वीकार गर्छन् ।‘साथीबाट सिक्छु, साथीलाई सिकाउँछु’, ‘म कस्तो छु’, ‘मेरो विद्यालयलाई म स्मार्ट बनाउँछु’ जस्ता कार्यक्रम कार्यान्वयनको लागि कुनैपनि पहल नगरेको हमालको भनाइबाट पुष्टि हुन्छ । ‘आज त बिदा छ । म घरमै छु । सबै विषयमा हेरेर मात्रै भन्न सकिन्छ । सबै त थाहै छैन ।’ मिसन टुडेसँग कुराकानी गर्दै हमालले भने ।
विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको लागि ‘म जिम्मेवार पदाधिकारी’ कार्यक्रम गर्ने भनिएको छ । यसैगरी वडा शिक्षा समितिलाई थप जिम्मेवार बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा वडालाई अधिकार सम्पन्न बनाइने आशय व्यक्त गरिएको भएपनि वडाको समग्र विकासमा नगरपालिकाले अंकुश लगाएको वडा जनप्रतिनिधिहरु गुनासो गर्छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष बद्रीप्रसाद जैसीका अनुसार आर्थिक वर्षभरीका लागि योजना वडाले बनाउँछ । तर कार्यान्वयनका लागि नगरपालिका धाउनुपर्ने अवस्था रहेको उनले बताए । सिफारिसमा हस्ताक्षर गर्ने बाहेक अन्य सबै काममा नगरपालिकामै सीमित राखिएको उनले बताए । शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण विषयमा वडाले राम्रोसँग काम गर्न नपाएको उनले गुनासो गरे ।
विद्यालयको सुन्दरताका लागि एक विद्यालय एक बगैँचा कार्यक्रमलाई निरन्तरता र दिवा खाजा र छात्रवृतिको उचित व्यवस्थापनसहित निरन्तरता दिइने जनाइएको छ । नीति तथा कार्यक्रम कहिलेसम्म कार्यान्वयन हुन्छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘ती कार्यक्रम भएका छैनन । चौमासिक अनुसार हुन्छ । हामीले योजना बनाएरै काम गरिरहेका हुन्छौँ । आर्थिक वर्षको अन्यसम्म धेरै काम सकिन्छ ।’
कोहलपुर नगरपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा भने नीति तथा कार्यक्रम अनुसारनै कार्यक्रम सञ्चालन हुने बताउँछन् । उनका अनुसार नीति तथा कार्यक्रम अनुसार कोहलपुर नगरपालिकाले कार्यक्रम सञ्चालनलाई जोड दिएको छ । गत आर्थिक वर्षमा नीति तथा कार्यक्रममा उल्लेख भएका ८० प्रतिशत कार्यक्रम सम्पन्न भएको उनले दाबी गरे । यस वर्षपनि अहिलेसम्मको नतिजा अनुसार अधिकांश योजना कार्यान्वयन भएको संयोजक विश्वकर्माले बताए ।
खेलकुदका महत्वाकांक्षी योजना कार्यान्वयन कहिले ?
कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा शिक्षापछि खेलकुद विकासलाई प्राथमिकता दिएको छ । खेलकुद शीर्षकमा महत्वकांक्षी चार वटा योजना समावेश गरिएको छ । ‘राष्ट्रका लागि खेलकुद ः स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै कोहलपुर क्षेत्रभित्रका तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण गरिने उल्लेख गरिएको छ ।
कोहलपुर–२ स्थित उक्त मैदानमा विभिन्न विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन भइरहेका छन् । नगर खेलकुद विकास समितिका संयोजक चक्र क्षेत्री रंगशाला निर्माण गर्ने योजना रहेको भन्दै बजेटका लागि पहल भइरहेको बताउँछन् । समग्र खेलकुद विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरुको व्यवस्था गरी बिद्यालयहरुमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याइने जनाइएको छ । खेल प्रशिक्षक नियुक्त गर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फूटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेका छ । फागुन महिनामा गोल्डकप हुँदैछ । खेदकुदलाई प्राथमिकता साथ अगाडी बढाउन र खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने कार्यक्रम अनुसार नेपाली महिला राष्ट्रिय टिमकी सदस्य पूजा राना र नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्